मंगलवार १० बैशाख, २०७६ (Tuesday, 23rd April 2019)
१० बैशाख, २०७६ (23 April 2019)

जहाँ नेपाली भाषा जन्म्यो

केबी मसाल
2 months ago
09/02/2019


जुम्ला सिंजामा पुग्नुभयो भने पर्यटकहरूको हात क्यामेरामा मात्र हुन्छ । वरिपरि पहाडबीचमा समथर जमिन हेर्दैमा रमाइलो वातावरण गुजुमुजुक्क घर र गाउँको छेउबाट बगिरहेको हिमा नदी । नेपाली भाषाको उद्गम थलो सिंजाको प्राकृतिकस्वरूप वर्णन गरेरै सकिन्न । जुम्लाको सिंजा उपत्यकालाई नेपाली भाषाको उदगमस्थल मानिन्छ । त्यसैले नेपाली समाजमा सिंजा सभ्यताको छुट्टै र विशिष्ट महŒव रहेको छ ।

जुम्ला सिंजा उपत्यकामा रहेको सिंजा कनकासुन्दरी मन्दिर, पान्डव गुफा, बुढुमष्टा, कनकासुन्दरी नौधारा मन्दिर, विराट दरबार, नाख्या दुला, ह्रयांग्रा देवता मन्दिर, लेकपर लामा मन्दिर, बोतामालिका महादेव मन्दिरलगायत सिंजा भेगमा रहेका तीन दर्जनभन्दा बढी देवीदेवताका मन्दिर छन् । प्राचीन सभ्यताका चिनारी सिंजा पुग्ने पर्यटकहरूले अध्यन अवलोकन गर्न पाउँछन् ।
तिब्बती भाषा अर्थात् भोटे भाषामा सिंजालाई ध्यात्से भनिन्छ । सिंजाका शासकहरू सोङ्चोङ गोम्पोका सन्तान हुन् । प्राचीन कालमा कर्णाली प्रदेशलाई ‘स्वर्णप्रस्थ’ भनिन्थ्यो । ११औं शताब्दीको मध्यदेखि खोरल्देका पुत्र नागराज सुरुमा दानवभूतल त्यसपछि कुण्डल वनयारी र सिंजा लामाथाडामा आई सिंजा क्षेत्रलाई खस साम्राज्यको मुख्य केन्द्र बनाए । त्यसपछि सिंजालाई ‘सपादलक्ष्य’ अर्थात् सवा १ लाख गाउँ भएको भूमि भन्न थालीयो ।
जुम्लाको सिंजा अहिले कनकासुन्दरी गाउँपालिकामा पर्दछ । समग्र जुम्लालाई चारभेगमा बाँडिएको छ । बोलीचालीमा ती भेगलाई असीभेग, चौधबिस भेग, पान्सय भेग र सिंजा भेग भन्ने गरिन्छ । चारभेगअनुसार जुम्लाको संस्कृति, रीतिरिवाज, बोलीचालीसमेत फरक पाइन्छ ।

जुम्ला चार भागमा बा“डिएजस्तै भूगोल पनि यसरी छुट्टिएको छ । राकम कर्णाली, भर्ता, महावु, ढिपु, गाग्रा दक्षिण पूर्वोत्तर र नाग्म, चुली मालिका, बुडु हुँदै पश्चिम उत्तर फैलिएका दुईवटा पहाडको बीचमा जुम्ला पर्दछ । अर्र्काेतर्फ नाग्म, रारालिही, चुलाकोट हुँदै डाँफेलेकतिर फैलिएको पहाडले सिंजा उपत्यका र चौघान उपत्यकालाई छुटयाइदिएको छ ।
सिंजा जाँदा हवाइमार्ग होस् वा कर्णाली राजमार्ग जताबाट गए पनि जुम्ला बजारमा एक रात बस्न सके राम्रो हुन्छ । जुम्ला बजारमा पर्यटकलाई खाना बस्नका लागि अनुकूल होटल पाइन्छन्् । ३ सयदेखि हजारसम्म पर्ने कोठा ननएट्याचदेखि एट्याच बाथरुमसम्मका होटल रहेका छन् ।
जुम्ला बजारको एक दिनको बसाइँमा पर्यटकले ढुंगा, माटोले बनेको बजार अवलोकन र चन्दनाथ मन्दिरको तीर्थाटन गर्न सक्छन् । च्यांङग्रा सुकुटी रातो चामलको भात जौंको रोटी र सिमीको दाल चाखेपछि पर्यटकलाई छुट्टै आनन्द लाग्छ । हिमा नदीको किनारमा रहेको सिंजाको फाँट साह्रै लोभलाग्दो छ । वैशाख महिनामा सिंजा पुग्ने पर्यटकले फाँटभरि लगाएका जौ बालीले बयली खेलेको देख्न सक्दछन् ।

