मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

संगीतमा भविष्य खोज्दै

राजधानी समाचारदाता
1 week ago
13/01/2019

काठमाडौं । नातामा काका पर्ने रत्न बानिया लोक गीत गाउँथे । घरमै थियो रेडियो । आफ्नै रेडियोमा आफ्नै काकाको गीत नसुन्ने कुरा भएन । काकाकै गीत सुन्दासुन्दै डायरीमा शब्द कोर्न थाले निशान बानियाले ।

निशान सानै थिए । काका रत्नलगायतका अन्य स्रष्टाका पनि गीत सुन्थे र आफू पनि त्यस्तै गीत लेख्ने प्रयास गर्थे । डायरीमा थरिथरिका गीत लेखे । एउटा डायरी भरियो । आफूले गीत लेखेको कुरा काकालाई भन्ने आँट थिएन । काका चर्चित गायक थिए । गीत लेखेको कुरा सुनाउँदा केही भन्ने पो हुन् कि । एकखालको डर थियो मनमा ।जब एसएलसी दिए । काठमाडांै आए र काकाकै साथमा बसे । आफूसँगै गीत लेखेको डायरी पनि बोकेर आए । काकाको आँखा डायरीमा प¥यो । पल्टाएर हेरे । थुप्रै गीत थियो । डायरी पढिसकेपछि काकाले सोधे, ‘यो कसले लेखेको ?’ निशानले भने ‘सबै म आफैंले लेखेको ।’

काकाले फेरि भने, ‘पहिल्यै किन नभनेको ? मलाई देखाउनु पर्दैन ?’ भतिजले गीत लेख्दोरहेछ भन्ने जानकारी पाएपछि रेकर्डिङको मेसो पनि उनैले मिलाइदिए । कुलेन्द्र विक र देवी घर्तीको स्वरमा पहिलो गीत रेकर्ड गराए । गीत राम्रै चल्यो । त्यसपछि यो संसारमा छैन शीर्षकको अर्को गीत रेकर्ड भयो मुना थापा मगरको स्वरमा । दोस्रो गीत सार्वजनिक भए लगत्तै उनी गीतकारका रूपमा दरिए । त्यसपछि काकाको साथ खोजिरहन परेन । गायक गायिका आफैंले भन्न थाले ‘मलाई यस्तो खालको गीत लेखिदिनुहोस् ।’

उनलाई अहिले पनि याद छ । पहिलोपटक गीत लेखेवापत १५ सय पारिश्रमिक पाएका थिए । अहिले एउटा गीतको ७ हजार पारिश्रमिक माग्छन् । उनको अनुभवले भन्छ, ‘गीत लेखिसकेपछि पारिश्रमिक लिन भने त्यति सजिलो छैन,’ उनी भन्छन् ‘लौन रेट मिलाइदिनुहोस् भन्नेहरू पनि छन् ।’

मुलुकमा सहरको दायरा फराकिलो हुँदै गए पनि गीतलेखनको दायरा भने साँघुरिदै गएको अनुभव गरेका छन् । ‘कोठामै बसेर लोकगीत लेख्नुपर्ने बाध्यता छ ।’ मौलिक शब्द खोज्नकै लागि भए पनि हरेक महिना गाउँ पुग्ने गरेको उनले दाबी गरे ।

गीतकार प्रायः नेपथ्यमै हुन्छन् । नेपथ्यमा रहेर मात्रै करिअर बन्दैन भन्दै निर्देशन यात्रा पनि सुरु गरेका छन् । उनको निर्देशन यात्रा संगीतकर्मीकै कारण सुरु भएको थियो । जब पहिलो पटक उनी गीतको भिडियो बनाउने प्रस्ताव राख्दै एक जना चलेका निर्देशककोमा पुगे । उनको कोटेसन हेरिसकेपछि लाग्यो । ‘यत्रो पैसा किन बुझाउने ? यति पैसा खर्च गर्दा म पनि राम्रै काम गर्न सक्छु ।’

निर्देशनसम्बन्धी धेरथोर ज्ञान पनि थियो । पैसा त खर्च हुन्थ्यो नै, आफ्नो सोचअनुसार भिडियो बन्ने निश्चित पनि थिएन । उनले सोचें, ‘आफैंले भिडियो बनायो भने आफ्नै सोचअनुसार काम गर्न पाइन्छ ।’ उनी भन्छन्, ‘आफ्नो काम आफै गर्दा छुट्टै मज्जा आउने रहेछ ।’

उनी खासमा फार्मेसीका विद्यार्थी हुन् । फार्मेसीको पढाइसकेपछि दाम प्रशस्तै पैसा कमाउन सकिने सम्भावना देखेका छन् । उनलाई लाग्छ, ‘दामअनुसारको नाम छैन ।’ नामको भोकले गीतलेखन र निर्देशनमा लागेका निशानलाई लाग्छ, ‘भविष्यमा फार्मेसीको काम सुरु गरे पनि सिर्जनाको खेती छोड्दिनँ ।’

 

 

(Visited 43 times, 1 visits today)