शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

वेवास्ताको शिकार बन्दै, मुलुककै पुरानो लमजुङ दरबार

जनक श्रेष्ठ
6 months ago
12/01/2019

जनक श्रेष्ठ

सोह्रौं शताव्दीमा निर्माण भएको भनेर दावी गरिँदै आएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । शाहीकाल, मल्लकाल जस्ता राज्य व्यवस्थामा त्यसपछि धेरै दरबारहरु जन्मिए । बाईसे चौविसे राज्य कालखण्डमा गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार हुँदै नारायणहिटी राजदरबार सम्मका नयाँ–नयाँ दरबारहरु जन्मिए । नेपाल राज्यको विस्तार हुँदै जाने क्रमसँगै विभिन्न नयाँ दरबारहरु निर्माण हुँदै जाँदा नदीमा खियाईएको डुंगा जस्तै, हिड्दै छ पाईला मेट्दै छ भने झैं हुन पुगे पुराना दरबारहरु । नयाँ दरबार निर्माण हुँदै जाँदा विगतमा बनेका पुरानो दरबारको महत्व भने घट्दै गयो । पुराना दरवार लगायतका संरचनाहरुको वेवस्ता गर्दै जाने अवस्थाको शिकार भईरहेको छ मुलुककै पुरानो मानिएको बेंसीसहर नगरपालिका ३ गाउँशहरमा रहेको लमजुङ दरबार ।

यो दरबार समुद्री सतहदेखि १ हजार ४ सय ४५ मिटर उचाईमा रहेको छ । नेपालकै पहिलो इतिहास बोकेको लमजुङ दरबार भएपनि ओझेलमै परिरहेको छ । नेपालमा संघीय गणतन्त्र स्थापना भईसकेको भएपनि ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्वका दरबारहरुको उत्तिकै महत्व छ । शाहबंशीय राज्यकालको उद्गमथलो हो लमजुङ । र त्यसैको विरासत हो लमजु दरबार । कास्कीकोटका राजा कुलमण्डलका माईला छोरा कालु शाहलाई लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे, लक्ष्मण दुराले लमजुङ ल्याएर राजा बनाए । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालिन घलेराजाका सेनााहरुले कालु शाहको हत्या गरिदिएको ऐतिहासिक कथन छ । सो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा जशमु शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाए ।

उनलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगादी गराएको ऐतिहासिक शिलालेखमा उल्लेख छ । त्यसपछि विभिन्न नामका राजाहरुले यो दरबार बाटै लमजुङको बागडोर सम्हाले । धेरैपछि यशोबह्मा शाह राजा भए । उनको मृत्युपछि उनका जेठा छोरा नरहरी शाह राजा भए । उनीपछि विभिन्न शाहहरु राजा भई लमजुङको अन्तिम राजा विर शाह रहेको थियो । १८३८ विक्रम सम्बत् सम्म शाहवंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हहालेको स्थानीयहरु बताउँछन् । शाहवंश राजा आएपछि समेत धेरै समयसम्म घलेराजा रहेको जानकारहरुको भनाई छ । त्यतिबेलाको पश्चिम नेपालको लमजुङ–कास्की क्षेत्रमा फैलिदै गएका हिन्दु धर्मावलम्वी खसआर्य समुदाय र लमजुङका खजेदुरा लगायतका दुराहरुको पहलमै लमजुङमा घलेराजाको सट्टामा ल्याएर राजा बनाएको गाउँसहरका एक जानकार स्थानीय देवबहादुर गुरुङ बताउँछन् । शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाएका थिए ।

 

 

नेपालको इतिहासमा लमजुङ दरबारको महत्व

नरहरी राजा भएका बेला यशोबह्माको छोराहरु झगडा गरेपछि कान्छा छोरा द्रब्यशाह राईनासकोटको गोठमा बस्थे । उनी लमजुङ दरबारमै हुकिएपछि सो गोठमा बसेका हुन् । पछि उनी १६१६ साल तिर गोरखाको लिगलिगकोटको दौडमा जितेपछि लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरी त्यही राजा भएर बसे । द्रब्यशाहको ११ औं पुस्ता पृथ्वीनारायण शाह हुन् । पृथ्वी नाराण शाहले बाईसे चौबिसे राज्यलाई एकीकरण गरी अखण्ड नेपाल बिस्तारको अभियान थाले । विभिन्न राज्यहरु कब्जा गरेपनि लमजुङ भने स्वतन्त्र रहेको थियो । विक्रम सम्बत् १८३९ मा पृथ्वी नारायण शाहको बुहारी राजेन्द्र लक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको जानकारहरुको भनाई छ । सो बेला गोरखा र लमजुङको तार्कृघाट लडाई हुँदा लमजुङ हारेपछि नेपाल राज्यमा गाभिएको थियो । यतिबेला नेपालको इतिहास हेर्दा शाह राजाको अन्तिम राजाको रुपमा ज्ञानेन्द्र शाह छन् ।

 

लमजुङको बेंसीसहर नरपालिका ३ गाउँशहर स्थित नेपालकै इतिहास बोकेको शाहवंशीय राजाहरुको लमजुङ दरबार,  राजा यशोबह्मा शाहको सालिक र लमजुङ दरबार ।  तस्बिर :  जनक श्रेष्ठ 

