मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

“मेक्सिको पर्खाल” कि ट्रम्पको चुनौतीको पहाड ?

केशरमणि कटुवाल
2 months ago
12/01/2019

केशरमणि कटुवाल

यतिबेला मेक्सिकोको सीमा क्षेत्रमा अमेरिकाले निर्माण गर्ने भनेको पर्खालको विषय अमेरिकी राजनीतिमा ठूलो बहसको विषय बनेको छ । एक हिसाबले भन्दा अमेरिकामा सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको पर्खालले सिंगो देशलाई ठप्प पारेको अवस्था छ । सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पले एजेन्डा बनाएको आप्रवासन नियन्त्रण र मेक्सिकोको सिमानामा पर्खाल निर्माण दुवै विषय ट्रम्पका लागि टाउको दुखाइको विषय बनेका छन् ।

गत महिना मात्रै अमेरिकी सिमानामा आएका ग्वाटेमालाका दुई बालबालिकाको अमेरिकी हिरासतमा निधन भएपछि ट्रम्पको कडा आप्रवासी नीतिको चर्को आलोचना भइरहेको छ । मध्य अमेरिकी देशबाट अमेरिका प्रवेश गर्नका लागि मेक्सिको र अमेरिकाको सीमा क्षेत्रमा हजारौं आप्रवासी पुगेका छन् । जसले गर्दा त्यस क्षेत्रमा एक प्रकारले मानवीय संकटको अवस्था नै देखा परेको छ । अमेरिका प्रवेश गर्न लागेका विभिन्न ४१ देशका १३३ जना अमेरिकी हिरासतमा रहेका छन् । अमेरिका प्रवेश गर्न खोज्दा अमेरिकी हिरासतमा परेकामा दक्षिण एसियाली राष्ट्र भारत र पाकिस्तानका नागरिकसमेत छन् । ठूलो संख्या भने मध्य अमेरिकी देशको हो । जहाँ देशभित्र उत्पन्न गरिबी र हिंसाका कारण उनीहरू देश छाडेर कठिन यात्रा पार गर्दै अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पुगेर बसेका छन् । यद्यपि, उनीहरू अमेरिका प्रवेश गर्न पाएका छैनन् ।

यही खुला सिमानाका कारण मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउने योजना राष्ट्रपति ट्रम्पले अघि सारेका हुन् । राष्ट्रपतीय निर्वाचनमा आफूले नै अघि सारेको पर्खाल निर्माणको योजना कार्यान्वयन गर्न खोज्दा यतिबेला अमेरिकामा भने समस्या सिर्जना भएको छ । ट्रम्पले पर्खाल निर्माणको योजना अघि सारिरहँदा अमेरिकी कंग्रेसका दुवै सदन प्रतिनिधिसभा र सिनेटमा रिपब्लिकन पार्टीको बहुमत थियो । तर, गत नोभेम्बरमा भएको मध्यावधि निर्वाचनबाट रिपब्लिकन पार्टीले तल्लो सदनमा रहेको पकड गुमाएको छ र डेमोक्रेटिक पार्टी ४३५ मध्ये २३५ स्थानमा जित हासिल गरेर तल्लो सदनमा बहुमतमा छ । सिनेटमा रिपब्लिकन पार्टीको झिनो बहुमत छ । सिनेटका सय सिटमध्ये रिपब्लिकन ५३ र डेमोक्रेटिकको ४५ सिट छ भने दुई जना स्वतन्त्र सिनेटर छन् । ट्रम्पले मेक्सिकोसँगको सिमानामा लगाउने पर्खालका लागि ५.६ अरब अमेरिकी डलर माग गरेका छन् । जसलाई संसद्ले स्वीकृति नदिएपछि उनले बजेटमा हस्ताक्षर गरेका छैनन् । जसले गर्दा २२ डिसेम्बर २०१८ देखि अमेरिकी संघीय सरकारका कार्यालयहरू आंशिक या पूर्ण रूपमा बन्दको अवस्थामा छन् । ट्रम्प जस्तोसुकै अवस्था आए पनि पर्खाललाई बजेट नदिएसम्म बजेटमा हस्ताक्षर नगर्ने अडानमा छन् भने डेमोक्रेटिक पार्टी सुरुदेखि नै पर्खाल निर्माणको विपक्षमा उभिँदै आएको छ । जसले अमेरिकी आन्तरिक राजनीतिमा गत्यावरोध सिर्जना गरिदिएको छ ।

