मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

जो प्रखर चिन्तक थिए

खगेन्द्रराज रेग्मी
2 months ago
12/01/2019

खगेन्द्रराज रेग्मी

२० वैशाख १९९७ मा स्याङ्जा राङ्खोलामा सामान्य कृषक परिवारमा जन्मिएका शिवकुमार अधिकारी १० पुस २०७५ मा दिवंगत भए । विलक्षण प्रतिभाका धनी, कुशाग्र बुद्धि तथा प्रत्युत्पन्न मतिका व्यक्ति थिए, उनी । स्याङ्जाको प्रज्वल ज्योति, प्रजातन्त्र सेनानी, स्वतन्त्रताका योद्धा, कट्टर राष्ट्रवादी, बीपी कोइरालाका सच्चा अनुयायी, कुशल संगठनकर्ता, नेपाली कांग्रेसका प्रखर चिन्तक र नेता थिए । कांग्रेसको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नीतिबाट प्रभावित उनी जीवनभर त्यसैका लागि संर्घषरत थिए । उनमा कहिल्यै निराशा आएन । सुरुवाती दिनदेखि ७९ वर्षको वृद्ध र बिरामी शरीर हुँदा पनि पार्टीको हरेक कार्यक्रममा उनी निरन्तर सक्रिय रहे ।

अधिकारीस“ग संगत कांग्रेसी राजनीतिकै क्रममा २०–२१ सालदेखि भएको हो । उनी र म २०२६–२७ सालतिर बीपी भेट्न बनारस गएका थियौं । बीपीले हामीलाई पार्टीको काममा शिक्षक बनेर खटिन प्रोत्साहन गरेका थिए । शिक्षक भएर काम गर्दा छात्रछात्रामार्फत उनीहरूका अभिभावकस“ग पनि सम्पर्क भई जनसम्पर्क भइरहने, थोरबहुत परिवारको भरणपोषणमा पनि मद्दत हुने र प्रशासनको कुदृष्टि पनि कम हुन्छ भन्ने बीपीको सल्लाहअनुसारै हामी पार्टी संगठनको अलवा अध्यापन कार्यमा पनि लागेका थियौं ।
पार्टीलाई आवश्यक पर्दा अध्यापन कार्य छोड्न निर्देशन गर्ने कुरा हामीलाई बीपीले सँगै खाना खुवाएर बनारसमा भनेका थिए ।
बीपीले हामीलाई गण्डकी क्षेत्रकै सम्पर्क सूत्रका रूपमा कार्य गराएका थिए । पार्टीको मुखपत्र तरुण ल्याएर हामीले यो क्षेत्रमा वितरण गर्ने गर्दथ्यौं । गण्डकी क्षेत्रलाई आवश्यक पर्ने अन्य प्रचार सामग्री पार्टीले दिएको टाइपराइटर र लिथो मेसिन प्रयोग गरी उनकै घरमा तयार गरिन्थ्यो ।

तथापि, पञ्चायती निरंकुशताले शिक्षक शिवकुमार अधिकारीलाई निरन्तर लखेटिरह्यो । कुनै एक विद्यालयमा उनलाई टिक्न दिइएन । अंग्रेजी विषयमा जिल्लाकै अब्बल शिक्षक भए पनि उनले विद्यालय चाहर्दै हि“ड्नुप¥यो । काठमाडौंको साँखु, ललितपुरको लुभु हुँदै स्याङ्जाका मातृभूमि, शिरुबारी, वालिङ, विरुवा, क्याक्मी, दहथुम, पर्वतको फलेवास, शंकरपोखरीसमेत पुगेर पार्टीको काममा निरन्तर क्रियाशील रहे । संघर्षकै दौरान कयौंपटक उनीमाथि सांघातिक हमला पनि भए । तर, जस्तोसुकै खतरा आए पनि उनी निरंकुश पञ्चायती व्यवस्थासँग कहिल्यै झुकेनन् । उनको जस्तो हन्डर, दुःख, कष्ट र संकट बेहोरोको नेता पार्टीमा कमै छन् ।जेलमा रहँदा पनि जेल प्रशासनको थिचोमिचो उनले सहेनन् । र, जेलभित्रै पनि संघर्ष गरेका थिए । पार्टीभित्र पनि यस प्रकारका तŒवसँग उनको सधंै फरक मत रहन्थ्यो ।

