सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

प्राकृतिक सम्पदा दोहन

राजधानी समाचारदाता
6 months ago
13/01/2019

 

नेपालका करिब ६ हजार नदीनाला दोहनको चर्को मारमा छन् । ती नदीनाला सेटिङमै दोहन भइरहेका छन् । पछिल्लो चरणमा नेपाल भत्रिएका डोजर, टिपर, ट्याक्टर नदीमा सजिलैसँग जान सक्ने र चाहे जति बालुवा, गिट्टी तथा ढुंगाहरू निकालेर ल्याउन र उपयोग गर्न सकिने भएकाले नदीहरू असीमित दोहनको मारमा परेका हुन् । यसका साथै नेपालको भूगोल चट्टानी, भिरालो तथा गेगर मिसिएको हुनाले चाहे जति विभिन्न थरीका निर्माण आइटम नदीबाटै पाउन सकिने भएकाले पनि नदी दोहन पहिलो नम्बरमा पर्न गएको हो । दोस्रो कारण हो, नेपालमा भौतिक निर्माण तथा विकासको नयाँ  ‘प्याटर्न’ सुरु भएको छ । सिमेन्ट तथा छड प्रयोग गरेर भौतिक निर्माणका काम धमाधम सुरु भएका छन् । आरम्भमा सहरका केही सीमित क्षेत्रमा देखिएको भौतिक निर्माणको यो नयाँ प्याटर्न २०७२ सालको भूकम्पपछि त गाउँगाउँमा पनि सरेको छ ।
सरकारले सिमेन्ट तथा छड प्रयोग गरेर घर निर्माणका लागि सिफारिस गर्ने गरेको छ । पुरानो शैली, पुराना निर्माण सामग्री र निर्माणमा माटो तथा काठभन्दा पनि सिमेन्ट र छड प्रयोगले व्यापकता पाउँदै गएको छ । यसले पनि निर्माण सामग्रीका लागि नदी दोहनमा नै आकर्षित र बाध्य दुवै बनाएको छ ।

निर्माणमा नयाँ प्रयोगसँगै देशभर ठेक्कापट्टा निकै प्रचलित छ । राष्ट्रिय तथा स्थानीय ठेकेदारको दुहुनो गाई यही नदी दोहन नै बन्न गएको छ । खण्ड वा टुक्रे ठेक्का लिने पेटी ठेकेदार तथा बिचौलियाको निकै बिगबिगी बढेको छ । यो प्रक्रियामा बिचौलिया स्थानीय नै हुने भएकाले नदी दोहन चोरेर, ढाँटेर, ठगेर अनि दिनरात जहिल्यै पनि चलिरहेको छ । ती बिचौलियाको प्रभावमा केन्द्रीय तथा स्थानीय नेता तथा कर्मचारी पर्ने गरेका छन् । यसले नदी दोहनमा हुन सक्ने नियमन, अनुगमन तथा निगरानीलाई हावामा उडाइदिएको छ । क्रसर मेसिन नदी किनारामा खडा छन् । कतिपय त दर्तासम्म पनि गरिएका छैनन् र अवैध रूपमा सञ्चालित छन्् । यो प्रक्रिया नेपालभर व्याप्त छ ।

हाल स्थापना भएका तीन तहका सरकारले नदी दोहन गर्न दिएर त्यहाँबाट मनग्यै कर उठाउने नीति, नियम र कार्यक्रम ल्याएका छन् । यसले नदी दोहनमा भइरहेको अवैधानिक प्रक्रियालाई वैधानिकताको च्यादर त ओढाउला तर नदी दोहनको अप्राकृतिक प्रक्रियालाई रोक्न सक्नेछैन । यसले त बरु नदी दोहनको प्रक्रियालाई अझ तीव्रता दिनेछ । यसले अनियमितता र अप्राकृतिक दोहनलाई वैधानिक मात्र बनाउनेछ । हाल नदीमा बढेको दोहन प्रक्रियाले प्राकृतिक मूल सुक्न थालेका छन् । नदीको पानी सुक्न थालेको छ । सतहको बहावमा पानीको मात्रा निकै कम हुँदै गएको छ । प्राकृतिक सन्तुलनमा निकै असन्तुलन आएर अनावृष्टि, खण्डवृष्टि तथा अतिवृष्टिलाई निम्त्याइरहेको छ । नदीका वरपर रहेका खेतबारी बाँझो रहन पुगेका छन् । यदि भविष्यलाई नदेख्ने हो र भावी सन्तानलाई नसम्झने हो भने त ठीकै होला पनि तर उन्नति, समृद्धि र विकासका नाममा जे गरिरहेका छौं, त्यो भावी सन्ततिका लागि हो भने नदी दोहन रोकेर वैकल्पिक उपाय खोज्नु जरुरी छ । नदी दोहन बन्द गरियोस् ।

(Visited 82 times, 1 visits today)
Loading comments...