 

मेक्सिकोसँगको सिमाना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मेक्सिकोसँगको सिमानामा अभेद्य, लामो र सुन्दर पर्खाल बनाउन चाहन्छन् । तर, पर्खाल कति लामो, कति सुन्दर र कति मजबुत हुन्छ भन्ने प्रश्नको उत्तर उनी आफंैले विश्वासिलो तरिकाले दिन सकेका छैनन् । अमेरिका र मेक्सिकोको सीमा करिब ३ हजार १ सय किलोमिटर अर्थात् १ हजार ९ सय माइल लामो छ । जसमा खाली मैदान, धुलोले भरिएको मरुभूमि र हरियाली इलाका र रियो ग्रान्डको कठोर वातावरण भएको क्षेत्र यही सिमानामा पर्छ । अहिले करिब ६५० माइलमा पर्खाल छ । ट्रम्पले लगाउने नयाँ पर्खाल करिब १ हजार माइलको हुनेछ । बाँकी रहेको क्षेत्रमा जुन प्रकारको प्राकृतिक र भौगोलिक अवस्था छ, त्यसले नै पर्खालको काम गर्नेछ ।

कति लाग्छ लगानी ?

‘नेसनल मेमो’ मा छापिएको एउटा लेखमा न्युयोर्कका इन्जिनियर अली एफ रुजकानले यो पर्खाल निर्माण गर्नका लागि ३३ करोड ९० लाख घनफिट कंक्रिट लाग्ने अनुमान गरेका छन् । यो हुवर ड्याम बनाउन लागेको कंक्रिटभन्दा तीन गुणा बढी हो । ट्रम्प आफैंले यो पर्खाल बनाउन १० देखि १२ अरब डलर लाग्ने बताएका छन् । तर, इन्जिनियरहरूले यो भन्दा बढी लागत लाग्ने अनुमान गरेका छन् । यो पर्खालमा खर्च बढ्ने अर्को कारण के हो भने पहाडी, दुर्गम र सुदूर इलाका भएर जाने यो पर्खालमा कतिपय निजी जग्गामा समेत बन्नेछ, जसलाई किन्नु वा जग्गाधनीलाई हर्जना तिर्नुपर्नेछ । वासिङ्टन पोस्टले यो पर्खाल बनाउन २५ अर्ब डलरसम्म लाग्न सक्ने अनुमान सार्वजनिक गरेको थियो । यसअघि ट्रम्प यो पर्खाल बनाउनका लागि मेक्सिकोले पैसा तिनुपर्ने तर्क गर्ने गर्थे । जसलाई मेक्सिकोले ठाडै अस्वीकार गरिदियो । पर्खाल बनाउन पैसा दिन मेक्सिकोलाई बाध्य पार्ने ट्रम्पसँग कुनै औजार थिएन । त्यसैले, उनले विभिन्न हत्कन्डाहरू प्रयोग गर्न खोजे । जसमा मेक्सिकोबाट अमेरिमा गएर काम गरिरहेका प्रवासीलाई आफ्नो देशमा पैसा पठाउन रोक लगाउने र त्यसका लागि यूएस प्याट्रिएट एक्टको आतंकवाद निरोधक उपायको सहारा लिने बताएका थिए । त्यसमा पनि सफलता हात परेन । उनले अमेरिका जान भिसा आवेदन गर्दा लाग्ने कर बढाउने योजना पनि बनाएका थिए ।

 

 

