बिहिवार ५ आषाढ, २०७६ (Thursday, 20th June 2019)
५ आषाढ, २०७६ (20 June 2019)

अझै टुंगिएन कर्मचारी आन्दोलन

राजधानी समाचारदाता
5 months ago
11/01/2019

 

 

 

वीरगन्ज   ।  वार्ता टोलीसँग भएको प्रारम्भिक सहमति पनि कार्यान्वयनमा नहुने भएपछि गत १९ पुसबाट सम्पूर्ण कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका वीरगन्ज महानगरपालिकाका कर्मचारीको आन्दोलन अझ बढ्ने भएको छ । नगर प्रमुख र प्रमुख कार्यकारी अधिकृतका विरुद्धमा मनोपोली ढंगले कार्यसम्पादन गरेको भन्दै सम्पूर्ण कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका महानगरपालिकाका कर्मचारीको आन्दोलन अझ बढ्ने भएको हो ।

मध्याह्नसम्म पर्ख र हेरको स्थितिमा रहेका कर्मचारीको माग वार्ता टोलीले ७२ घण्टाभित्र बोर्ड बैठकमा छलफल गरी निष्कर्षमा पु¥याउने भनी गत आइतबार भएको प्रारम्भिक सहमति पनि निष्कर्षमा नपुग्ने भएपछि कर्मचारी अझ आक्रोशित भएका छन् । नगर प्रमुख विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुसालका तर्फबाट गठित वार्ता टोलीले गएको आइतबार बोर्ड बैठकबाट कर्मचारीका माग सम्बोधन गर्न भनी ७२ घन्टे समय

लिएको थियो ।

बोर्ड बैठकमा कर्मचारीका मागबारे छलफल भए पनि निर्णय बंग्याएको भनी कर्मचारीले शुक्रबार थप आन्दोलनको घोषणा गर्ने नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका अध्यक्ष सोहन थापाले बताए । ऐन उलंघनदेखि बोर्ड बैठक र नगरसभाबाट पारित नगराइएको विषयमा नगर प्रमुख सरावगी र प्रमुख प्रशासकीय अधिकृत भुसाल कार्यसम्पादनमा पेलेर अघि बढेको आरोप कर्मचारीको छ । यो कुरामा वार्तामा पटकपटक सहमति गर्ने र फेरि कार्यसम्पादनमा फरक बाटो अंगीकार गरेकै कारण आन्दोलनको कडा रूप अघि बढाउन बाध्य भएको कर्मचारी दाबी छ । यो विषयमा गत २० भदौयता पाँचपटक ज्ञापनपत्र बुझाई आग्रह गरिएको कर्मचारीको भनाइ छ ।

कर्मचारीले गत १२ पुसमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएको ज्ञापनपत्रमा पनि महानगरको सीमित स्रोतसाधनबाट तलब, भत्ता, सुविधा बेहोर्नेगरी तलब सुविधा, सवारीसाधनसमेत दिई बाहिरबाट ल्याइएको कर्मचारीलाई अख्तियार प्रत्यायोजन गरी स्थानीय तहका कर्मचारीको मानमर्दन भएको, निरन्तर कर्मचारी भिœयाउनेक्रम नरोकिएको, स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा २ को विपरीत हुनेगरी प्रमुख प्रशासकीय अधिकृतबाट भएको अधिकार प्रत्यायोजन फिर्ता हुनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतबाहेक अन्य निजामती कर्मचारीलाई दिइएको गाडी, आवास आदि सुविधा फिर्ता हुनुपर्ने, २०७४ को ऐनको परिच्छेद ११ को प्रशासकीय संगठन र कर्मचारी व्यवस्था अन्तर्गतको दफा ८३ को उपदफा ४ को मर्मविपरीतका काम रोकिनुपर्ने भन्ने उल्लेख गरिएको छ ।

यस विषयमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशसकीय अधिकृत डा. भुसाल र महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले भने कर्मचारी समयोजनका कारण कर्मचारी अलि सशंकित रहेको जनाएका छन् । महानगरको कर्मचारी संगठनका विषयमा केन्द्रबाट विज्ञ टोली पूर्वसचिव मुकुन्द शर्मा नेतृत्वको टोलीले दिएको सुझावनुसार किनारा लगाउने लक्ष्य रहेको उनीहरूको भनाइ छ । कर्मचारीले भने महानगरको आन्तरिक कुरालाई पनि नगर प्रमुख सरावगी र प्रमुख प्रशासकीय अधिकृत भुसालले भने केन्द्रको कर्मचारी समायोजनतर्फ औंला तेस्र्याएर पन्छिएको दाबी गरेका छन् ।

 

 

 

 

(Visited 47 times, 1 visits today)
Loading comments...