मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

दिवंगत राजा मादल बजाउँछन्

ईश्वर तामाङ
1 week ago
12/01/2019

ईश्वर तामाङ

उदयपुरगढी गाउँपालिका गढीका ७० वर्षीय धनबहादुर मगरका अनुसार उदयपुरगढी एउटा पूर्वको इतिहास बोकेको स्थान भए पनि यसको विकासमा सरकारले उचित ध्यान दिएको छैन ।  राजा उदयसिंह नामका सेन राज्यमाथि पृथ्वीनारायण शाहले आक्रमण गरेपछि उनी अलप मात्र भएका हुन् । अहिले पनि गढी दरबार पारिको जंगल डाँडामा मध्य दिन र रातको समय उदय सेनले मादल बजाउने गरेको प्रत्यक्ष सुन्न सकिने मगर दाबी गर्छन् ।

राजा उदय सेनबारे जिल्लाका विभिन्न विद्वान्को पनि विभिन्न धारणा रहेको पाइन्छ । प्रा.डा. सोमप्रसाद खतिवडाद्वारा लिखित ‘उदयपुरगढीको इतिहास र पर्यटन’ नामक पुस्तकमा सन् १३२४ तिर मिथिलातिर हुते राज्य पतन भएको हुनाले त्यसको केही समयपछि उदयपुरगढी स्थापना गरिएको हुन सक्ने उल्लेख छ ।
स्थानीय पूर्वशिक्षक इच्छाराम परियारका अनुसार सन् १७६० मा उदयपुरको चौदण्डीगढीका राजा विक्रम सेनका भाइ उदय सेन उदयपुरगढीमा चौदण्डीको क्षेत्रीय प्रशासक भई आएर शासन गरेपछि आफूलाई राजा घोषणा गरेका थिए ।
उदयपुरको नाम पनि उदय सेनले नै आफ्नै नामबाट राखेको र उदयपुरगढीमा दरबार बनाएर शासन सुरु गरेको अर्का पाका बुद्धिजीवी बोधकुमार घिमिरे बताउँछन् । उनका अनुसार पृथ्वीनारायण शाहका फौजले १६ जुलाई १७७३ मा उदयपुरको चौदण्डीगढी माथि आक्रमण गरेर कब्जा जमायो र त्यसको ठीक दुई दिनपछि १८ जुलाईमा उदयपुरगढीमा आक्रमण गरिएको थियो ।

 

पृथ्वीनारायण शाहका फौजका कमान्डर अमरसिंह थापा, स्वरूपसिंह कार्की, अभिमान सिंह बस्नेतलगायतले उदयपुरगढीमा आक्रमण गरेपछि राजा उदय सेन आफ्नोप्यारो चिज मादल लिएर गढीनजिकैको जंगल ओढारमा लुक्न गए र सोही स्थानमा अलप भएको गढीका जानकारको भनाइ छ ।जानकारका अनुसार राजा उदय सेन अलप भए । पृथ्वीनारायण शाहका फौजले पक्राउ गर्न र मार्न सकेन । उनीमा दैवीशक्ति भएका अलौकिक राजाका रूपमा रहेको गढीका जनताको विश्वास छ । उनी अलप भएको जंगलबाट अझै पनि मध्य दिनमा र रातमा उदय सेनले बजाएको मादलको मधुरो आवाज अहिले पनि गुन्जने गरेको जनविश्वास रहिआएको गढीका कर्णबहादुर खड्काको दाबी छ ।

सदरमुकाम गाईघाट र दोस्रो व्यापारिक केन्द्र कटारी दुवैतर्फबाट नेपालटार हुँदै पुग्न सकिने गढीमाई मन्दिरको स्थापना १९७५ मा भएको ताम्रपत्रहरूमा उल्लेख छ । तत्कालीन पञ्चावती गाविस–७, चुलाढुंगाका मगर थरका स्थानीयले जंगलमा पाँचवटा देवीको मूर्ति भेटेर पूजाआजा गर्न थालेकाले पनि यो स्थानको नाम पञ्चावती हुन पुगेको उदयपुरगढी–५ का ७८ वर्षीय शेषराज खतिवडा बताउँछन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले मन्दिरलाई ताम्रपत्रसहितका केही महŒवपूर्ण सामानसमेत चढाएको तर ती सबै हराएका छन् ।उदयपुरगढीमा अवस्थित पञ्चावती गढीमाइको पुरानो मन्दिर संरक्षण र उचित रेखदेख अभावमा मन्दिरका महŒवपूर्ण देवीका मूर्तिलगायत ताम्रपत्र तथा धातुका वस्तु चोरी भएका छन् । पौराणिक महŒव बोकेका सम्पदा भग्नावेश अवस्थामा हुनु तथा संरक्षण गर्न नसक्दा ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् ।