ट्रम्प मेक्सिकोस“गको सिमानामा अभेद्य, लामो र सुन्दर पर्खाल बनाउन चाहन्छन् । तर, पर्खाल कति लामो, कति सुन्दर र कति मजबुत हुन्छ भन्ने प्रश्नको उत्तर उनी आफैंले विश्वासिलो तरिकाले दिन सकेका छैनन्

 

 

 

मानवीय मुद्दा मात्रै होइन पर्खाल

अमेरिका र मेक्सिकोबीच आवतजावतको कुरा एउटा मानवीय मुद्दा मात्रै होइन । पर्खाल बनाउँदा त्यस क्षेत्रको पर्यावरणमा कस्तो असर पर्छ भन्ने मुद्दा पनि उत्तिकै महŒवपूर्ण छ । सीमा क्षेत्रमा पशुपक्षी बिना रोकटोक आवतजावत गर्छन् । ठूलो संख्यामा पशुपंक्षी प्रजननका लागि सीमा पार गर्ने वर्यावरणविद्को भनाइ छ ।

ट्रम्पको चेतावनी र कामबन्दी

राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सिमानामा बढ्दो मानवीय र सुरक्षा संकट रोक्नका लागि पर्खाल आवश्यक रहेको बताउँदै आएका छन् । उनले बर्खालका लागि बजेट नदिए संकटकालको घोषणा गर्ने चेतावनी दिँदै आएका छन् । यद्यपि हालसम्म उनले यो कदम चालिसकेका भने छैनन् । उनको यो चेतावनी सरकारलाई पर्खाल बनाउनका लागि बजेट उपलब्ध गराउन विपक्षीमाथि दबाब बनाउने रणनीतिका रूपमा हेरिएको छ । यद्यपि डेमोक्रेटले यो पर्खाल निर्माणको विषयको विरोध गर्दै आएको छ । ट्रम्पले भने सरकारको आंशिक कामबन्दीका लागि तयार रहेको बताएका छन् । अमेरिकामा कामबन्दी भएको तीन साता हुन लागेको छ । जसका कारण करिब ८ लाख अमेरिकी कर्मचारी २२ डिसेम्बरदेखि बिनातलब काम गरिरहेका छन् । यसै साता टेलिभिजनमार्फत गरेको ८ मिनेट लामो आफ्नो प्रत्यक्ष सम्बोधनमा कामबन्दी हुनुमा डेमोक्रेट जिम्मेवार रहेको आरोप लगाएका छन् । ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा लगाइने पर्खाल सुरक्षा र मानवीय संकट समाधानका लागि महŒवपूर्ण रहेको दाबी गर्दै आएका छन् । अमेरिकामा जाने हेरोइनको ९० प्रतिशत हिस्सा मेक्सिकोबाट नै जाने गरेको उनको दाबी छ । कंग्रेसबाट समयमा नै बजेटमाथि स्वीकृति प्राप्त नभएपछि अमेरिकामा कामबन्दी सुरु भएको छ । ट्रम्पले हस्ताक्षर गर्न अस्वीकार गरेपछि बजेट लागू हुन नसक्ने कर्मचारी बेतलबी काम गर्न या बिदामा बस्न बाध्य छन् । जसका कारण अमेरिकी सरकारको एक चौथाइ काम ठप्प छ । यसअघि रिपब्लिकन पार्टीको बहुमत रहेका बेला प्रतिनिधिसभाले पर्खालका लागि बजेट पारित गरिदिए पनि सिनेटमा ट्रम्पले ६० मत जुटाउन सकेनन् । सिनेटबाट बजेट पास हुनका लागि ६० सिनेटरको समर्थन अनिवार्य छ ।


