मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

एक गाग्री पानीका लागि २ घण्टा हिँड्नु पर्ने बाध्यता

शुभाकर विश्वकर्मा
2 months ago
12/01/2019

जुम्ला । पुस ८ गते राती आगलागी भएको कालिकोटको पलाता १ खाडामा खानेपानी अभाव हुँदा समस्या भएको छ । ४२ घरदुरी मध्ये ३२ घर जलेर नष्ट भएसंगै गाउँमा खानेपानीकाे चरम अभाव देखिएको हो ।

आगलागी पछि सम्पुर्ण दैनिकी कष्टकर भईरहेका बेला धारामा पानी नै आउन छाडेपछि खाडा बासी थप समस्यामा छन् । अहिले गाउँले खानेपानी कै कारण दैनिक घण्टौ लाईन लाग्न बाध्य भएका छन् ।

आगलागी हुँदा पुरै धनमाल जलेर नष्ट भएको स्थानीय दिप बहादुर न्यौपाने छिमेकीबाट मागेर ल्याएको गाग्रीमा पानी प्रयोग गर्छन् । तर त्यही गाग्री कहिल्यै भरिएको छैन, पानी कै लागि दुई दिन कुर्नु पर्ने दुःख उनी सुनाउँछन् ।

आगोले घरबास जलाए पनि पानी नियमित नहुँदा जिन्दगी नै जाला कि भन्ने डर अर्का आगलागी पिडित जिवना न्यौपानेलाई छ । उनी जस्तै त्यहाँका सयौँ गाउँलेले यस्तो समस्या भोगिरहेका छन् । न खाने गाँस राम्रो र न पिउने पानीको व्यवस्था, राहात कै भरमा खाडा बासीको दैनिकी चलेको छ । राहात कुर्नु बाहेक अन्य विकल्प पनि छैन भन्छन्, पिडित विष्णुलाल न्यौपाने । लगाउने लुगा ल्याउँछन्, खानेकुरा ल्याउँछन् , तर पानीको राम्रो सुविधा कहिल्यै पाईएन, उनले भने ।

२ घण्टा पैदल हिड्नु पर्ने बाध्यता
खाडा बासीलाई खानेपानी कै लागि २ घण्टा पैदल हिँड्नु पर्ने बाध्यता नौलो होईन । वर्षौ देखी पानी कै कारण रातभरि जाग्राम बस्नु खाडा बासीको नियती जस्तै हो । रातभरी कुर्दा पनि पानी भर्न पाईँदैन । शासन फेरियो, व्यवस्था फेरियो, तर खानेपानीको समस्या ज्युका तिउँ छ भन्छन्, स्थानीय धर्मलाल न्यौपाने । एक गाग्री पानी कै लागि लाईन कुर्दा रात बित्छ । वर्षौदेखि यसको समाधानका लागि न सरकार न स्थानीय तह कसैले चासो नदिएको उनको भनाइ छ ।

उता पलाता गाउँपालिका कि उपाध्यक्ष दाना न्यौपानेले खाडामा रहेको खानेपानी समस्या समाधानको पहल गरिरहेको बताईन् । हामी दीर्घकालिन समाधानका लागि पहल गरिरहेका छौ, अहिले गाउँमा खानेपानी ट्याङ्की निर्माणको काम भईरहेको छ, उनले भनिन् ।

(Visited 82 times, 1 visits today)
Loading comments...