सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

पाँचबुँदे काठमाडौं घोषणापत्र जारी, सबै तहका कानुन सहकारीमैत्री बनाउन पहल गर्ने

राजधानी समाचारदाता
6 months ago
12/01/2019

 

काठमाडौं । सहकारीकर्मीहरूले सहकारी संघसंस्थाहरूमार्फत उद्यमशीलता विकासका लागि संघीय, प्रदेश र स्थानीय तहका कानुनलाई सहकारीमैत्री बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । सहकारी स्थानीय तहदेखि प्रदेश र संघसम्मको क्षेत्राधिकारभित्र रहेकाले सबै तहमा बन्ने सबै क्षेत्रका कानुनलाई सहकारीमैत्री बनाउनका लागि सामूहिक पहल गर्ने सहकारीकर्मीले प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रिय सहकारी महासंघको आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा काठमाडौंमा शुक्रबार सम्पन्न सहकारी उद्यम प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठीले सो प्रतिबद्धता जाहेर गरेको हो । गोष्ठी पाँचबुँदे काठमाडौं घोषणापत्र–२०७५ जारी गरी सम्पन्न भएको हो । बिहीबारदेखि सुरु भएको सो गोष्ठीले सबै क्षेत्रमा सहकारीको च्यानल प्रवेशका लागि बाधा पु¥याउने कानुनलाई संशोधनका लागि सामूहिक प्रयोग गर्ने प्रतिबद्धता जनाएको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले बताए ।

उनले भने, ‘सहकारी जागरणको चरणबाट माथि उठिसकेका छन् । अब उद्यमशीलतामार्फत दिगो अर्थतन्त्र निर्माणमा भूमिका खेल्न चाहन्छन् । यसका लागि सबै उद्योगधन्दामा सहकारीको प्रवेशका लागि जहाँ जहाँ कानुनी अड्चन छन् त्यसलाई हटाउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’ घोषणापत्रमा नवीन प्रविधिको प्रयोगमार्फत सहकारी संघसंस्थाका व्यवसायीलाई प्रतिस्पर्धी बनाउँदै मुलुकभित्रै रोजगार सिर्जना गर्ने संकल्पसमेत गरिएको छ । त्यसैगरी, सहकारी–सहकारीबीचको सहकार्यलाई सबल बनाई मूल्य शृंखलामार्फत प्रशोधन तथा बजारीकरण गर्दै लद्यु, मझौला र ठूला उद्योग सञ्चालन गर्नेसमेत घोषणपत्रमा उल्लेख छ ।

त्यसैगरी, सहकारीमार्फत आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्न सहकारीको योगदान वृद्धि गर्दै २०३० मा हासिल गर्ने दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकार्य र समन्वय गर्ने प्रतिबद्धतासमेत घोषणपत्रमा व्यक्त गरिएको छ । सो गोष्ठीको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका थिए भने समापन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा पूर्वमन्त्री केशव बडालले गरे । गोष्ठीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी उद्यमशीलता प्रवद्र्धनका लागि विद्यमान कानुनी व्यवस्था विषय कार्यपत्र प्रस्तुत गरे भने पूर्वमन्त्री गणेश शाहले उद्यमशीलता विकासमा नवीन प्रविधिको प्रयोग विषयक कार्यपत्र प्रस्तुत गरे । मानव चेतना एवं योग विज्ञान विशेषज्ञ डा. राजु अधिकारीले व्यावसायिक सफलताका लागि सकारात्मक सोचको विकास विषय प्रस्तुत गरे । त्यसैगरी, अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका कार्यक्रम संयोजक नवीन कर्णले सहकारी–सहकारीबीचको व्यवसाय, सम्भावना र चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उद्यमशीलता विज्ञ तथा क्यारियर परामर्शदाता तारा ढकाललले सहकारीमार्फत लद्युउद्यम प्रवद्र्धन विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

यी कार्यपत्रलगायत सहभागीहरूको बीचमा भएको छलफलको आधारमा पाँचबुँदे काठमाडौं घोषणापत्र–२०७५ जारी गरिएको हो । गोष्ठीमा सातवटै देशभरिका २३० भन्दा बढी सहकारीकर्मी, सरकारी तथा सरोकारवाला निकायको प्रतिनिधित्व रहेको थियो ।

(Visited 23 times, 1 visits today)
Loading comments...