मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

माघे संक्रान्तिमा आयातित तरुल

कौशिला कुँवर
2 months ago
14/01/2019

काठमाडौं । हिन्दू परम्पराअनुसार, माघी पर्वमा तरुल उसिनेर खाने चलन छ । माघी पर्वमा तरुल, सखरखण्डलगायतका कन्दमुल खाने चलन परम्परागतदेखि नै चल्दै आएको हो ।

दसैंतिहारमा मात्र होइन माघे संक्रान्तिमा पनि भारतबाट तरुल आयात गर्नुपर्ने अवस्था रहेको तथ्यांकले देखाएको छ । फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद रेग्मीका अनुसार गतवर्ष माघी पर्वका लागि भारतबाट ८० टन सखरखण्ड आयात भएको थियो । माघीमा तरुल, हात्तीपाइले तरुल, रातो तरुल, पानी तरुल, पिँडालु, सखरखण्डलगायतको बढी कारोबार हुन्छ ।

यस वर्ष बढेर करिब ३० लाख मूल्यबराबरको १५० टन सखरखण्ड आयात भएको रेग्मीले बताए । गत वर्र्षको तुलनामा माघीका लागि उपयोग गर्ने कन्दमुल भारतबाट ७८ दशमलब १२ प्रतिशले बढेको देखिन्छ ।

स्वदेशमा सखरखण्डको उत्पादन कमै हुने हुँदा माघी पर्वका लागि नेपाली उत्पादनले धान्न नसक्ने भएपछि भारतबाट आयात हुने क्रम बढेको हो । नेपालमा वर्षै पिच्छे सखरखण्ड, तरुलको माग बढ्ने भए पनि उत्पादनमा भने वृद्धि हुन सकेको छैन । रेग्मी भन्छन्, ‘सखरखण्ड आयात गरे पनि केही हदसम्म तरुल भने स्वदेशी उत्पादनले पुग्ने गरेको छ ।’ उनले भने, ‘काठमाडौं उपत्यकामा माघीमा तरुलको माग ३ हजार टन छ । सो माग स्वदेशी उत्पादनले धान्न सक्छ ।’

केही समय अघिसम्म तरुल पनि भारतबाट आयत गरिने गरेको भए पनि पाल्पा, नवपरासी सर्लाही, सिन्धुपाल्चोकलगायतका जिल्लामा तरुलको व्यावसायिक खेती हुन थालेपछि तरुलको आयत गर्नुपरेको हो । तरुलको उत्पादनमा १० प्रतिशतले वृद्धि भइरहेको तथ्यांकले देखाएको छ ।

माघी पर्वका लागि कालिमाटी तरकारी बजारमा सर्लाहीबाट दैनिक ३ सय टन लोकल तरुल आउने गर्छ । सर्लाहीबाटै बालाजु तरकारी बजारमा पनि दिनको १५० टन आउने गरेको छ । राजधानीमा यतिबेला वन तरुलको माग पनि बढिरहेको व्यवसायीको अनुभव छ ।

पुसको मध्यबाट माघे संक्रान्तिलाई लक्ष्य गरेर सखरखण्ड र तरुल काठमाडौंमा भित्रिने गर्छ । यसपटक तरुलको मूल्यमा ५ देखि १० प्रतिशतले वृद्धि भएको छ । रेग्मीले भने, ‘बजारमा वन तरुलको माग भने बढेको छ ।’ वन तरुल प्रतिकेजी थोक बजार मूल्य १५० देखि २ सय रुपैयाँसम्म रहेको छ ।

 

 

(Visited 59 times, 1 visits today)
Loading comments...