अर्कोतर्फ ऐतिहासिक खस राज्यको सिंजा दरबार क्षेत्र ढुंगे सिउबाक ढुंगेबाघ कालो सिउबाक दूधकुवा तेलकुवा हाटिसंजा शिवजीको मन्दिर सिंजा पुगेपछि हेर्नै पर्ने ठाउँ हुन्् । त्यससँगै एल आकारको कनक गुफा र शितलधारादेखि सेरा हुँदै लामाथाडासम्म करिब ५ किलोमिटरको क्षेत्रमा मल्ल कालमा बिच्छ्याइएको माटोका पाइपहरूले ऐतिहासिक कथा बोकेको पर्यटकले अध्यन गर्न सक्दछन् । रिपुमल्लको रन्जना लिपि बौद्ध लामाका माटाका मूर्तिहरू शिला स्तम्भ र ढुंगेदेवल र मुग्रा पनि पर्यटकलाई लोभ्याउने ऐतिहासिक स्थल हुन् ।
सिंजा संस्कृति र पुराताŒिवक हिसाबले धनी मानिन्छ । हिमा नदीको किनारको सिंजा उपत्यका र खोला किनारमा रहेको साना ठूला फाँट बेंसीहरू उर्वर खेतीयोग्य जमिन मानिन्छ । कनकासुन्दरी गाउँपालिकामा पाण्डवगुफा, विराटदरबार, गरुडनुहानी, तिलिचौर माई, भुलभुले पाटन, चुचेमारा लेक, कनकासुन्दरीलगायत विभिन्न धार्मिक पर्यटकीयस्थल रहेका छन् ।

 

जुम्ला सिंजा उपत्यकामा रहेको सिंजा कनकासुन्दरी मन्दिर, पाण्डव गुफा, बुढुमष्टा, कनकासुन्दरी नौधारा मन्दिर, विराट दरबार, नाख्या दुला, ह्यांग्रा देवता मन्दिर, लेकपर लामा मन्दिर, बोतामालिका महादेव मन्दिरलगायत सिंजा भेगमा तीन दर्जनभन्दा बढी देवीदेवताका  मन्दिर छन्

 

पाँच भाइ पाण्डव बस्ने पाण्डव गुफा र विराटदरबारको अवशेष पनि सिंजामा पर्यटकले देख्न सक्छन् । सिंजामा खस राज्यको समयमा बनाइएका मठ मन्दिर, सिंजा सिहुबाघ, ठूलाठूला ढुंगामा कँुदिएका चित्रकला, संकेत अक्षर र अंक लेखिएका शिलालेखसमेत हेर्न सकिन्छ । कर्णाली प्रदेशमा रहेका विभिन्न धार्मिक सांकृतिक वेशभूषा त्यस्तैगरी, गुफा, मन्दिर, पञ्चेबाजालगायत पुराताŒिवक धरोहर हुन् ।
सिंजा उपत्यकामा पर्ने विराटदरबार र पाण्डव गुफा पौराणिक प्रमाण हुन् । पर्यटकहरूले सिंजामा कुनै पर्व विशेषमा पुगे भने देउडा, ठाडी भाका, झोडा, मागल ढोलीनाच, ढालनाच हुर्केनाच बालनाचजस्ता नाच समेत देख्न सक्दछन् । ऐतिहासक यिनै संस्कृतिले जुम्लाको पहिचान गराएको छ । सिंजाका मानिसहरू अति मेहनती हुन्छन् । सिंजाका मानिस व्यापारको सिलसिला नेपालका धेरै जिल्लामा घुमन्ते व्यापारीका रूपमा व्यापार गर्दछन् ।

हिङदेखि शिलाजित र सियोदेखि राडीपाखी, लिउ, गलैंचाका व्यापारीका रूपमा जुम्लीलाई अन्य जिल्लाका मानिसले चिन्ने गर्दछन् । जुम्लाका मानिसहरू पैदल हिँड्ने दैलेख–सुर्खेत मार्ग नै प्रमुख मार्ग मानिन्छ । तर, पनि घोडा व्यापारका लागि दाङ आउने जुम्लीहरू जुम्ला उपत्यकाको दक्षिणपट्टिको कुशेलेखको बाटो हँुदै जाजरकोटको ढिमे, रुकुमको चौरजहारी र सल्यानको जिमाली लेखको बाटो हँुदै दाङ आउने प्रचलन थियो ।
नेपालको बाइसे र चौबिसे शासनकालमा जुम्ला सिंजाका खस राजा जितारी मल्लले तीनपटकसम्म काडमाडौं विजय गरी कर तिर्ने सम्झौता गरी मात्र फर्केनन्, त्यसबेलासम्म पूर्वमा गण्डकी पश्चिममा नैनीताल उत्तरमा मानसरोवर र दक्षिणमा गडवाल सिमाना रहेको सिंजाको कर्णाली साम्राज्य नेपाली इतिहासमा चर्चित छ । चार शताब्दितिर ताक्लाकोटमा स्थापना भएको राज्य ९औं शताब्दीमा सिंजा राजधानी सारेर १३औं शताब्दीमा आएर राज्य विस्तार गर्दै विशाल साम्राज्य खडा गरेको इतिहास छ । विशाल साम्राज्यलाई व्यवस्थित र परिचालन गर्न सिंजा लामाथाडा, खाडाचक्र, र दुल्लु गरी तीन ठाउँमा घुम्ती राजधानी चलाएको नेपाली भाषाको मूलथलो सिंजा हो ।
कर्णाली नदीको उद्गमस्थलबाट जडान र खसान क्षेत्रमा कर्णाली नदी आई पुग्दा कर्नाल बाजा मुखले बजाउँदा कर्नालको ध्वनिजस्तो आवाज सुनिने भएकाले नदीकोे नाम कर्णाली भएको किंवदन्ती सिंजावासीसँग छ ।

