सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

ठाकुरद्धारामा सुरु भयो माघी मेला

सुदीप अधिकारी
6 months ago
14/01/2019

बर्दिया । बर्दियाको पर्यटकिय स्थल ठाकुरद्धारामा सोमबारदेखि माघी मेला सुरु भएको छ । ठाकुरद्धारामा रहेको ठाकुरबाबा मन्दिर परीसरमा माघी मेला लागेको हो । पुस ३० गतेबाट सुरु भएको मेला करिव एक साता लाग्ने गर्छ । परम्परागत माघि मेलाका लागि ठाकुरबाबा मन्दिरलगाएत आसपासका क्षेत्रलाई झकिझकाउ पारिएको छ ।

माघे सक्रान्तीका दिन ठाकुरद्धारास्थित ठाकुरबाबा मन्दिरको दर्शन गर्ने प्रचलन छ । यस वर्ष सहजरुपले मन्दिरमा दर्शन गर्न पाउने व्यवस्था गरिएको छ । दर्शनार्थीहरुका लागि ठाकुरबाबा मन्दिरको ढोका आइतबार राती १२ बजेपछि खुल्ला गरिने मन्दिर व्यवस्थापन समितिले जानकारी दियो । स्नानका लागि मन्दिर परिसरमा व्यवस्थित स्नानकुण्ड बनाइएको छ ।

माघी मेलामा बर्दियासहित दाङ, बांके, कैलाली, कञ्चनपुर, सुर्खेत र नजिकैको छिमेकी देश भारतबाट समेत ठाकुरबाबा मन्दिरको दर्शन गर्न र मेला भर्न हजारौ श्रदालु भक्तजनहरु आउने गर्छन । माघे संक्रान्तीका दिन ठाकुरबाबाको दर्शन र पुजाआजा गर्नाले मनोकामना पुरा हुने र निसन्तान दम्पतिका जोडी यस मन्दिरमा आई पुजाआजा र दर्शन गरेमा सन्तान लाभ हुने धार्मिक जनविश्वास रहेको छ । माघी पर्वलाई लक्षित गरि यस क्षेत्रका विद्यालयमा ५ दिन विदा दिइएको छ ।

अधिकाशं विद्यार्थीहरु थारु समुदायका हुने र माघी थारु जातीको ठूलो पर्व भएकाले विदा दिने गरिएको त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक कुशेश्वरप्रसाद चौधरीले बताए । प्राय सबै विद्यार्थी मेला जाने भएकाले विद्यालयको पठनपाठन अवरुद्ध हुने हुँदा माघीमा विदा दिने गरिएको विद्यालयहरुले जनाएका छन् ।

तीन सय वर्षअघि मल्लकालमा किसानले खेत जोत्ने क्रममा अष्टभुजा पोषण विष्णु र हनुमान भगवानको ढुङ्गाको मुर्ति फेला परेको र यो ठाउँबाट उचाल्न नसकेपछि यही ठाउँमा राखिएको धार्मिक किम्वदन्ती रहेको छ । थारु जातीको महन्त पुजारी रहेको यस मन्दिर भित्र मुख्य देवताको रुपमा भगवान विष्णुको मूर्ति छ । थारु जातिले भगवान विष्णुलाई ठाकुर भनी पुकार्ने भएकाले यो मन्दिरको नाम पनि ठाकुरबाबा रहन गएको स्थानीय बुद्धिजीवी बताउँछन् ।

(Visited 65 times, 1 visits today)
Loading comments...