मन्दिरका महŒवपूर्ण पाँच मूर्ति यसअघि नै चोरी भइसकेको र ताम्रपत्रसहितका अन्य धातुका सामानसमेत उचित संरक्षणको अभावमा चोरी भएको स्थानीय सीएम गुरागाईंको भनाइ छ । उनले भने, ‘उदयपुरगढी पर्यटन विकासको नयाँ गन्तव्यका रूपमा सरकारले छनोट गरेकोप्रति उदयपुरगढीवासी हर्षित छन् । सरकारले ढिलै भए पनि उदयपुरगढीलाई पर्यटकीय गन्तव्यका रूपमा घोषणा गरेकाले नेपाल भ्रमण वर्ष २०२० लाई पूर्ण रूपले सहयोग हुनेछ ।
मन्दिर संरक्षणका अभावमा यस्ता महŒवपूर्ण वस्तु हराएको र अझै पनि मन्दिर पुनर्निर्माण र संरक्षणमा सम्बन्धित निकायले उचित ध्यान नदिएको उदयपुरगढी–४ का होमबहादुर मगरको भनाइ छ ।
उदयपुरगढीलाई प्रदशे १ कै ऐतिहासिक पर्यटन स्थलका रूपमा विकास गर्न सकिने सम्भावना भए पनि उचित ध्यान पुग्न सकेको छैन । वर्तमान सरकारले यसको महŒव बुझी उचित ध्यान दिएमा गढीका जनताका लागि उपयुक्त अवसर पनि मिल्ने थियो ।

गढीमा उदय सेनको कुलदेवीका रूपमा रहेको पञ्चावती देवीको मन्दिर पनि जीर्ण छ । गढी क्षेत्रमा पर्यटन विकासका लागि पनि उदय सेनको दरबार परिसरलाई पुरातात्विक विभागले संरक्षणमा खासै चासो नदिएको स्थानीयको गुनासो छ ।
उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर भने, ‘ढिलै भए पनि सरकारले उदयपुरगढी दरबारलाई पर्यटनको नयाँ गन्तव्य घोषण गरेकोप्रति हामी गढीवासी सबै हर्षित छौं । तर, सर्वप्रथम यहाँ खानेपानी, बत्तीको अभावले पर्यटक राख्न समस्या पर्न सक्ने भएकाले गाउँपालिकालाई यस्ता समस्या समाधान गर्न पहल भइरहेको बताउँछन ।
अध्यक्ष मगर भन्छन्, ‘यो गढी क्षेत्र उदयपुरको मात्र होइन, प्रदेश १ र नेपालको नै ऐतिहासिक महŒव बोकेको स्थान हो । यसको पर्यटन विकासमा प्रदेश र केन्द्र सरकार नै लाग्नुपर्ने हुन्छ ।’ मन्दिरका हराएको सामानको खोजी गर्ने, मन्दिरको भवन अझै पुनर्मर्मत गरेर बलियो र सुन्दर बनाउने, मन्दिर संरक्षणका लागि रेखदेख गर्ने मानिस राख्ने र पुजारीको समेत व्यवस्थापन गरिने अध्यक्ष मगर बताउँछन् ।

उदयपुरगढीको मुख्य आकर्षण भनेको गढी मन्दिर, पञ्चावती माई मन्दिर, केउरेनी मन्दिर, चुला ढुंगा शिव पार्वती रहेका छन् । पुरानो गढीको भग्नावशेष, टँुडिखेलको गणेश थान, संसारी माईथान, गढीकै पुरानो वरपीपलको रुख र ऐतिहासिक पोखरीको वर्षौ पुरानो इतिहास रहेको छ । यहाँ घयाम्पा थुम्काको सिद्धथान मन्दिर, बज्ने ढुंगा मन्दिर, हाडेटार शिवजी गुफा, केउरेनी महादेव मन्दिर जस्ता हेर्नलायक रमणीय ठाउँ छन् । ब्रह्मचारी धारा, जोगी धारा, उदयपुरगढी संग्रहालयले पर्यटकलाई थप आकर्षित गर्नेछ ।

भारतबाट समेत देखिने र पूर्वाञ्चलको धेरै स्थानबाट देखिने गढीको डाँडामा रहेको यो मन्दिरबाट उत्तरमा सगरमाथाको रेन्जमा रहेका हिमशृंखला, दक्षिणमा चुरे शृंखलाको साथै तराईको समथर जमिन समेत देख्न सकिने भएकाले पनि पर्यटकीय सम्भावना प्रशस्तै रहेको छ । यहाँबाट ताप्ली पोखरी, चित्रेथामलगायतका भुभाग देख्न सकिन्छ ।
प्रत्येक वर्ष दसैं, रामनवमीलगायत अन्य तिथिमा जिल्लाका सम्पूर्ण क्षेत्रबाट ठूलो संख्यामा पञ्चावती गढी देवीको पूजा तथा आराधना गर्न भक्तजन आउँछन् । मन्दिर संरक्षणका अभावमा जीर्ण बनेर मन्दिरका सबै सामग्री चोरी भए पनि देवीप्रति अहिले पनि भक्तजनको आस्था उत्तिकै रहेका कारण दैनिक पूजाआजा र आराधना गर्न भक्तजन जाने गरेको स्थानीय दीपककुमार मगरले बताए ।

