बिहिवार ५ आषाढ, २०७६ (Thursday, 20th June 2019)
५ आषाढ, २०७६ (20 June 2019)

फुट्यो साझा विवेकशील, विवेकशील नेपाली दल नयाँ पार्टी

सविन शर्मा
5 months ago
12/01/2019

काठमाडौं । साझा विवेकशील पार्टीका एक संयोजक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना रहेको पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।
विवेकशील नेपाली र साझा पार्टी ११ साउन २०७४ मा एकीकरण भई संगठन विस्तार नै नगरी विभाजन भएको छ । नयाँ वैकल्पिक शक्तिका रूपमा उदाएको विवेकशील साझा पार्टीमा कार्यशैलीका कारण देखाई पूर्वविवेकशील पक्षका १६ केन्द्रीय सदस्यले आफ्नो पुरानै बाटो तय गरेका छन् । प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् ।

पार्टी संयोजकमध्येका एक रवीन्द्र मिश्रले मनोमानी ढंगले पार्टी सञ्चालन गरेकाले विभाजन भएको संयुक्त पार्टीमा प्रवक्ता रहेका रमेश पौड्यालले जानकारी गराए । ‘रवीन्द्रजीले एकलौटी तरिकाले पार्टी सञ्चालन गर्नुभयो,’ प्रदेश ३ का प्रदेशसभा सदस्यसमेत रहेका उनले भने, ‘केन्द्रीय समितिको बैठक बोलाउँदा अर्का संयोजकको सल्लाह पनि लिनुभएन ।’ शुक्रबार विवेकशील साझाका बहुमत केन्द्रीय सदस्यले निर्वाचन आयोगमा पुरानै विवेकशील नेपाली दल पुनःगठन गरेका हुन् ।
पुनःगठित दलमा एक संयोजक उज्वल थापासहित केन्द्रीय सदस्यहरु रन्जु दर्शना (न्यौपाने), साधना राई, सुबुना बस्नेत, अजिता राई, अनुसा थापा, मिलन पाण्डे, जीवन श्रेष्ठ, गोविन्द नारायण तिमिल्सिना, रमेश पौड्याल, शशीविक्रम कार्की, ज्ञानेन्द्र निरौला, पुकार बम, विराजभक्त श्रेष्ठ, आशुतोष तिवारी र अर्जुनसिंह ठकुरी छन् । आन्तरिक एकता धोद्रो हुँदै गएको पार्टीमा किचलो भने गत साउनदेखि नै सुरु भएको थियो । साउनमा प्रदेश ३ का संयोजक चयन गर्ने क्रममा पार्टीभित्र तनाव उत्पन्न भएको थियो ।

लोकतान्त्रिक प्रक्रियाबाट संयोजक चयन नभएको भन्दै सो समयमा पार्टीभित्रैका केही युवाहरु नाराबाजीमा समेत उत्रिएका थिए । संयोजक मिश्रको बलमै प्रदेश ३ को संयोजकमा समीक्षा बाँस्कोटालाई चयन गरिएको थियो । यसबाहेक गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मिश्र पक्षधर नेता नै संयोजकमा चयन भएका छन् । प्रदेश १ र २ मा भने हालसम्म पनि संयोजकमा निर्णय हुन सकेको छैन । गत १६ पुसमा पार्टीका संयोजकमध्येका एक उज्वल थापाले १८ पृष्ठ लामो समीक्षा प्रतिवेदन केन्द्रीय सदस्यहरूलाई वितरण गरेका थिए । प्रतिवेदनमा थापाले चुनावपछि पार्टी गलत बाटोमा गएको उल्लेख गरेका छन् ।

प्रतिवेदनमा उनले पार्टीले सदस्यता बढाउन नसकेको, केन्द्रीय सदस्यहरुले पार्टी छोडेको, नेतृत्वले जिम्मेवारी दिन अनुदार बनेको उल्लेख गरेका थिए । साथै पार्टी बनाउनमा कम चासो देखाइएको, नेतृत्व गर्ने ढंग पनि प्रर्याप्त नभएको, चरम शक्ति केन्द्रीकरण गरिएको पनि प्रतिवेदनमा उल्लेख गरेका थिए । प्रतिवेदनमा संयोजक थापाले अर्का संयोजक मिश्रप्रति चर्को आलोचना गरेका छन् । पार्टी एकीकरण घोषणा क्रममा ३७ केन्द्रीय सदस्य रहेकामा हालसम्म नबढेकोप्रति उनले चिन्ता व्यक्त गरेका थिए ।

