मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

संघीय निजामती सेवा विधेयक लोकसेवा जाँदै, प्रदेश र स्थानीयमा नियुक्त कर्मचारी केन्द्रमा आउन पाउने

सागर पण्डित
1 week ago
13/01/2019

 

 

काठमाडौं । प्रदेश लोकसेवा आयोगबाट नियुक्त भएका प्रदेश र स्थानीय तहका कर्मकचारी अन्तरसेवा प्रतिस्पर्धाबाट केन्द्रमा आउन पाउने भएका छन् । सरकारले तयार पारेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा प्रदेश र स्थानीय तहमा नियुक्त कर्मचारीलाई केन्द्रमा आउन सक्ने सहज बाटो खुला गरिएको हो ।

प्रदेश लोकसेवा आयोग गठन भएपछि प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको भर्ना प्रदेश लोकसेवा आयोगले गर्नेछ । त्यसरी भर्ना भएका सबै कर्मचारी अन्तरसेवा प्रतिस्पर्धाबाट केन्द्रमा आउन सक्ने भएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा तयार पारेको संघीय निजामती सेवासम्बन्धी विधेयकलाई परामर्शका लागि लोकसेवा आयोगमा पठाइने भएको छ । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले सो विधेयकलाई परामर्शका लागि लोकसेवा आयोगका पठाउने मन्त्रालयले जनाएको छ ।

संघीय निजामती सेवा विधेयकमा प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई संघमा आउने वृत्ति विकासका सबै अवसर खुला गरिएको छ । यसैगरी, विधेयक हालको स्वास्थ्य सेवा ऐनलाई खारेज गरी संघीय निजामती सेवा ऐनमा नै समाहित गर्ने व्यवस्था मिलाइएको छ । सोअनुसार अब स्वास्थ्य सेवातर्फको छुट्टै क्लस्टर हुनेछैन । स्वास्थ्य सेवा ऐन खारेज भएपछि श्रेणीगत र तहगत व्यवस्था सम्बन्धमा समकक्षता कायम गरिने भएको छ । विधेयकमा स्थानीय तहको प्रमुख प्रशासकीय पदलाई संघीय पदमा राखी अधिकृत नियुक्तिको छुट्टै मापदण्ड बनाइएको छ ।

यसैगरी, संघ तथा प्रदेश र स्थानीय तहमा नियुक्त हुने सबै कर्मचारीलाई योगदानमा आधारित पेन्सनको व्यवस्था गरिएको छ । प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारीसम्बन्धी कानुनका लागि आवश्यक पर्ने मापदण्डसमेत विधेयकमा व्यवस्था गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सो विधेयक लोकसेवा आयोगबाट स्वीकृत भएर आउनासाथ मन्त्रिपरिषद्बाट स्वीकृत गराई संसद्मा दर्ता गरिनेछ । सम्भवतः एक साताभित्रै सो विधेयक संसद्मा पेस गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

(Visited 764 times, 9 visits today)