शनिवार ९ चैत्र, २०७५ (Saturday, 23rd March 2019)
९ चैत्र, २०७५ (23 March 2019)

विकास भित्रको मनोविज्ञान

निरज बराल
2 months ago
10/01/2019

 

निरज बराल

विकासको बहस यत्रतत्र सर्वत्र छाउँदा हामीहरु धेरैको व्यग्रता चुलिँदो छ । मथिङ्गल रिङ्ग्याइरहेको छ । भन्नैपर्दा, यो एक अन्तरविधायुक्त अवधारणा सहितको गतिशील एवम् सतत् प्रक्रिया हो । एउटाले पस्किने र अर्कोले ग्वाम्म हातेमालो गर्दै गरिने कार्य भनेर बुझ्दा यसले आवश्यक गति पाउँछ । खसोखास कुरो, सरोकारवालाको प्रमुख हर्ताकर्ता सरकार नै हो, जसले सही सहजीकरणको भूमिका निर्वाह नगरी मुलुकले काँचुली फेर्न गाह्रो छ । विकास गर्नको लागि सरोकारवालाको सामाजिक मनोविज्ञान जति मिहिन ढंगले बुझियो त्यति नै यसले फड्को हान्छ । देशले राजनीतिक रुपमा नयाँ व्यवस्था पायो, अधिकारहरु संविधानमा मजैले लिखिए तर धर्म र संस्कृतिको नाममा सदियौंदेखिको कुसंस्कारहरू मन÷मस्तिष्कमा गोमन सर्पले फणाँ फिजाएकै हालतमा छन् । जसको चिरफार नगरी विकास, आकाशको फल आँखा तरी मर नै बन्ने गरेको छ ।

जति नै फलाके पनि, नेपाली समाज सामन्ती र धर्मभीरु जड परिवेशबाट भर्खर÷भर्खर मुन्टो उठाउँदै घाम खोज्दैछ । ‘आँ’ गर्दा अलंकार भनेझैं, जनजागरण र सरोकारको कार्यक्रममा भन्दा धार्मिक अनुष्ठानमा सहभागी हुनेहरूको संख्या असंख्य देखिन्छ । सोही परी टोलटोलमा खुलेका ज्योतिष केन्द्रहरुमा पढेलेखेका आधुनिक युवा÷युवतीहरु समेत झुण्ड÷झुण्डमा हस्तरेखा देखाएर आफ्नो भविष्य खोजिरहेका देखिन्छन् । मेहनतले कर्म सिँगार्नु पर्ने बेलामा धुइधुइती भाग्यको खोजबिन गरेको देख्दा, देशविदेशका अनुसन्धान केन्द्रहरूमा चाहिँ के आविष्कार हुँदा रैछन ? र क–कसले काम गर्दा रहेछन ? सायद अब कोही अनभिज्ञ छैनन् होला ।

सदियौंदेखि कायम पितृसत्तात्मक समाजभित्र हुर्किएको र उखेल्न नसकिएको पुरुषको हैकम यद्यपि विद्यमान छ । पारिवारिक विघटन वा समाजको लाज, गाल र खिसीटिउरीको डरले हुनसक्छ । बाहिर केही नबोले तापनि परिवारभित्र नजिकिएर कुराहरु गर्दा थाह हुन्छ घरकै पुरुषहरुद्वारा महिलाहरु थिचिएका छन् । भावनाहरु निमोठिएका छन् । अधिकारहरु खोसिएका छन् । ऐनकानुनमा जे जस्तो लेखिए तापनि व्यावहारिकरुपमा बीसबाट उन्नाइस आएको अवस्था छ भन्न गाह्रो छ । कानूनी जटिलता प्रतिको अनभिज्ञता र त्यसभित्रको मुद्दामामिलाको आर्थिक व्यय भार खप्ने सामथ्र्य नभएर हुनसक्छ, महिलाका आवाजहरू घरभित्रै दमित छन्् र हत्तपत्त सतहमा देखिँदैनन् । सहर बजारतिरको अवस्था केही सकरात्मक देखिए पनि गाउँघर र दूरदराज तिरको परिस्थिति टसको मस छैन, ज्यूँका त्यूँ छ । जबसम्म महिलाको शिक्षा वा हातमा सीप हुँदैन, रोजगारीका लागि पर्याप्त अवसरहरु हुँदैनन्, तबसम्म गतिलो आम्दानी गरेर महिलाले परिवारको टेको लाउन नसक्दासम्म यो अवस्था कायमै रहने देखिन्छ । आम्दानीले योगदान नदिँदा सम्म परिस्थिति सुध्रिन्छ जस्तो लाग्दैन । अबको आधुनिक समाजमा द्वय (श्रीमान्÷श्रीमती) को आम्दानी नभए परिवारको भविष्य उज्वल बनाउन गाह्रो पनि छ ।
कुसंस्कार कै कुरा गर्ने हो भने, अरु त परै जाओस् , शिक्षित परिवारभित्रै अझैपनि रजस्वला भएकी छोरी÷बुहारीलाई छोइछिटो गरिन्छ । त्यो पाँच दिन घरभित्रै अपराधीसरह व्यवहार गरिन्छ । हाल, सामाजिक तथा मानसिकरुपमा अत्यन्त घृणित र विकृत प्रथा “छाउपडी र छाउगोठ’’ भनिसक्दा र भत्काउँदा पनि विद्यमान हुनुलाई धार्मिक एवम् सांस्कृतिक जडताकै टोकरीमा हाल्नुपर्ने हुन्छ ।

