मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

समीक्षाको गीत सुनेर घर फर्किएका पिता

राजधानी समाचारदाता
2 months ago
13/01/2019

 

काठमाडौं। दुई वर्षअघि चलचित्र नाई नभन्नु ल ५ को बालापनको उमेर…गीतले पोखराकी समीक्षा अधिकारीलाई चर्चामा ल्याएको थियो । त्यसपछि हराएकी समीक्षा दुई सातायताबाट केही युट्युब च्यानलमा गीत गाउँदै अन्तर्वार्ता दिएर निकै चर्चामा रहिन् ।

यिनै गायिकाले यतिबेला नयाँ गीत वनमा काफल पाक्यो बाबा…रेकर्ड गराएर यसको भिडियो स्रोता दर्शकमाझ ल्याएकी छन् । उनको बुबा वैदेशिक रोगजारको सिलसिलामा कतारमा थिए । छोरीले घर फर्की आउनु बाबा भन्दै यो विरहको गीत रेकर्ड गराएर यसै साता बुबा पनि घर फर्किएका छन् ।

आफ्नो बुबा, दिदीसहित परिवारका सदस्य र सांगीतिक टिमसँग काठमाडौंमा शुक्रबार एक समारोहबीच समीक्षाले आफ्नो यो गीतको भिडियो सार्वजनिक गरेकी छिन् ।

यसअघि नाई नभन्नु ल ५ को सो बालगीत गाउन समीक्षालाई अवसर दिएका संगीतकार वसन्त सापकोटाले अहिले किशोरी भएकी समीक्षालाई पोखराबाट काठमाडौं बोलाएर यो गीत उनको स्वरमा रेकर्ड गराएका छन् ।

गीतको भिडियोमा समीक्षाले आफू र वसन्त सापकोटाले समीक्षाको बुबाको भूमिका निर्वाह गरेका छन् । भिडियोलाई सरोज ओलीले निर्देशन गरेका हुन् । गीतलाई दिनेश थपलियाले लेखेका हुन् । गीतले रोजगारीको सिलसिलामा विदेश बस्ने बुबा र स्वदेशमा बस्ने सन्तानको कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ । घर फर्किएका समीक्षाका बुबाले अब नेपालमै बसेर छोरीको उज्ज्वल भविष्यका लागि केही गर्ने बताएका छन् ।

 

 

(Visited 181 times, 1 visits today)
Loading comments...