थापाको समीक्षा प्रतिवेदन आएसँगै अर्का संयोजक मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि थापा समूह अलग्गिने निर्णयमा पुगेका हुन् । विवेकशील साझाका नेता मुमाराम खनालले थापाले उठाएका एजेन्डाबारे आगामी आइतबार छलफल गर्न केन्द्रीय समितिको बैठक डाकिएको बताए । उनले भने, ‘आइतबारका लागि बोलाइएको बैठकअघि नै हठात पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गएपछि छलफल हुने सम्भावना अब रहेन ।’
आइतबार वाइडबडी विमान खरिदमा भ्रष्टाचारको विषयमा अनुसन्धान गर्न माग गर्दै अख्तियारमा उजुरी दिँदा तथा बुधबार प्रधानमन्त्रीको सचिवालयमा डा. गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयन गर्न बुझाइएको ज्ञापनपत्रमा पनि पूर्वविवेकशील पक्षधरको मात्रै हस्ताक्षर थियो । सो ज्ञापनपत्रमा पार्टी संयोजक मिश्रले हस्ताक्षर गरेका थिएनन् न त उनी ज्ञापनपत्र बुझाउँदा उपस्थित नै थिए ।

उता निर्वाचन आयोगमा नयाँ दल गठनका लागि निवेदन दिएपश्चात् केन्द्रीय सदस्य रन्जु दर्शनाले यही ढंगले पार्टी अघि बढ्दा राजनीतिमा ताजा विकल्प खोजिरहेका युवा पुस्ता एवं जागरुक नागरिकको आशामा तुषारापात हुने निश्चित भएकाले विवेकशील साझाबाट अलग्गिएको प्रस्ट पारिन् । ‘मूल्य मान्यतामा आधारित राजनीति र पार्टी मात्र नभएर परिपाटी विकास गर्ने अभियानमा यो यात्राले नतिजा दिन नसक्ने स्थिति सामुन्ने आयो,’ उनले भनिन्, ‘अतः अहिलेकै ढंगले अघि बढ्दा निर्णय प्रक्रिया अपारदर्शी हुने, पार्टीमा सहभागितामूलक अभ्यास कमजोर हुने र सानो कोटरीले निर्णय गर्ने प्रवृत्तिले प्रश्रय पाउने भयो ।’

नेतृ दर्शनाले पछिल्लो समय पार्टीले अँगालेको रणनीतिले आफूहरुमा निराशा छाएको बताएकी छन् । नेतृत्वले विधानविपरीत काम गरिरहने, कोटको खल्तीबाट नामहरु ल्याएर केन्द्रीय सदस्य भर्ती गर्न खोज्ने, अपारदर्शी एवं अलोकतान्त्रिक तरिकाले विभागहरु विघटन गर्ने, परम्परागत राजनीतिक दलहरुकै अनुसरण गर्दै विभिन्न भ्रातृ संगठन गठन गर्नेतर्फ अघि बढ्नेजस्ता क्रियाकलापले समयकालमा ह्रास हुँदै गएकाले युवा पुस्तामा निराशा जागेको बताइन् ।
मूल्य मान्यतामा अडिग रही जनअपेक्षाको सम्बोधन गर्ने सवालमा इच्छुक सबै पक्षसँग संवाद एवं सहकार्य गर्न सधैं तयार रहेको नेतृ दर्शनाले बताइन् । पार्टीले आशातीत गति नलिएपछि यसअघि डा. सरोज धिताल, अधिवक्ता ओमप्रकाश अर्याललगायतले पार्टी छोडिसकेका थिए । पार्टी व्यक्ति केन्द्रित भएको भन्दै पूर्वविवेकशील पक्षका नेताहरुले मिश्रको कार्यशैलीप्रति आलोचना गर्दै आएका थिए । विवेकशील साझा पार्टीमा केही सातायता खटपट देखिएको थियो ।

(Visited 120 times, 1 visits today)
Loading comments...