मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

एपीएफलाई सिजनको छैटौं उपाधि

राजधानी समाचारदाता
1 week ago
13/01/2019

 

काठमाडौं। महिला भलिबलमा सर्वाधिक सफल टोली विभागीय टोली नेपाल एपीएफ क्लबले सिजनको छैटौं  उपाधिका रूपमा दोस्रो संस्करणको होङवान्जी न्यु डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता जितेको छ ।

नैकापस्थित न्यु डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शनिबार भएको फाइनलमा एपीएफले साविकको विजेता तथा आयोजक न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा पराजित गर्दै सिजनको छैटौं उपाधि जितेको हो । फाइनलमा डायमन्डलाई पराजित गरेसँगै एपीएफले गत वर्ष फाइनलमा भोगेको हारको बदलासमेत लिएको छ । गत संस्करणमा एपीएफ डायमन्डसँगै पराजित भएको थियो ।

एपीएफले यसअघि शेरबहादुर खड्का स्मृति खुला महिला भलिबल प्रतियोगिता, सभामुख कप भलिबल प्रतियोगिता, एनभीए क्लब लिग च्याम्पियनसिप, तीज कप पोखरा र बागलुङमा भएको एनभीए महिला भलिबल लिगको उपाधि जितेको थियो । यता, न्यु डायमन्ड भने फाइनलमा लगातार एपीएफसँग चुक्यो । सभामुख कपबाहेक सबै प्रतियोगितामा न्यु डायमन्ड फाइनलमा एपीएफसँगै पराजित हुन पुग्यो ।

घरेलु मैदानमा न्यु डायमन्डले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै खेलमा अग्रता बनाएको थियो । तर, त्यसपछिको तीनै सेट डायमन्डले गुमाउन पुग्यो । दोस्रो सेट न्यु डायमन्डले २१–२५ ले गुमाएपछि खेल १–१ को सेटको बराबरीमा पुगेको थियो  रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा एपीएफ २५–२३ ले विजयी भएपछि खेलमा २–१ को अग्रता बनायो । चौथो सेटमा एपीएफ २५–१८ ले सहजै विजयी हुन सफल भयो । फाइनलमा न्यु डायमन्डकी प्रतिभा मालीले स्पाइकबाट ३६, ब्लक र सर्भिसबाट समान ३–३ अंक जोडेकी थिइन् । एपीएफकी सरस्वती चौधरीले स्पाइकमा २८, ब्लकमा १ र सर्भिसबाट २ अंक जोडेकी थिइन् ।

यसअघि शनिबारै विभागीय नेपाल पुलिस क्लबले टप्स मावि पोखरालाई २५–११, २५–२१ र २५–१४ ले पराजित गर्दै तेस्रो स्थान हात पार्न सफल भयो ।

च्याम्पियन बनेसँगै एपीएफले ३ लाख १ हजार रुपैयाँसहित सिल्ड र मेडल प्राप्त ग¥यो  दोस्रो भएको न्यु डायमन्डले २ लाख १ हजार रुपैयामा चित्त बुझायो । तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख १ हजार तथा चौथो भएको टप्सले ५१ हजार रुपैयाँ हात पा¥यो ।

एपीएफकी सरस्वती चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिँदा व्यक्तिगत विधातर्फ न्यु डायमन्डले वर्चस्व जमायो । सरस्वतीले १५ हजार रुपैयाँ हात पार्दा व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीले जनही ५–५ हजार रुपैयाँ हात पारे ।

विजयी टिम तथा खेलाडीलाई सभामुख कृष्णबहादुर महरा, सांसद कृष्णगोपाल श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ र न्यु डायमन्ड स्पोटर््स क्लबकी अध्यक्ष सुनकेशरी मालीलगायतले पुरस्कृत गरे ।

न्यु डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा गत बुधबारबाट सुरु भएको राउन्ड रोविन लिगको आधारमा भएको प्रतियोगितामा विभिन्न ८ टोलीले सहभागिता जनाएका थिए ।

(Visited 14 times, 1 visits today)