सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

विवेकशील साझा पार्टी विभाजन, मिश्रद्वारा फेरि एक भएर अघि बढ्न आग्रह

सविन शर्मा
6 months ago
13/01/2019

 

काठमाडौं। विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टी छाडेर नयाँ दल दर्ता प्रक्रियामा पुगेका पूर्वसंयोजक उज्ज्वल थापालाई फेरि एक भएर सँगै यात्रा गर्न आग्रह गरेका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै उनले कुनै आग्रह र पूर्वाग्रह नभएकाले देश बनाउन सँगै हिँड्नुपर्ने बताए ।

‘कुनै आग्रह, पूर्वाग्रह छैन । आउनुस्, सँगै हिँडौं,’ संयोजक मिश्रले भने, ‘संवाद नगरी हुँदैन । नजानेको यात्रामा सँगै हिँड्दा हाम्रा तर्फबाट पनि कमजोरी भयो होला, छोडेर जानुभएका साथीबाट पनि कमजोरी भयो होला ।’

सँगै हुँदा देश र बाहिर बस्ने साथीहरू उत्साहित भएको र अहिले छाडेर जाँदा उत्साहमा चिसोपन आएको उनले बताए । नयाँ पार्टी दर्ता गर्न लागेकामा मिश्रले थापालाई शुभकामना पनि दिए । ‘अहिले छुट्टिएको भए पनि हेरिराख्नुस्, देश रूपान्तरण गर्ने हामी नै हुनेछौं,’ उनले भने, ‘कुनै बिन्दुमा फेरि एक हुन्छौं ।’ उनले अब पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने बताए ।

पार्टी आफ्नो मार्गबाट विचलित नभईकन अगाडि बढ्ने मिश्रको भनाइ छ । ‘हामी मूल्य मान्यतासहित अगाडि बढ्नेछौं,’ उनले भने, ‘विधि र प्रक्रियासहित संगठन विस्तारमा लाग्नेछौं । सदस्यता विस्तार र नीतिपत्र

बनाउन लाग्छौं ।’

प्रमुख राष्ट्रिय मुद्दाहरूमा हस्तक्षेप गर्ने गरी पार्टीलाई अघि बढाउने उनले बताए । ‘पार्टी फुटबाट हामी दुःखी छौं तर हाम्रो यात्रा अवरुद्ध हुँदैन,’ उनले भने, ‘देशभरि राजनीतिक संगठन पूर्वाधार निर्माण गर्छौं ।’ राजनीतिक यात्रालाई सशक्त रूपमा अगाडि बढाएर लक्ष्य हासिल गरेरै छोड्ने उनले बताए ।

पूर्वसंयोजक थापाले पेस गरेको प्रतिवेदनमाथि सोमबार छलफल गर्न केन्द्रीय समिति बैठक बोलाए पनि पत्तै नदिई पार्टी छाडेकामा आफू आश्चर्यमा परेको मिश्रले बताए । नेपाली समाजको धरातलीय विरोधाभास र जटिलताहरू वैकल्पिक पार्टी निर्माणमा पनि आउने भन्दै त्यस्ता प्रतिकूलताबाट आफूहरू माथि उठ्ने दाबी गरे । आर्थिक पारदर्शिताबारे आफूहरूमाथि अनेक आक्षेप लगाएको भन्दै त्यसबाट आफू निकै दुःखी भएको

उनले बताए ।

‘छोडेर जाने साथीहरूले जस्तो आरोप लगाउनुभयो, त्यसको मैले कुनै पनि मिडियाबाट जवाफ दिएको छैन,’ उनले भने, ‘एक घरभित्रको विवाद चौतारीमा छताछुल्ल पार्ने पक्षमा छैन भनेर एक शब्द पनि बोलिनँ । उहाँहरूको आरोपबाट म एकदमै दुःखी भएको छु ।’

‘हामीले एक महिनामा १२ लाख रुपैयाँ उठायौं,’ मिश्रले भने, ‘हरेकको रेकर्ड छ । त्यो फेसबुक, पार्टीको वेभसाइटमा पनि छ । गत वर्षको आय–व्ययको अडिट रिपोर्ट पनि वेभसाइटमै राखेका छौं । यो भन्दा पारदर्शिताको कुरा के हुन्छ ?’ उनले पार्टी फुट पछिको सम्पत्ति बाँडफाँटको कुरा प्राविधिक र कानुनी भएको भन्दै त्यसबारे अझ सोधखोज गरेर मिलाउने बताए ।

पार्टीमा आएको फुटपछि आयोजित पत्रकार सम्मेलनमा विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्य भक्कानिए । शनिबार पार्टी कार्यालय बखुण्डोलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी फुटेकोबारे जानकारी गराउँदा गराउँदै उनी भक्कानिएका थिए ।

पार्टी संयोजक मिश्रले बोल्न ढाडस दिएपछि आफूलाई पुनः सामान्य अवस्थामा उनले फर्काएका थिए । उनले पार्टीमा पछिल्लो समय अस्वाभाविक ढंगले घटनाक्रम बढेको बताउँदै पार्टी फुटको घटनाले आफूहरू स्तब्ध भएको बताए ।

 

(Visited 76 times, 1 visits today)
Loading comments...