तत्कालिन राज्यकालका थुप्रै ऐतिहासिक उतारचावढको साक्षीका रुपमा रहेको लमजुङ दरबार दिनानुदिन जिर्ण बन्दै गईरहेको छ । पानी पर्दा दरबारको छानाबाट पानी भित्रै चुहिने गरेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लोकराज अधिकारी बताउँछन् । ०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पले पनि दरबारको पुतली गारो लगायतका अन्य भागमा क्षति पुगेको उनको भनाई छ । विभिन्न समयका सरकार र राज्यका सम्बन्धित निकायले दरबारको उचित मर्मतसम्हार, संरक्षण, सम्र्बद्वन र प्रबद्र्वन गर्न नसकेको स्थानीयबासी एवं बेसीसहर नगरपालिका ३ का वडाध्यक्ष सुर्यकुमार श्रेष्ठको भनाई छ । राज्यको वेवास्तामा परेकाले र आवश्यक प्रचारप्रसार नहुँदा सो दरबारको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व समेत नामेट हुने अवस्थामा पुगेको उनको गुनासो छ । उनले भने, राज्य र सम्बन्धित निकायले नेपालको एतिहासिक धरहोर हो भनेर बुझ्नु जरुरी रहेको छ । दरबारको भग्नावसेस विस्तारै सबै जिर्ण भई दरबार नरहेमा भावी पुस्ताले समेत थाहा नपाउँने र इतिहास नै गुम्ने खतरा बढेको छ । उनले भने, सो कुरा बुझी सरकार अघि बढेमा पर्यटकीय गन्तब्य समेत बन्ने देखिन्छ ।

केही महिना अघि गाउँसहर क्षेत्रको ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय महत्वलाई प्रर्वद्धन गराउन स्थानीय सरोकारवालाहरुको चाहना अनुरुप लमजुङ दरबार परिसरमा यशोबह्मा शाहको सालिक निर्माण गरिएको छ । लमजुङ उदिपुरमा रहेको श्रीजंग गणले सालिक निर्माण गरेको हो । बेंसीसहरदेखि उक्त दरबार जाने सिंढीको बाटो बेंसीसहर नगरपालिकाले बनाउँदै गरेको र केही महिनापछि निर्माण कार्य सम्पन्न हुने बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल बताउँछन् । जति आवश्यता अनुरुपम राज्य र सम्बन्धित निकायबाट हुनु पर्ने हो त्यो भने केही हुन नसकेको जिल्लबासीको गुनासो छ । लमजुङ दरबारको शिरमा पुरानोकोट गढी रहेको छ । सो गढी क्षेत्रमा घरबस्तीका भग्नाबशेष, मठमन्दिर, त्यतीबेला प्रयोग गरेका ढिंकीको ओखल, जातो सिलौटौ जस्ता सामाग्रीहरु अहिले पनि देख्न पाईन्छ ।

 

पुरानोकोट गढी नियाल्दै पर्यटक, पुरानोकोट गढीमा रहेको किल्लाको भग्नावशेष।  तस्बिर :  जनक श्रेष्ठ 

 

सो एतिहासिक कुराहरुको संरक्षण हुन सके पर्यटन प्रवद्र्वनमा टेवा पग्ने थियो । मन्दिरहरु र ढिंकी जातो राजाका सेनाहरुले सुरक्षा दिने भवनहरु यतिबेला भग्नावसेस अवस्थामा रहेको छ । सो दरबारमा राजाहरुले प्रयोग गरेका सामाग्रहीहरु समेत कोठामा थन्किएर बसेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । सो दरबारमा राजा भएका शाहवंशीय राजाहरुको फोटाहरु र केही सामाग्रीहरु गृह युद्वका बेला तत्कालिन माओवादीहरुले जलाएर नष्ट पारिदिएको सो कार्यालय प्रमुख अधिकारीको भनाई छ । उनले भने, राज्यको बेलैमा चासो जान सकेको भए ती फोटाहरु र सामाग्रीहरु सुरक्षित हुन्थ्यो । नेपालको इतिहास बोकेको यस्ता ऐतिहासिक कुराहरुको संरक्षण गर्न राज्य र सम्बन्धित निकायाको ध्यान जान जरुरी रहेको छ । शाहवंशीय राजाहरुको कुलदेवता मानिने लमजुङ कालिका पनि सोही परिसरमा रहेको छ ।

लमजुङ दरबारमा रहेको कालिका मन्दिरमा बर्षभरी पुजा हुने भएपनि मुख्य बर्षको दुई पटक पूजापाठ हुँदै आएको छ । चैतेदशैंको घटस्थापना देखि अष्टमीसम्म र बडादसैं घटस्थापनादेखि दशमीसम्म पूजापाठसँगै ठूलो मेला समेत लाग्ने गर्दछ । यहाँ सरकारी बलि पनि दिने गरिन्छ । विशेष पूजा हेर्न र पूजापाठ गर्न लमजुङ कालिका मन्दिरमा भक्तजनको निकै भीड लाग्ने गर्दछ । बाईस सुसारे पुजारीहरु अर्थात बाईस जातिका पुजारीहरु सो लमजुङ दरबार परिसरमा रहेको लमजुङ कालिका मन्दिरमा रहेका छन् । अहिले पनि उनीहरुले पुजाआजा गर्दै आएका छन् । करिब १६ रोपनी क्षेत्रफलमा लमजुङ दरबार रहेको छ । जिल्लाको बेंसीसहरबाट ८ किलोमिटर दुरमा रहेको छ लमजुङ दरबार । उक्त दरबार पुग्नलाई सवारी साधनमा करिब ४५ मिनेट लाग्छ भने, पैदल हिडेमा सँवा एक घण्टा देखि दुई घण्टामा पुग्न सकिन्छ ।

 

 

(Visited 88 times, 1 visits today)
Loading comments...