आफ्नै साथीले नक्खु जेलभित्र हैकम चलाउन खोज्दा पनि उनले सहेनन् । बीपीसँग कुरा पु¥याइदेऊ भनेर मलाई भने । बीपीले वरिष्ठ अधिवक्ता गणेशराज र मलाई साथीसित कुरा गर्न भनेअनुसार हामीले कुरा गरेर समस्या समाधान गरेका थियौं ।
म तरुण क्लब स्याङ्जा अध्यक्ष भएको थिएँ । तरुण क्लबलाई बीपीले नै तरुण दलमा परिर्वतन गराएका हुन् । मलाई शिवकुमार र दिनबन्धु अर्यालले तरुण क्लबको अध्यक्ष प्रस्ताव गरको थिए । उनीहरूले सुम्पेको जिम्मेवारी निकै दुःख, कष्ट, यातना, जेल र गोलीसमेत खाएर भए पनि मैले जीवनभर पूरा गरिरहें । उनले पनि अत्यन्त ठूलो कष्ट, पीडा, यातना, जेलनेल, निर्वासन, भोग्नुपर्ने सबै पीडा भोगे ।

 

 

कांग्रेसको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नीतिबाट प्रभावित उनी जीवनभर त्यसैका लागि संघर्षरत थिए

प्रजातन्त्र प्राप्ति भयो, पार्टीको आठौं महाअधिवेशनमा म नेपाली कांग्रेस स्याङ्जाको सभापति भएँ भने शिवकुमार अधिकारी २०४९ सालमा जिविस स्याङ्जाको प्रथम निर्वाचित सभापति बने । स्याङ्जाको चौतर्फी विकासको खाका उनकै कार्यकालमा बनेको हो । भोक, रोग, गरिबी र अशिक्षा नेपालका शत्रु हुन्, नेपालको विकास गर्न नेपाली कांग्रेसले ग्रामीण भेगका गरिब किसानको जीवनस्तर सुधार्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ भन्ने मान्यता उनको थियो । आफू जिल्ला विकास समिति स्याङ्जाको सभापति हुँदा त्यसैअनुरूप कार्यक्रम पनि सञ्चालन गरेका थिए ।

स्याङ्जाको गरिबी निवारण गराउन नेपालमै पहिलोपटक संयुक्त राष्ट्र संघीय सपाप कार्यक्रम, पीएलआरपी कार्यक्रममार्फत ग्रामीण कृषि सडक निर्माणमा योगदान दिई कृषि उपजको बजारीकरण, वातावरणवादीको व्यापक विरोधका बाबजुद पनि कालीगण्डकी जलविद्युत् परियोजना निर्माणमा सफलता जस्ता विषय उनको कार्यकालका उल्लेख्य उपलब्धि हुन् ।
कांग्रेसको सशस्त्र विद्रोह र मेलमिलापको नीति पछि बीपी कोइरालालाई लागेको फाँसीको मुद्दामा स्याङ्जा बमकाण्डसमेत जोडिएको थियो । यसको जिम्मा स्याङ्जामा हामीले लिएका थियौं । योजनाअनुसारै शिवकुमार अधिकारी, म, श्रीप्रसाद जीटी र सुनबहादुर गुरुङले बनारसबाट बम, ग्रिनेट र हतियार ल्याएका थियौं ।

स्याङ्जाको राङखोलामा शिवकुमार अधिकारी, म, श्रीप्रसाद जीटी, सूर्यप्रसाद रेग्मी र वेदप्रसाद पनेरुले रगतले सही गरी स्याङ्जामा सशस्त्र क्रान्ति अगाडि बढाउन प्रतिबद्घ भएका थियौं ।हामी सबैलाई राजकाज अपराध तथा सजाय ऐनअन्तर्गत राष्ट्र विप्लवको मुद्दा लागेको थियो । म तीन वर्ष जेल बसेर सफाइ पाए भने शिवकुमार अधिकारी सपरिवार निर्वासित भए ।
विश्वप्रेम अधिकारी जेल परे भने शिवकुमार, दाजु कृष्णकुमार र भाइ रामकृष्ण अधिकारीले लामो निर्वासन पछि मेलमिलापको नीति लिई बीपीसँगै स्वदेश फर्केर राजकाज, हतियार तथा खरखजाना मुद्दामा चार वर्ष जेलजीवन बिताए ।
जीवनका कठिनभन्दा कठिन दिनमा पनि म उनको संगत र साथमा रहें तर उनको अन्तिम दाहसंस्कारमा जिल्ला बाहिर भएकाले उपस्थित हुन सकिनँ । यसमा मलाई ठूलो पश्चाताप छ ।

 

(Visited 457 times, 1 visits today)
Loading comments...