मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

प्रहरी र सेनाका पोसाकमा गुणस्तर

कौशिला कुँवर
1 week ago
13/01/2019

काठमाडौं। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले लगाउने पोसाकको गुणस्तर निर्धारण गरिने भएको छ ।
सरकारले पहिलोपटक पोसाकको उत्पादन र बिक्री मापदण्ड निर्धारण गर्न लागेको नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक अनिल शाक्यले जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रले प्रयोग गर्ने लुगा अन्य व्यक्तिको भन्दा बलियो हुनुपर्ने भएकाले पोसाकमा गुणस्तरसम्बन्धी मापदण्ड ल्याउन लागेको उनले बताए ।  नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले प्रयोग गर्ने पोसाकमा गुणस्तर मापदण्ड नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर निर्धारण गरेको हो । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रको माग आउँदा नेपाल गुणस्तर तथा नापतौल विभागले पोसाकमा मापदण्ड बनाउन थालेको शाक्यले बताए ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रले प्रयोग गर्ने पोसाक बनाउँदा ठेकेदारले बदमासी गरी कमसल कपडा प्रयोग गर्ने समस्या आएपछि मापदण्ड बनाउन थालेको हो । पोसाकमा उत्पादन बिक्री मापदण्ड बनाउँदा पोसाक बलियो हुने बताए ।
शाक्यले भने, ‘अहिले पोसाकको मापदण्ड बनाउन छलफल भइरहेको छ । मापदण्ड बनाउन पहिलो छलफल भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको संयोजकत्वमा छलफल भइरहेको छ । छलफलमा कपडा उद्योग व्यवसायी संघ, धागो उत्पादन संघ, नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरी, उपभोक्ता मञ्च, तयारी पोसाक संघ र त्रिभुवन विश्वविद्यालयका विज्ञहरुबीच छलफल भइरहेको बताए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको संख्या ठूलो भएको र नेपाल सरकारको वर्षमा पोसाकका लागि मात्र ठूलो रकम खर्च हुने भएकाले पनि विभागले नेपाल गुणस्तर निर्धारण गरी न्यूनतम मापदण्ड तयारी गर्न थालेको शाक्यले बताए ।
शाक्यले भने, ‘विभागले बनाएको मापदण्डअनुसार आयात हुने र स्वदेशमा निर्माण गर्ने उद्योगीले न्यूनतम मापदण्ड पूरा गर्नैपर्छ ।’ विभागका अनुसार नेपाली बजारमा बिक्री हुने नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रले प्रयोग गर्ने पोसाक कमसल पाइने बताए ।

हाल प्रयोग भइरहेको पोसाक कमलस हुँदा सामान्य चोटपटक लाग्दा पनि च्यातिने समस्या छ । पोसाक उत्पादन बिक्री गुणस्तर मापदण्डमा छलफल भइरहेकाले पोसाक गुणस्तर निर्धारण भइनसकेको विभागका निर्देशक शाक्यले बताए । उनका अनुसार मापदण्ड तय हुन अझै कम्तीमा ६ महिना लाग्नेछ ।
प्रहरी प्रधान कार्यालयले जानकारी दिएअनुसार नेपाल प्रहरीको पोसाकका लागि वर्षमा करिब डेढ करोड बजेट लाग्ने बताए । सुरक्षा निकायका आआफ्ना नियमावलीअनुसार विभागले मापदण्डको तयारी गरिरहेको छ ।

(Visited 57 times, 1 visits today)