मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

जब अजिंगरको शरीरमा सयौं किर्ना टाँसिएर रगत चुस्न थाले…

एजेन्सी
2 months ago
11/01/2019

एजेन्सी । अस्ट्रेलियामा सपेराहरूले सयौं किर्नाले ढाकिएको एउटा अजिंगरको उद्धार गरेका छन् । किर्नाको निरन्तरको चुसाईबाट बिरामी परेको अवस्थामा भेटिएको सो अजिंगर क्वीन्सल्यान्डको गोल्ड कोस्टमा एउटा घरपछाडि रहेको पौडी पोखरीमा भेटिएको थियो ।

एक व्यावसायिक सपेराले त्यो बिरामी अजिंगरलाई पोखरीबाट निकालेर उपचारका लागि जंगली जनावरको उपचार हुने क्लिनिकमा पुर्याएका थिए ।

पशुचिकित्सकहरूले ५ सय वटा किर्ना झिकेपछि अब अजिङ्गर निको हुने आशा गरिएको सपेरा टोनी ह्यारिसनले बताएका छन् ।

गोल्ड कोस्ट र ब्रिस्बेनमा सपेराको काम गर्ने ह्यारिसनले नाइक नाम दिइएको त्यो अजिंगर पानीमा डुबाएर किर्नालाई मार्ने प्रयासमा पोखरीमा पसेको हुन सक्ने बताए ।
उनले भने, ‘त्यो सर्प निक्कै असहज परिस्थितिमा थियो । उसको मुख फुलेको थियो र किर्नाले उसको शरीरमा राज्य गरेका थिए ।’

ह्यारिसनका अनुसार त्यो सर्प पोखरीबाट झिक्दा ‘सरिरहेको गुच्चाको झोला हातमा बोकेको’ अनुभव भएको थियो ।

क्वीन्सल्यान्ड विश्वविद्यालयका सहप्राध्यापक ब्रायन फ्राईका अनुसार जंगली वासस्थानमा सर्पहरूमा थोरै किर्ना वा परजीवी पर्नु स्वाभाविक हो ।

तर त्यति धेरै किर्ना पर्नु चाहिँ सो अजिङ्गरलाई तापको राप वा सुक्खापनको कारण लागेको अरू कुनै रोगको लक्षण हुनसक्ने फ्राईले बताए ।
फ्राईले भने, ‘स्पष्ट रूपमा त्यो गम्भीर बिरामी परेर रोगप्रतिरोधी क्षमता गुमाएको प्राणी थियो । उद्धार गरेर उपचार नगरेको भए त्यो अजिंगर बाँच्थ्यो जस्तो मलाई लाग्दैन ।’

ह्यारिसनले सो अजिंगरलाई संक्रमण भएको र अब निको हुन थालेको जानकारी स्थानीय सपेराहरूको फेसबुक पानामा प्रेषित भिडिओमार्फत् दिएका छन् । उनले भनेका छन्, ‘नाइक आज अलि फुर्तिलो छ । तर ऊ क्लिनिकमा निको नभएसम्म लामो समय बस्ने बिरामी हो ।’

(Visited 801 times, 1 visits today)
Loading comments...