मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

चिसो बढेसँगै उपल्लो मुस्ताङ सुनसान

सुन्दरकुमार थकाली
2 weeks ago
11/01/2019

 

मुस्ताङ । अक्सर हिउँदयाममा हिमाली जिल्ला मुस्ताङको जनजीवन कष्टकर हुने गर्छ । अत्यधिक चिसो, हिमपात हुने र हावाहुरी चल्ने आदि कारणले त्यहाँको बसाइ कष्टकर बन्ने गरेको हो । त्यहाँका स्थानीय चिसो छल्न मंसिरअगावै बेंसी झरिसके । गाउँमा बसेकाले पनि घर कुर्नेबाहेक अन्य गतिविधि गर्न सक्ने अवस्था छैन ।

यो समय जिल्लामा अत्यधिक चिसो हुने र खेतीपातीको काम सकिने तथा पर्यटन व्यवसायको पनि बेसिजन हो । मुक्तिनाथ र कागबेनीमा पूजा गर्ने पुजारीसमेत चिसोका कारण बस्न सकेका छैनन् । जिल्लामा यो समय कुनै काम नहुने भएकाले यहाँका बासिन्दा सदियौंदेखि चिसो छल्न बेंसी झर्ने गर्छन् ।

उत्तरी कोरला नाकासँग जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाका स्थानीय बासिन्दा जाडो छल्न पोखरा–काठमाडौंलगायत देशका विभिन्न स्थानमा पुग्ने गर्छन् । बेंसी झरेकाहरू इष्टमित्र भेटघाट र विभिन्न व्यापार व्यवसायमा संग्लन हुने गर्छन् ।

उपल्लो मुस्ताङका कतिपय भारतमा सुइटरको व्यापारमा गएका छन् । अहिले त्यहाँको जनजीवन शून्य छ भने जिल्लामा सरकारले कफ्र्यु लागाएजस्तो सडकमा मानिसको उपस्थिति नगण्य छ ।

लोमान्थाङ सीमा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नरेन्द्र पौडेलले चिसोका कारण उपल्लो मुस्ताङ मंसिरदेखि बस्तीविहीन भएको जानकारी दिए ।

केही सरकारी कार्यालय खुला भए पनि स्थानीयको उपस्थिति नभएपछि सेवा प्रवाह प्रभावित भएको उनले बताए । ‘केही कार्यालयका कर्मचारी सेवा प्रवाह गर्न ढोका कुरेर बसेका छन् । तर, जनता नहुँदा कुनै गतिविधि हुन सकेको छैन । यहाँको जनजीवन पनि कष्ठप्रद नै छ ।

चिसो माइनस १८ पुग्दा यहाँका नदीनाला जमेका छन्,’ पौडेलले भने । जोमसोम हुँदै जाने केन्द्रीय विद्युत् लाइन लोमान्थाङमा अझै विस्तार हुन सकेको छैन । जोमसोम हुँदै खाद्यान्न ढुवानी तथा आवतजावत सबै हिमपातकै कारण अवरुद्ध छ । गाउँमा भएका सीमित स्थानीयले पनि गुइँठा बालेर जाडोसँग संघर्ष गरेका छन् । बस्तीमाथिका डाँडाकाँडा सेताम्मे हिउँले छोपिएको छ । पर्यटकको आगमन शून्य बनेको हो ।

उपल्लो मुस्ताङ पुरै गुमनाम बने पनि मुस्ताङको तल्लो क्षेत्रका थासाङ, घरपझोङ र बारागुङ गाउँपालिकामा आधाजसो स्थानीय भने चिसो पचाएरै भए पनि गाउँमै बसेका छन् । खेतीपातीको काम सकिएकाले कतिपय किसान गाउँबाट बाहिरिएका हुन् ।

जिल्ला रित्तिए पनि सरकारी कार्यालयका कर्मचारी भने चिसो सहेर कार्यालय कुरेर बसिरहेका छन् ।तर, यहाँका पाँचवटै स्थानीय तहको कामकारबाही चिसो मौसमले अघि बढ्न सकेको छैन । सेवाग्राही नहुँदा कार्यालयका कर्मचारीलाई दिन काट्न मुस्किल परेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

