बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

आईजीपी राई आज कल्याणकारी प्याकेज घोषणा गर्दै, दिवंगत सशस्त्र प्रहरीलाई १० लाख रुपैयाँसम्म राहत दिइने

2 years ago
27/10/2016

रोशन श्रेष्ठ/राजधानी
काठमाडौं, ११ कात्तिक

सशस्त्र प्रहरी बलले राष्ट्र र संगठनको हित तथा विशेष जिम्मेवारीमा रही उच्चस्तरीय कार्य गर्दागर्दै मृत्यु भए त्यस्ता सशस्त्र प्रहरी कर्मचारीलाई राहत स्वरुप १० लाख रुपैयाँसम्म दिने भएको छ ।

विगतमा कल्याणकारी सेवा केन्द्रमा रहेको सञ्चित रकमबाट सशस्त्र प्रहरी कर्मचारीहरुको दुर्घटना बिमाको व्यवस्था गरिएकोमा सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्र समितिको ४९ औं बैठकले सो कार्यलाई परिमार्जित गरी कार्यसम्पादनको सिलसिलामा दिवंगत भए १० लाख रुपैयाँसम्म दिने निर्णय गरेको हो ।

durja-kumar-rai

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले आज बिहीबार हुने १६ औं सशस्त्र प्रहरी दिवसको अवसरमा यसको घोषणा गर्ने भएका छन् ।
स्रोतका अनुसार, यसका लागि सम्बन्धित बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सिफारिस आवश्यक पर्ने व्यवस्था गरिएको छ ।

यस्तै, अन्य दुर्घटनामा परी मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीहरुका आफन्तजनहरुलाई मृत्युको परिस्थिति तथा कारण हेरेर १० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म दिइने भएको छ । यो रकम सम्बन्धित युनिटमा गठित समितिको सिफारिस र स्थानीय प्रहरीको घटनास्थल मुचुल्काको आधारमा दिइने छ ।

१६ औं वार्षिकोत्सवको अवसर पारेर सशस्त्र प्रहरी बलले हाल सञ्चालनमा रहेको नगद ऋण सुविधा कार्यक्रम मार्फत कल्याणकारी सेवा केन्द्रद्वारा सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रदान गरिँदै आएको ऋण रकमको ब्याजदर ८ प्रतिशतबाट घटाइ ६ प्रतिशत कायम गर्ने भएको छ । साथै, विगतका कल्याणकारी योजनाहरुलाई यथावत् राखिएको छ ।

वार्षिकोत्सव अवसरमा दिन आईजीपी राईले दोश्रो चरणको राहत वितरण कार्यलाई शीघ्रता दिने घोषणासमेत गर्नेछन् । सशस्त्र प्रहरी बलले १२ वैशाख २०७२ को विनाशकारी भूकम्प र परकम्पहरुले प्रभावित जिल्लाहरुमा स्थायी बसोबास भएका पीडित सशस्त्र प्रहरी कर्मचारीहरुलाई पहिलो चरणमा ४० हजार र दोस्रो चरणमा २० हजारका दरले रकम दिने घोषणा यसअघि नै गरिसकेको छ । जसअनुसार, पहिलो चरणमा पूर्ण क्षति भएकालाई २५ हजार र आंशिक क्षति भएकालाई १५ हजार गरी कूल १७ करोड २४ लाख ७५ हजार राहत रकम मातहत कार्यालयहरु मार्फत वितरण गरी सकिएको छ ।

यसैगरी, बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी तथा अमर सशस्त्र प्रहरीका परिवारको कल्याणकारी हितका लागि सशस्त्र प्रहरी बलले उद्योग, जलविद्युत हात हाल्ने घोषणा पनि गरिने छ । यसका लागि लगानी र स्थापनाको सम्भाव्यतालाई अध्ययन गर्न कार्यदल गठन गरी आवश्यक प्रक्रियाहरु अवलम्बन गरिने भएको छ । सशस्त्रले यसै वर्षबाट थप पेट्रोल पम्प सञ्चालन, इन्धन ट्यांकर, ग्याँस स्टेशन तथा ग्याँस बुलेट खरीद कार्यलाई अगाडि बढाउनुका साथै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको हितलाई मध्यनजर गरी सुपथ मूल्य पसल सञ्चालनसमेत गर्ने भएको छ ।

(Visited 9 times, 1 visits today)
Loading comments...