मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

काँकडभिट्टा खप्तड गोल्डकपको सेमीमा

दीपक ओली
2 months ago
13/01/2019

 

धनगढी । मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार धनगढी रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा काँकडभिट्टाले एपीएफलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । काँकडभिट्टाले खेलमा पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । खेलको नवौं मिनेटमा युवराज खड्काको गोलबाट एपीएफ खेलमा अघि बढेको थियो । श्याम नेपालीले दिएको लामो पासलाई युवराजले गोलमा परिणत गरेका थिए । २६औं मिनेटमा विश्वास श्रेष्ठले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई एपीएफका गोलरक्षक राजु योगीले उत्कृष्ट डाइभ दिँदै बचाएपछि सम्भावित बराबरी टारेका थिए । ४१औं मिनेटमा विश्वास श्रेष्ठले बराबरी गोल फर्काए । विशाल राईले दिएको थ्रु पासमा विश्वासले गोलरक्षकलाई समेत छलाएर खाली पोस्टमा गोल गरेको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एपीएफका गोलरक्षक राजु योगीले विश्वास श्रेष्ठको फ्रिकिक बचाउने प्रयासमा फुत्काएपछि रिबाउन्डमा कप्तान खामिरले बललाई पोस्टको दिशा दिन नसक्दा पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा दुवै टोलीले गोलका केही मौका खेर फालेको थियो । ६१औं मिनेटमा काँकडभिट्टा अग्रता लिनबाट चुक्यो । विष्णु सुनारको फ्रिकिकमा विशाल राईले अफसाइड ट्याप बिट गरे पनि बललाई पोस्टको दिशा दिन सकेनन् । खेलको तीन मिनेट समय बाँकी रहँदा काँकडभिट्टाले अग्रता लियो ।कर्नरमा आएको बल रिबाउन्ड भएपछि विकास राईले ६ यार्ड बक्स नजिकबाट गोल गर्दै काँकडभिट्टालाई २–१ को जित दिलाए ।

 

(Visited 20 times, 1 visits today)
Loading comments...