हाम्रोजस्तो विकासोन्मुख कृषिप्रधान देशमा, विकासको सिधा र नजिक सम्बन्ध जमिनसंग छ । जसको नाममा जमिन छ, उसलाई खेतीपाती गर्न जाँगर छैन । बीऊबीजन, मल, खनजोत, गोडमेल, कटनी÷मटनी आदिको लागत पनि नउठ्ने परिस्थिति छ । किनकि, बाटोघाटो तथा यातायातको कारणले बजारसम्म सहज पहुँच नहुनाले उत्पादित वस्तुहरु बीचैमा बिचौलियालाई परल मोलमै वा हुनसक्छ घाटा खाएरै बेच्नुपर्ने हुनाले यस पेशाबाट बहुसंख्यक बिरक्तिएका छन् । विस्थापित हुँदै गएका छन् । साथै, बिचौलिया बीचको कार्टेलिङ र सिन्डिकेटको मारमा कृषक र कृषिमा आश्रित श्रमिक परे पनि राज्यले अनदेखा गरिरहेको छ । जसको आवाज निरन्तर उठिरहेकै छ। यसको बेवास्ताले अधिकांश युवाहरु आफ्नो पारिवारिक गर्जो टार्न पनि वैदेशिक रोजगारीको कठिन श्रममा जान विवश छन् । जसको आर्थिक फाइदा त भएकै छ नै, तर सामाजिक विसंगतिहरूको विकराल चाङ छ । यसको लेखाजोखाले बताउँछ सामाजिक मूल्य÷मान्यता भष्मीकृत भएको छ, जसको पुरताल असंभवप्रायः छ ।
कृषि श्रमिकहरु, जोसँग श्रम गर्ने जोश त छ, तर जमिनमा आफ्नो कुनै हक नहुँदा हरतरहले बञ्चित छन्, त्यहाँ जतिसुकै उफ्रे पनि ‘माछामाछा भ्यागुतो’ नै हो किनकि अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने राज्य नीतिगत अभावले आफै शिथिल छ । जसले गर्दा कृषियोग्य जमीनहरू बाँझो हुँदै गएका छन् । फलस्वरूप कृषिप्रधान देश कृषिजन्य वस्तुमै परावलम्बी हुन गएको छ ।

ठूल्ठूला चक्लाबन्दी जग्गाहरु खण्डीकृत हुँदै घरघडेरीमा बिक्री बट्टा हुन थालेका छन् । सो क्रम अझै रोकिएको छैन । सहज रुपमा गतिलो मोल पाएपछि माटोमा खेल्ने मेहनती हातहरु अल्छे, लोसे र विलासी जीवनतिर अग्रसर छन् । कृषि झर्कोलाग्दो र झन्झटिलो पेशा प्रतित हुन थालेको छ । परिणामतः राज्यले व्यापार घाटाबाट सोको मूल्य चुकाउँदै आएको छ ।
यता, शासकहरु आफूचाहिँ मालिक र जनता रैती हुन् भन्ने मनोविज्ञानबाट अझै ग्रसित छन् । नेताहरूको कथनी र करनीमा साफ अन्तर छ । यी विकासे कुरा गरेर जनता झुक्याउने नव सामाजिक बकबके त होइनन् ? भन्ने लाग्न थालेको छ । भोगविलास, भोजभतेर, सेवा सुविधा, तामझामयुक्त जीवनशैलीमा मात्र ध्यान केन्द्रित भएपछि यो भन्न करै लाग्न थालेको छ । जनताले दिनरात घुँडा धसेर, पसिना काढेर काम गर्नुपर्ने, उनीहरु चाहिँ हुने÷नहुने गफ ठोक्दै र आदेश दिँदै हिँड्ने परिपाटीको अन्त्य हुन जरुरी छ । नत्र भए विकास नेताले आकाशबाट फुत्त झारेर जनताको घरघरमा पुरÞ्याइदिने चिजबस्तु जस्तो लाग्न सक्छ । जसको गलत बुझाइ या भ्रमले अविश्वास, असन्तुष्टि हुँदै आन्दोलनको उभारतर्फ उन्मुख नगर्ला भन्न सकिन्न । हालकै ढंग र गतिले दिनहरू बित्दै गएमा राष्ट्रको उर्वर समय त फगत खेर जान्छ नै, आँगनकै डिलछेउ आइपुगेको उच्चाटलाग्दो परिस्थिति सोँच्दा पनि भाउन्न हुन्छ ।