ट्रम्पलाई अर्को चुनौती न्यान्सी पेलोसी

ट्रम्पका यस्ता निर्णय कार्यान्वयनका लागि डेमोक्रेटिक पार्टी र नेतृ न्यान्सी पेलोसी चुनौतीका रूपमा उभिएकी छन् । अमेरिकी राजनीतिमा निकै प्रभाव राख्ने पेलोसी हालै संसद्को तल्लो सदन प्रतिनिधिसभाको सभामुखमा चयन भएकी छन् । क्यालिफोर्नियाकी डेमोक्रेटिक सांसद न्यान्सी पेलोसी राष्ट्रपति र उपराष्ट्रपतिपछि तेस्रो शक्तिशाली व्यक्ति बनेकी छन् । गत नोभेम्बरमा भएको मध्यावधि निर्वाचनमा उनी यस्तो समयमा निर्वाचित भइन्, जतिबेला राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि बजेट माग गरिरहेका थिए । डेमोक्रेटिक पार्टीकी नेतृ ७८ वर्षीया पेलोसी सिमानामा पर्खाल बनाउने योजनाको विपक्षमा छिन् । अमेरिकामा महिलाले मताधिकार पाएको सय वर्ष पुग्दा १ सयभन्दा बढी महिला सांसद बनेका छन् । जसमध्ये पेलोसी एक हुन् र उनी अमेरिकी राजनीतिमा निकै प्रभावशाली छिन् । सन् २००७ मा प्रतिनिधिसभाको सभामुख भइसकेकी उनले अमरिकी राजनीतिमा असाधारण यात्रा गरिन् र सन् २०१८ को मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीकी प्रमुख रणनीतिकारका रूपमा रहिन् । सन् १९७६ देखि उनी अमेरिकी राजनीतिमा सामेल भइन् र क्यापलिफोर्नियाका गभर्नर जेरी ब्राउनलाई सहयोग गरिन् । सन् १९८८ मा उनी पार्टीकी उपप्रमुख बनिन, जतिबेला उनले एड्सको विरामीबारे सोधमा लगानीलाई प्राथमिकता दिइन् । सन् २००१ मा न्यान्सी पेलोसी तल्लो सदनमा संसदीय समूहको नेतृ बनिन् ।

 

 

 

अमेरिका र मेक्सिकोबीच करिब ३ हजार १ सय किलोमिटर लामो सीमा छ । खाली मैदान, मरुभूमि, हरियाली इलाका र रियो ग्रान्डको कठिन क्षेत्र यही पर्छ । ट्रम्पले लगाउने नया“ पर्खाल करिब १ हजार माइलको हुनेछ । बा“की क्षेत्रमा जुन प्रकारको प्राकृतिक र भौगोलिक अवस्था छ, त्यसले नै पर्खालको काम गर्नेछ

 

सभामुख बन्नुको अर्थ

अमेरिकी संविधानमा यो पदलाई च्याम्बरको नेताका रूपमा व्याख्या गरिएको छ । जसअनुसार आवश्यकता परेको अवस्थामा उपराष्ट्रपतिपछि सभामुखले राष्ट्रपतिको स्थान लिन सक्छन् । प्रतिनिधिसभामा बहुमत भएको पार्टीको विधायिकी एजेन्डामाथि नियन्त्रण हुन्छ । सन् २००८ मा आर्थिक संकटका क्रममा पेलोसीले ८४० हजार मिलियन डलरको राहत प्याकेज स्वीकृत गराएकी थिइन् । त्यस्तै, असमानता, वातावरण, लिंग, तलबको असमानता हटाउन गरिएको सुधारलाई स्वीकृति उनकै नेतृत्वमा प्राप्त भएको थियो । उनले ओबामा सरकारको स्वास्थ्य योजना ‘अफोर्डेबल केयर’लाई स्वीकृति दिलाउन लडाइँ गरेकी थिइन् । जुन ओबामा सरकारको सबैभन्दा बलशाली योजनाका रूपमा अघि आयो ।

 

