मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

सामुदायिक क्याम्पसलाई जग्गा दान

राजधानी समाचारदाता
2 months ago
13/01/2019

 

धादिङ। धादिङको धुनीबेंसी नगरपालिकाकै एक मात्र क्याम्पस मच्छिन्द्र बहुमुखी क्याम्पसलाई पाँच रोपनी जग्गा निःशुल्क प्रदान गरिएको छ । धुनीबेंसी नगरपालिका–७ खानीखोलाका मुरारी गिरीले सामुदायिक क्याम्पसको भवन निर्माणका लागि पाँच रोपनी जग्गा दान गरेका हुन् ।

‘जननी जन्म भूमिश्च स्वर्गदपी गरियसी’ भनेझैं ज्ञानको मन्दिरले भवन अभावमा समस्या झेलिरहेको देखेर आफूले जग्गा दिएको गिरीले बताए । ‘आफू जन्मेको हुर्केको ठाउँमा आफ्नै छोराछोरी क्याम्पसमा पढेका छन् तर भवन अभावका कारण माद्यमिक विद्यालयको भवनबाट क्याम्पस चलिरहेको छ,’ उनले भने, ‘मैले २ कक्षाभन्दा बढी पढ्न पाइनँ तर यो ठाउँका युवा उच्च शिक्षा अध्ययनका लागि अन्यत्र जानु नपरोस्, घरबाटै हिँडेर सस्तो सर्वसुलभ रूपमा शिक्षा लिन सकुन् भन्ने सोचले जग्गा दिएको हुँ ।’ अहिलेको जमानामा शिक्षा नै ठूलो कुरा रहेकाले भावी पुस्ताले आफूले जस्तो समस्या झेल्न नपरोस् भनेर क्याम्पसका लागि जग्गा दान गरेको गिरीले बताए ।

आफ्नै भवन अभावमा माद्यमिक विद्यालयको भवनबाट क्याम्पस चलिरहेको छ । केही वर्षअघि भवन बनाउन क्याम्पसले महायज्ञसमेत लगाएको थियो । महायज्ञमा दान दिन्छु भन्नेले अहिलेसम्म दिएका थिएनन् । तर, मुरारी गिरीले पाँच रोपनी जग्गाको लालपुर्जा क्याम्पस सञ्चालक समितिलाई हस्तान्तरण गरिसकेका छन् । अहिलेको बजार मूल्यअनुसार करिब ५० लाख रुपैयाँ पर्ने जग्गा क्याम्पस बनाउनका लागि गिरीले निःशुल्क पास गरिदिएका हुन् ।

आफ्नै भवन नहुनु र अन्य समस्याका कारण स्थानीय स्तरमा स्नातक तहसम्मको अध्यापन गराउन ठुलै संघर्ष गर्नुपरेको मछिन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सीताराम कोइरालाले बताए । क्याम्पसलाई दिगो रूपमा सञ्चालन र व्यवस्थापन गर्नका लागि मास्टर प्लानसमेत बनाएर अघि बढे पनि भवनको अभावले धेरै समस्या झेल्नुपरेको उनको भनाइ छ । जग्गा पाएकाले अब छिट्टै नयाँ भवन निर्माणका लागि पहल थाल्ने उनले बताए ।

‘हामीलाई भवन निर्माण गर्न सहयोग गर्नुप¥यो भनेर धेरै ठाउँमा सहयोग माग्न गइयो,’ कोइरालाले भने, ‘तर, जहाँ गए पनि आफ्नै जग्गा नभएकाले रित्तै फर्कनुपरेका थुप्रै अनुभव छन् ।’ अब क्याम्पसको आफ्नै नाममा लालपुर्जा नै बनेकाले भवन निर्माणका लागि पहल थालिहाल्ने उनको भनाइ छ ।

सामुदायिक विद्यालय होस् या क्याम्पसमा प्रायः दलित, जनजाति तथा विपन्न वर्गका मानिसहरू अध्ययन गर्न आउने गर्छन् । तर, सामुदायिक शैक्षिक संस्थाहरू सबैका लागि शिक्षासँगै अब गुणस्तरीय शिक्षामा जोड दिन थालिसकेका छन् । भौतिक संरचनासँगै आफूहरू पनि गुणस्तरीय शिक्षामा जोड दिने सहायक क्याम्पस प्रमुख कोइरालाले बताए ।

 

(Visited 218 times, 1 visits today)
Loading comments...