विकासका काम ठप्प

 

मुस्ताङ÷रास– जिल्लामा पाँच स्थानीय तह छन् । तीमध्ये कोही स्थानीय तहका कर्मचारी जोमसोममा बसेका छन् । कोही कार्यालयको कामले जिल्ला बाहिरिएका छन् । केही गाउँपालिकाले भने अध्ययन भ्रमणका नाममा स्थानीय तहको बजेट स्वाहा पारिरहेका छन् । चिसोले यहाँका पुरै विकासे गतिविधि ठप्प भएको छ ।

मुस्ताङमा यतिबेला चिसो मौसमका कारण कुनै पनि निकायले गर्ने पूर्वाधार विकासका कार्य सञ्चालन गर्न सक्ने अवस्था पनि छैन । लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील अर्यालले स्थानीय तहले विनियोजन गरेका विकासे योजना फागुनसम्मका लागि स्थगित भएको जानकारी दिए । उनले सम्झौता अवधिसम्मका साना योजना हिउँदअगावै सम्पन्न भएको र अन्य आयोजना उपभोक्ता समिति जिल्ला बाहिरिएको र चिसो मौसममा काम गर्न अप्ठ्यारो परेको उल्लेख गरे । उपल्लो मुस्ताङअन्तर्गतकै अर्को गाउँपालिका लोघेकर दामोदरकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले गाउँपालिकाको विकासे गतिविधि चिसो मौसम र स्थानीय नभएकाले ठप्प भएको जानकारी दिए ।

उनले फागुन लागेपछि विकास निर्माणका काम सुरु हुने जनाए । चालू आर्थिक वर्ष ०७५÷७६ का लागि सानाठूला ५० वटाभन्दा बढी योजना रहेको सुनाए । वडा कार्यालय भवनदेखि सामुदायिक भवन र पार्क आदि आयोजनाको बजेट मात्र विनियोजन भएको तर स्थानीय नहुँदा र चिसोले काम अघि नबढेको सुनाए ।

चीनको तिब्बती भूमि उत्तरी कोरला नाका जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरको बेनी, जोमसोम र जोमसोम कोरला सडक आयोजना दुई वर्षअघि सुरु भएको हो । तर, बर्षायाममा निरन्तर काम सञ्चालन भए पनि हिउँदयाममा भने चिसो मौसमका कारण सडक विस्तार गर्ने कार्यमा बाधा पुगेको छ । कोरिडोर सडकका आयोजना प्रमुख मुकुन्दराज अधिकारीले जोमसोम–कोरला सडकमा काम गर्ने मजदुर चिसोकै कारण घर फर्किएकाले काम अघि बढ्न नसकेको बताए ।

उनका अनुसार छोसेरदेखि कोरलासम्मको सडक कोरिडोरलाई हस्तान्तरण भइसकेको छ । काम गर्ने मजदुर नभए पनि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको भियनादेखि झैतेसम्मको सडकबीचमा पर्ने स्याङ्बोचमा ६ वटा मेसिनले काम गरेको आयोजना प्रमुख अधिकारी बताए । त्यहाँ माटो र चट्टानको कटिङ तथा सडकको ग्रेड मिलाउने कार्य भइरहेको उनले जनाए । गर्मी सिजनमा जोमसोम कोरला सडकमा करिब २ हजार मजदुरले सडकको काम गर्दै आइरहेका छन् ।

तर, म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र घासाको बजार र बजारदेखि तल पर्ने खहरे खोलामा भने करिब डेढ सय मजदुरले वाल तथा नाली बनाउने काम गरिरहेको आयोजना प्रमुख अधिकारीले बताए । त्यस्तै, थासाङ गाउँपालिकाको बोक्सी खोलादेखि लार्जुङसम्मको साँघुरो सडकमा भिर कटिङका लागि करिब सातवटा मेसिनले काम गरिरहेको छ ।

(Visited 30 times, 1 visits today)