मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

डा. गोविन्द केसीको पक्षमा प्रदर्शन

राजधानी समाचारदाता
2 months ago
13/01/2019

 

काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीको पक्षमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । सोलिडारिटी फर डा केसी एलायन्सको अगुवाइमा प्रदर्शन आयोजना गरिएको हो । तीन करोड नेपालीको एउटै प्रश्न, सरकार जनताको हो कि माफियाको ? सधैंसधैं झुक्याउने कहिलेसम्म हो ? लाज पचाउनेलगायतका प्लेकार्डसहित समर्थक माइतीघरमा भेला भएका थिए ।

सरकारले विगतमा गरेको सहमतिअनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने डा. केसीको माग छ । विभिन्न ६ बुँदे माग राखेर उनी बुधबारदेखि इलाममा अनशनरत छन् । यस्तै, नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाका लागि विशेष पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

संघले अनशन बस्दा डा. केसीको शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकै बेला अप्रिय घटना घट्न सक्नेतर्फ सचेत गराउँदै आमरण अनशनलाई सदाका लागि अन्त्य गर्ने सुनिश्चित वातावरण तयार गर्नसमेत सरकारसमक्ष माग राखेको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै संघले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई नागरिकहरूको सहज पहुँचका लागि डा. केसीले थालेको कदम उचित भएको भन्दै उनीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ ।

तर, डा. केसीसँग गरिएको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतले पारित भइसकेको छ ।

(Visited 28 times, 1 visits today)
Loading comments...