बुधवार ९ माघ, २०७५ (Wednesday, 23rd January 2019)
९ माघ, २०७५ (23 January 2019)

दुर्घटनाग्रस्त लायन एयरको दोस्रो ब्लाकबक्स भेटियो

एजेन्सी
1 week ago
14/01/2019

जकार्ता । इन्डोनेसियामा गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको विमानको दोस्रो ब्लाकबक्स भेटिएको छ ।

उडेको केही समयभित्रै दुर्घटनामा परेको लायन एयरको सो नयाँ बिमानसम्बन्धी तथ्य बुझ्न ब्लाकबक्सले सहयोग पुग्ने बताइएको छ ।

बोइङ ७३७ म्याक्स श्रेणीको नयाँ विमान राजधानी जकार्ताबाट उडेको १३ मिनेटमै राडारको सम्पर्कबाट बेपत्ता भएको थियो ।

सो बिमान जाभाको तटीय समुद्रमा खसेको थियो । दुर्घटनामा बिमानमा यात्रारत सबै १८९ जनाको मृत्यु भएको थियो । बिमान उडेको केही समयपछि पाइलटले बिमान पुनःजकार्ता फर्काउन लागेको बताएका थिए ।

इन्डोनेसियाको राष्ट्रिय यातायात सुरक्षा समितिका उपप्रमुख हारयो सातमिकोले सोमबार बिहान दोस्रो ब्लाकबक्स भेटिएको जानकारी दिएका थिए ।

खोज तथा उद्धार टोलीले सो जहाजको फ्लाइट डाटा रेकर्डर (ब्लाकबक्स) फेला पारिसकेका थिए । सो रेकर्डरको मद्दतले जहाजको गति, उचाई र दिशाका बारेमा थाहा पाउन सकिन्छ । दोस्रो ब्लाकबक्समा भने पाइलटको आवाज संग्रहित हुन्छ ।

अनुसन्धाताले लायन एयरको जहाजमा पहिल्यैदेखि समस्या आएको पाइएकाले उडाउन नहुने बताएका छन् । अनुसन्धानबाट जहाजमा प्राविधिक समस्या आएको देखिएपनि दुर्घटनाको वास्तविक कारण पत्ता लाग्न सकेको थिएन ।

उड्डयन विज्ञका अनुसार ब्लाकबक्समा कुनै पनि बिमान दुर्घटनाका बारेमा झण्डै ९० प्रतिशत सत्य कुरा थाहा हुने गर्दछ । विमानका यात्रुको अनुरोधमा लायन एयरले ब्लाकबक्स खोजीका लागि २६ लाख अमेरिकी डलर भुक्तानी गरी एउटा डच कम्पनीलाई जिम्मा लगाएको थियो ।

बिमान निर्माता कम्पनी बोइङ विरुद्ध मृतकका झण्डै ३० जना आफन्तले कानुनी कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेका छन् ।

उनीहरुले बोइङ ७३७ म्याक्स मोडेलमा प्राविधिक समस्या रहेको बताउँदै आएका छन् । बोइङको म्याक्स श्रेणीका बिमानलाई विश्वकै नयाँ र सर्वाधिक समुन्नत व्यावसायिक उडान गर्ने बिमानका रुपमा लिइन्छ ।

(Visited 50 times, 1 visits today)