 

 

 

पृथ्वीनारायण शाहको फौजका कमान्डर अमरसिंह थापा, स्वरुपसिंह कार्की, अभिमान सिंह बस्नेतलगायतले उदयपुरगढीमा आक्रमण गरेपछि  राजा उदय सेन आफ्नो प्यारो चिज मादल लिएर गढीनजिकैको ओढारमा लुक्न गए र सोही स्थानमा अलप भएको गढीका जानकारको भनाइ छ

 

पुरानो सदरमुकाम उदयपुरगढी आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि स्थानीय महिलाले होमस्टे सञ्चालनमा ल्याएका छन् । झन्डै ६ वर्षदेखि सञ्चालित १६ वटा होमस्टे दर्ता भए पनि १० वटा सञ्चालित छन् ।
होमस्टेमा पानी र बिजुलीको समस्याले पर्यटकलाई लामो समयसम्म टिकाइराख्न नसकिएको गुनासो होमस्टे सञ्चालक गीता धमलाले बताइन् । उनका अनुसार पानी र बिजुलीको समस्या समाधान भए पर्यटकलाई लामो समयसम्म राख्न सकिने बताउँछिन् ।

 


पानीको भरपर्दो व्यवस्था नहुँदा पाहुनाको बसाइ व्यवस्थित र लामो बनाउन नसकिएको होमस्टे सञ्चालक बताउँछन् । उदयपुरगढीमा वर्षांैदेखि पिउने पानीको समस्या छ । करिब ३० किलोमिटर टाढाको मुहानबाट ल्याएको पानीले स्थानीयलाई पुग्दैन । पाइप लाइनबाट ल्याएको पानी पिउन मात्रै पनि नपुग्ने स्थानीय बताउँछन् ।
होमस्टेमा करिब ३० पर्यटकलाई सेवा उपलब्ध हुने सक्ने व्यवस्था रहेको छ । ‘स्थानीय स्तरमा उपलब्ध गुन्दु्रक, कोदोको ढिँडो, मकै, भटमास, स्थानीय स्तरमा उत्पादित खसी र कुखुकाको मासुसहित स्थानीय जनजातिले उत्पादन गरेको मदिराले पाहुनलाई स्वागत गरिने होमस्टे सञ्चालन समितिका सचिव रीताकुमारी धमलाले बताइन् ।
‘पोखरा र बन्दीपुरका होमस्टे हेर्दा धेरै गर्न सकिन्छ जस्तो लागेको छ,’ धमलाले भनिन्, ‘नेपालटार उदयपुरगढी सडकको स्तरोन्नतिसँगै प्रशस्त मात्रमा पानी उपलब्ध नहुँदा केही गर्न सकिएको छैन ।

उदयपुरगढी डाँडामा अझै पनि राजा उदय सेनको मादल गुन्जन्छ भन्ने जनविश्वास रहे जस्तै यहाँको अवस्था पनि उस्तै छ । पृथ्वीनारायण शाहदेखि यता दर्जनौं परिवर्तन भए तर यो ऐतिहासिक गढी आज पनि विगतको जस्तै छ, फेरिएन । देशमा आएको परिवर्तन र विकासले यहाँका जनतालाई छुन सकेको छैन । हिजो पृथ्वीनारायण शाहले एकीकरण गरेको उदयपुरगढी अहिले पनि उस्तै छ, विकासको कुनै काम पनि भएको छैन र खानेपानी लिन पनि दुई घण्टा टाढा जानुपर्ने बाध्यता छ । उदयपुरगढी पहिले उदयपुरको सदरमुकाम थियो ।
खानेपानीकै समस्याका कारण २०२८ सालदेखि सदरमुकाम यहाँबाट, सुटुक्क गाईघाट सारियो । २०२५÷२६ सालतिर मोटरबाटो पुगेको ठाउँ र अहिले हेर्दा अरू गाउँसरह नै पिछडिएको देखिन्छ । त्यसबेलाका अड्डा अदालतका पुराना भग्नावशेषहरू अझै पनि यत्रतत्र छरिएको देख्न पाइन्छ ।

 

(Visited 142 times, 1 visits today)