बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

केयर गिभरको संख्या थप्न श्रममन्त्रीको आग्रह

राजधानी समाचारदाता
3 months ago
16/01/2019

 

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले महिला कामदारका लागि आकर्षक श्रम गन्तव्य मुलुक इजरायललाई यसअघि पठाउँदै आएको केयर गिभरको कोटा संख्या थप्न आग्रह गरेका छन् ।

मंगलबार मन्त्रालयमा आफूसँग नेपालका लागि इजरायलका राजदूत बेली ओमरले गरेको शिष्टाचार भेटवार्ताको क्रममा मन्त्री विष्टले यस्तो आग्रह गरेका हुन् । उनले इजरायलमा कृषि, पर्यटन र रोजगारीको क्षेत्रमा सहयोग आदान–प्रदान गर्ने पर्याप्त सम्भावना रहेको भन्दै नेपाली कामदार खासगरी केयर गिभरको संख्या थप गर्न सकेमा दुवै देश लाभान्वित हुने बताए ।

उनले छलफलको क्रममा श्रम सम्बन्धको माध्यमबाट नेपाल र इजरायलबीचको दुई पक्षीय सम्बन्धलाई थप बलियो र प्रगाढ बनाउन सकिने विश्वास व्यक्त गरे ।

नेपाली कामदार लैजाने विषयमा निकै चासो बढाउँदै आएको इजरायलले यस आग्रलाई निकै सकारात्मक रूपमा लिएको मन्त्रालयले जनाएको छ । सोही चासोका साथ आगामी दिनमा नयाँ कदम चाल्न मंगलबार नेपालका लागि इजरायलका राजदूत ओमरले मन्त्री विष्टसँग शिष्टाचार भेट गरेका हुन् । सो भेटका अवसरमा नेपाल र इजरायलबीचको श्रम सम्बन्धलगायत विविध आयामका विषयमा गम्भीर छलफल भएको थियो ।

सो भेटका अवसरमा नेपालका लागि इजरायलका राजदूत ओमरले नेपाली कामदारले इजरायलको विकासमा सकारात्मक योगदान पु¥याएको चर्चा गर्दै नेपाली कामदार मिहिनेती, इमानदार र अनुशासित भएका कारण कामदारको संख्या बढाउन इजरायल सरकार सकारात्मक रहेको बताए ।

उनले इजरायलबाट फर्कीआएका कामदारले इजरायली कृषि प्रविधिको प्रयोग गरी विभिन्न व्यवसाय सञ्चालन गरेको जानकारी पाउँदा आफूलाई निकै खुसी लागेको बताए । सो भेटवार्तामा श्रम मन्त्रालयका सचिव महेशप्रसाद दहाल र इजरायलका लागि नेपालका नवनियुक्त राजदूत डा. अञ्जान शाक्यको पनि सहभागिता रहेको थियो ।

(Visited 109 times, 1 visits today)
Loading comments...