ट्रम्पको पर्खाल युद्ध र समाधान

दुई साताअघि क्याम्प डेभिडबाट निस्किने क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘हामीले कुनै पनि हालतमा पर्खाल बनाउनुपर्छ । यो हाम्रो देशको सुरक्षाका लागि धेरै जरुरी छ र हामीसँग अर्को कुनै विकल्प छैन । यो अहं युद्ध हो, जुन हामीले जित्नैपर्छ ।’ उनले अमेरिकामा चलिरहेको कामबन्दी तत्कालै समाधान हुन्छ कि लामो समयसम्म चल्छ भन्ने कुरा डेमोक्रेटको निर्णयमा भर पर्ने बताउने गरेका छन् । अर्को ट्रम्पको तर्क अमेरिकाका संकटकाल लागू गरेर भए पनि सिमानामा पर्खाल निर्माणको प्रक्रिया अघि बढाउने भन्नेछ । संकटकाल लागू भएको अवस्थामा राष्ट्रपतिलाई सैन्य परियोजनाको काम सिधा रूपमा गर्ने अधिकार प्राप्त हुनेछ तर यो रकम रक्षा मन्त्रालयको बजेटबाट आउँछ, जसलाई संसदको स्वीकृति प्राप्त भएको हुन्छ । यो अवस्थामा पनि ट्रम्पलाई पर्खाल बनाउने बजेट सिधै प्राप्त हुने अवस्था नहुन सक्छ ।

राष्ट्रपति ट्रम्प र डेमोक्रेटिक पार्टी दुवैलाई यो विषयमा जनताको समर्थन आफूसँग रहेको भ्रम छ । त्यसैले नै दुवै पक्ष नझुक्ने अडानमा रहँदै आएका छन् । तर, हालै भएको एक सर्वेक्षणमा ५० प्रतिशत मानिस कामबन्दीका लागि राष्ट्रपति ट्रम्पलाई जिम्मेवार ठान्छन् भने ३२ प्रतिशतले मात्रै डेमोक्रेटिक पार्टीलाई दोषी ठान्छन् । ट्रम्पका सल्लाहकार तथा ज्वाइँ जारेड कुसनर पनि पर्खालाई बजेट स्वीकृत गराउन लागिपरेका छन् । उनले पर्खालको बजेटको बदलामा डेमोक्रेटिक पार्टीको युवा आप्रवासीसम्बन्धी कार्यक्रम ‘ड्रिमर्स’को मागमा सहमत हुन सक्ने बताएका छन् । डेमोक्रेटिक पार्टीले बच्चा अवस्थामा नै अमेरिका प्रवेश गरेका युवालाई जबर्जस्त फर्काउन नहुने माग राख्दै आएको छ । तर, डेमोक्रेटिकले राष्ट्रपति ट्रम्पको यो सौदाबाजीलाई पनि स्वीकार नगर्ने देखिएको छ । जसले गर्दा तत्काल समाधान के हुन्छ भन्न कठिन परेको छ ।

अन्त्यमा, अवैध आप्रवासीलाई अमेरिका प्रवेशमा रोक्नका लागि पर्खाल बनाउने र आपराधिक रेकर्ड भएका ३० लाख अवैध आप्रवासीलाई फिर्ता पठाउने या जेलमा हाल्ने ट्रम्पको वाचा थियो । मेक्सिको र अमेरिकाबीचको सिमानामा पर्खाल लगाएर मानवीय गतिविधि रोक्ने कुरा त्यति सहज देखिँदैन । लामो समयदेखि राजनीतिक, आर्थिक, सामरिक र रणनीतिक विषयमा साझेदार बन्दै आएको देशको सिमानामा पर्खाल लगाएर मानवीय गतिविधि रोक्ने उपाय अवलम्बन गर्नु आफैंमा एउटा अचम्म लाग्दो विषय पनि हो । जसले अमेरिकी राजनीतिक माहोल तताएको छ । देशलाई निकास दिने प्रमुख जिम्मा सत्तामा रहेका व्यक्तिको नै हुन्छ । त्यसैले, यो मुद्दाको समाधान गर्दै अमेरिकाभित्र देखिएका गत्यावरोधको अन्त्य गरेर देशलाई निकास दिने प्रमुख दायित्व पनि राष्ट्रपति ट्रम्पकै हो ।

एजेन्सीको सहयोगमा

 

(Visited 107 times, 1 visits today)
Loading comments...