आम जनमानसमा अहिले पनि कानून, “ठूलालाई चैन, सानालाई ऐन’’ भन्ने नै छ । हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, दुराचार आदिमा शंकाकै भरमा तल्लो तहको (पहुँच र पैसाको आधारमा) व्यक्ति र आरोपी र अभियुक्त तुरुन्त पक्राउ पर्छ जबकि उपल्लो तहको रहेछ भने एक त पक्राउ नै पर्दैन, परिहाले पनि तुरुन्तै छुट्छ् । त्यहाँ, पैसा र शक्तिको राम्रै खेलोफड्को चलेको देख्न र सुन्न पाइन्छ । अनि कसरी हुन्छ समाजमा अमन चयन स्थापित र कानुनको विश्वास? राष्ट्रमा भोक, रोग, शोक, घटना÷दुर्घटना, आन्दोलन, आदिमा आम जनता सधैं बलिको बोको हुने र भुसुना मरे झैंकै हालतमा छन् । नेता हुन् या कर्मचारी परिस्थितिको जिम्मेवारी लिन आनाकानी गर्ने, पन्सिने र पन्छाउने मनोवृत्ति छ । खबरदारी र कारवाही गर्ने निकाय हात्तीका देखाउने दाँत जस्ता छन् ।
विकास मानसिकरुपमा उत्प्रेरित नभई र नगराई, गर्ने÷गराउने कुरा असम्भव प्रायः छ । हतास, निराश र आक्रोशित मनोदशाले यसलाई डोरÞ्याउन सकिँदैन । असन्तुष्टि र अशान्तिको पहाडमुनि थिचिएर पनि हुन्न । जनजनको मनलाई झन्कृत पार्दै, थप÷थपाउँदै, होस्टेमा हैंसे गर्दै, दुखः सुखमा संलग्न हुँदै, हरेक नागरिकको मानवीय मूल्यलाई आत्मसात् गर्दै र महत्व दिँदै गएमा मात्र आमजनलाई स्वतस्फुर्तरुपमा विकासको पथमा सहभागी हुने वातावरण तयार गर्छ । यसले गाली÷गलौज, आरोप÷प्रत्यारोप निरस्त भई, स्वस्थ्य एवम् रचनात्मक आलोचनाको मार्ग प्रशस्त गर्दछ । अनि मात्रै विकासको पहलकदमीले ठोस आकार लिन्छ ।

विकासको गन्तव्य पहिल्याउन तथा लक्ष्य प्राप्तितर्फ अग्रसरताको गति सर्पको घिस्राइ नभई भ्यागुतोको उफ्राइ चाहिएको परिपेक्ष्यमा समाजका हरेक तह र तप्का सक्रिय ढंगले कार्ययोजनासहित क्रियाशील नभए प्रतिफल हात लाग्यो शुन्य हुनेछ । उल्टै लुलो हाँसको चाल साबित हुनेछ । अन्ततः जनता विकासको खातिर आकुल व्याकुलै रहिरहने छन् भने, यो सरकार पूर्णतः असफलताको दलदलमा उठ्नै नसक्नेगरी जाकिनेछ । अरु भन्दा कुनै मानेमा फरक नभई सदा‌झैं यो सरकार पनि जनताको नजरमा अर्को एउटा तिहुन चखुवामा दर्ज हुन सक्छ । समयको बलवान गतिलाई चिन्तन मनन गर्दै, दुईतिहाइ बहुमतको जनमतलाई कदर गर्दै, सरोकारवालालाई समेट्दै, सरकार विवेकी र होसियार कदमका साथ विकास र समृद्धि खातिर गम्भीर हुने हो कि? होइन भने आगे जनताको मर्जी ।

 

(Visited 26 times, 1 visits today)
Loading comments...