मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

कांग्रेस जनप्रतिनिधिद्वारा नगरसभा बहिष्कार, नगर प्रमुखले गरे सडकमै पत्रकार सम्मेलन

दिनेश थापा
2 months ago
13/01/2019

 

सिन्धुपाल्चोक । नगरसभा गरेर नगरपालिकाभित्र गर्नुपर्ने विकास निर्माणलगायतका अन्य काममा निर्णय लिनुपर्नेमा बाह्रबिसे नगरपालिकाका बहुमत सदस्यले नगरसभा बहिष्कार गरेपछि काम गर्न समस्या भएको भन्दै नगर प्रमुख निमफुञ्जो शेर्पाले सडकमै पत्रकार सम्मेलन गरेका छन् । बहुमत सदस्यले पटकपटक नगरसभा बहिष्कार गरेपछि काम गर्न समस्या भएको भन्दै नगर प्रमुख शेर्पाले पत्रकार सम्मेलन गरेका हुन् ।

बाह्रबिसे नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ को संसोधित नगरसभा शुक्रबार बस्ने भन्दै नगर कार्यपालिकाका सबै सदस्यलाई पत्राचार गरेको थियो । तर, नेपाली कांग्रेसबाट निर्वाचित बहुमत सदस्यले नगरसभा बहिष्कार गरेपछि जनताका प्रत्यक्ष जनजीविकासँग सम्बन्धित निर्णय गर्न समस्या भएको बाह्रबिसे नगरपालिकाका नगर प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए ।

यसअघि पनि कांग्रेसबाट निर्वाचित कार्यपालिका सदस्यले बैठक बहिष्कार गर्ने गरेको शेर्पाको आरोप छ । ‘डेढ वर्षको बीचमा तीनपटक बैठक बहिष्कार भयो, जनतालाई जानकारी दिनका लागि पनि सडकमै पत्रकार सम्मेलनको आयोजना गरेको हो,’ नगर प्रमुख शेर्पाले भने, ‘हामी जनताबाट निर्वाचित भएका हौं त्यसैले केही समस्या हँुदा जनतालाई सार्वजनिक स्थानबाटै जानकारी दिऊँ भनेर सडकमै पत्रकार सम्मेलन आयोजना गरेका हौं ।’

संसोधित नगरसभामा नगरपालिकाले आयोजना गर्ने एकीकृत घुम्ती सेवा, म्याचिङ फन्डलगायतका विभिन्न एजेन्डामा छलफलका लागि कार्यपालिका सदस्यलाई पत्र पठाइएको नगरपालिकाले जानकारी दिएको छ ।

बाह्रबिसे बजारमा सयौं स्थानीयबीच आयोजित पत्रकार सम्मेलनमा बाह्रबिसे नगरपालिकाका नगर प्रमुख शेर्पाले कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यलाई कोठामा बन्धक बनाएर बैठकमा सहभागी हुन नदिएको आरोप लगाए ।

नागरिकको दैनिक जीवनसँग सम्बन्धित सेवा प्रवाह, विकास निर्माणका कार्य गर्नुपर्ने बेलामा यसरी बैठक बहिष्कार गर्नु र गराउन लगाउन दुःखद भएको शेर्पाले बताए । ‘विकासमा त मिलेर जाने हो, प्रतिस्पर्धा त राजनीतिमा गर्नुपर्छ,’ शेर्पाले भने, ‘यस्तै हो भने अब केही पनि काम गर्न सकिँदैन ।’

कांग्रेसका केन्द्रीय सदस्य र पूर्वमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले विकास निर्माणमा अवरोध गर्दा नगरवासीमा गलत सन्देश गएको शेर्पाको भनाइ थियो । पत्रकार सम्मेलनमा बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले बाह्रबिसे नगरभित्र अझै पनि केही व्यक्तिले निरन्तर काममा अवरोध गर्न खोजेको बताइन् । ‘हामी बाह्रबिसेलाई समृद्ध नगर बनाउने अभियानमा निरन्तर लागिरहेका छौं तर केही मान्छे निरन्तर अवरोधमा लागेका छन्,’ उपप्रमुख पाख्रिनले भनिन् । बाह्रबिसेका स्थानीयले विकासमा खुट्टा तान्ने भन्दा पनि मिलेर अघि बढ्नुपर्ने बताए ।

यसैबीच, नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले भने आफूहरूले बैठक बहिष्कार नगरेको बरु नगर कार्यविधि संशोधन गर्नुपर्छ भनेको बताए । वडा नम्बर २ का वडाध्यक्ष बमबहादुर तामाङले भने, नगरपालिकाले बनाएको नगर कार्यविधि बनाउँदा हामीहरूको कुरा सुनुवाइ भएन, त्यही भएर हामीले पटकपटक यो संशोधनका लागि कुरा उठाएका हौं ।’

आफूहरूलाई कसैले बन्धक नबनाएको बरु कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सहभागितामा बैठक भएको तामाङले बताए । यता, नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले सबैको सहमतिमै यसअघि नै नगर कार्यविधि बनाएको बताए ।

सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये दुई नगरपालिका र पाँच गाउँपालिकामा पूर्व एमालेले जितेको थियो । त्यस्तै, पूर्वमाओवादीले एक नगरपालिका र एक गाउँपालिका जितेको थियो भने नेपाली कांग्रेसले तीनवटा गाउँपालिकामा जितेको थियो ।

पूर्वएमालेले जितेका सातमध्ये बाह्रबिसे नगरपालिका, बलेफी गाउँपालिका र लिसंखुपाखरमा बहुमत थिएन । पछि एमाले र माओवादी एकीकरण भएपछि भने बलेफी र लिसंखुपाखरमा बहुमत भए पनि बाह्रबिसेमा भने नेपाली कांग्रेसको बहुमत रहेको छ । १२२ स्थानीय तहमा नेकपाले जितेका नौ स्थानीय तहमध्ये आठ तहमा बहुमत छ भने बाह्रबिसे नगरपालिकामा मात्रै बहुमत छैन । बाह्रबिसे नगरपालिकामा नेपाली कांग्रेसले जति समस्या बनाएको छ, त्यस्तै समस्या इन्द्रावती गाउँपालिकामा नेकपाले बनाएको छ ।

इन्द्रावती गाउँपालिकामा नेपाली कांग्रेसले निर्वाचन जिते पनि कार्यपालिकाको बहुमत भने नेकपाको रहेको छ । त्यहाँ पनि बेलाबखत यस्तै समस्या हुने गरेको छ । बाह्रबिसे नगरपालिकाको नगरसभामा ५० मध्ये कांग्रेसका २८ र नेकपाका २२ सदस्य रहेका छन् । बहुमत सदस्य विपक्षमा भएपछि नगरका धेरै काम गर्न समस्या भएको र अब बैकल्पिक उपायको खोजी गरेर नगरमा भइरहेका समस्यालाई अन्त्य गर्न आफूहरू लागेको नगर प्रमुख शेर्पाले बताए ।

(Visited 64 times, 1 visits today)
Loading comments...