मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

समयअघि काम सक्ने कम्पनीले ग¥यो नवनिर्मित बसपार्क र सडक हस्तान्तरण

राजधानी समाचारदाता
2 months ago
12/01/2019

काठमाडौं । पूर्वनिर्धारित समयअघि नै काम सक्ने निर्माण कम्पनीले इनरुवास्थित नवनिर्मित बसपार्क र सडक हस्तान्तरण गरेको छ । कालिका कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएर बनाएको सो बसपार्क र सडक इनरुवा नगरपालिका सुनसरीलाई हस्तान्तरण गरेको हो । इनरुवा नगरपालिकास्थित विभिन्न सडक, सौर्यबत्ती, नवनिर्मित बसपार्क निर्माण सम्पन्न गरी प्रतिवेदनसहित संघीय आयोजना कार्यान्वयन इकाइ मोरङले इनरुवा नगरपालिकालाई हस्तान्तरण गरेको एकाइ आयोजनाका प्रमुख उज्ज्वल प्रसाईंले बताए ।

हस्तान्तरण कार्यक्रममा कालिका कन्स्ट्रक्सनले तोकिएको समयअघि नै संरचना बनाएको भन्दै सम्मानसमेत गरिएको थियो । अहिले समयमा काम नसक्ने प्रवृति बढिरहेका बेला कालिकाले समयअघि नै निर्माण सम्पन्न गरेर सरकारलाई बुझाएपछि सरकारले सम्मान गरेको हो । केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले समयअघि काम सक्ने निर्माण व्यवसायीलाई सरकारले सम्मान गर्ने बताएका थिए । सोहीअनुसार सरकारले कालिका कन्स्ट्रक्सनलाई सम्मान गरेको हो । कालिकाले बसपार्कको दुईतले टर्मिनल भवन, २३० वटा सडक सौर्यबत्ती, जेनेरेटर परिसरमा निर्मित संरचना बनाएर नगरपालिकालाई हस्तान्तरण गरिएको पनि आयोजना प्रमुख प्रसाईंले जानकारी दिए ।

उनका अनुसार स्वदेशी निर्माण कम्पनी कालिकाले यस बसपार्कसहित १ अर्ब २ करोड २५ लाख ३४ हजारको लागतमा सो संरचना बनाइएको हो । यात्रु प्रतीक्षालय, होटल, खानेपानीको व्यवस्था, सीसी क्यामेरा जडानलगायतका अन्य संरचनासमेत बनेका छन् । इनरुवा बसपार्क र सडकलगायत कालिका कन्स्ट्रक्सनले बनाएका संरचनाको गत बुधबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए ।

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईलगायत जनप्रतिनिधिको उपस्थितिमा बसपार्कको उद्घाटन गरिएको थियो । बसपार्क समयानुकूल र प्रविधिमैत्री रूपमा निर्माण भएको निर्माण कम्पनीको दाबी छ । नवनिर्मित सो बसपार्क अपांगमैत्री रहेको छ । नयाँ बस्ती बसाउन व्यवस्थित बसपार्क सञ्चालनमा आउनुपर्ने आवश्यकता रहेको इनरुवा नगरपालिकाका प्रमुखलगायतले बताएका छन् ।

सहरी विकासमन्त्री राईले इनरुवा नगरपालिकामा सम्पन्न पूर्वाधार निर्माण कार्य मुलुककै नमुना र छिटो सम्पन्न भएको योजनामा परेको भन्दै नगरका अन्य भौतिक पूर्वाधार र संरचना निर्माणमा सहयोगको प्रतिबद्धता जनाएका थिए ।

 

 

 

(Visited 67 times, 1 visits today)
Loading comments...