जुम्लाको कालीमार्सी

सिंजामा पर्यटकले कालीमार्सी चामलको भात खान पाउँछन्् । कालीमार्सी सीमित मात्रामा उत्पादन हुने स्थानीय जातको धान हो । संसारमै सबैभन्दा उचाइ अर्थात् समुन्द्र सतहबाट करिब ३ हजार मिटरसम्म उत्पादन हुने जुम्ली मार्सी धान जुम्लाको हावापानीमा मात्र हुने दुर्लभ प्रजातिको धान हो । यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषकतŒवका कारण जुम्ली मार्सी धानको महŒव यतिखेर नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय जगतसम्म पुगेको छ ।
जुम्लामा करिब ७ सय वर्षअघि जुम्लीका इष्ट देवता चन्दननाथले भारतको काश्मीरबाट मार्सी भिœयाएको विश्वास गरिन्छ । किंवदन्तीअनुसार सुरुमा जुम्लामा कुनै पनि धान पाक्न सकेन । बाबा चन्दननाथले काश्मीरबाट धानको बीउ ल्याएर सुरुमा लाछु जिउरो अर्थात् तातोपानीनजिकको गाउँ भन्ने ठाउँमा रोपेका र पछि अरू किसानले पनि यसैगरी रोप्दै गएको भनाइ छ ।
जुम्लाको खलंगा वरपर र सिंजा क्षेत्रमा कालीमार्सी धानको बीउ राख्ने काम हरेकवर्ष १२ चैतमा हुन्छ । बीउ राख्नुअघि धानलाई केलाउने, निफन्ने गरिन्छ र तामाको खड्कुलो वा हन्डीमा धान भिजाएर राखिन्छ । चार दिनपछि अर्थात् १६ चैतमा भिजाएर राखिएको धानलाई निकालिन्छ । यसलाई पखालिन्छ र फेरुवा अर्थात् उनको कपडामा सुकाएर ओभानो पारिन्छ ।

धान ओभानो भएपछि पानी छर्कने, फेरि सुकाउने ओभाएपछि पुनः पानी छर्कने र साझँतिर घरभित्र चुल्हो नजिक रास बनाएर राखिन्छ । यसरी राखिएको धानको रासलाई तातोस भनेर सल्लाको झाँपो र कपडाले छोपेर राखिन्छ । बीउ नउम्रेसम्म बिहान बेलुकी चिसो पानी छम्किनुपर्छ । यसरी राखिएको धान कसैकोमा १९ गते, कसैकोमा २० गते उम्रन्छ । यदि २० भन्दा पर गएर २१–२२ गते उम्रेको भए त्यसलाई बासी बीउ भन्ने चलन छ । किनभने यसरी रास बनाएर राखिएको बीउलाई २० गतेका दिन ब्याडमा छर्ने काम हुन्छ । यसै दिन चेलीबेटीलाई बोलाएर देउडा नाच नचाइन्छ । यो दिनलाई बिसुवा पर्व भन्ने गरिन्छ ।
बीउ छर्ने दिन भएकाले कसैकसैले यसलाई बिच्छेती पर्व पनि भन्ने गर्दछन् । चैत १२ गते कालीमार्सीको बिउ भिजाउने, १६ गते उमार्ने र २० गते छर्ने दिनका रूपमा बिसुवा पर्व मनाउने प्रचलन जुम्लामा छ । चैत २० गते ब्याडमा धानको बिउ छर्नुपूर्व त्यसको पूजा गरिन्छ । चामलको पीठोको पुवा बनाइन्छ र ब्याडको कान्लोमा ढुंगा ठड्याइन्छ ।
बाबा चन्दननाथलाई सम्झेर पूजा गरिन्छ । घरमा चेलीबेटी बोलाएर खुवाने चलन पनि रहेको छ । कालीमार्सी धान काट्न विशेष दिन पारिन्छ । बुधबार या शुक्रबार पारेर मात्रै धान काटने परमपरा छ । जुम्लामा मार्सी धान रोप्ने बेलासम्म पनि विदेशिएको युवा घरमा नआए अब फर्केर कहिल्यै आउँदैन भन्ने किंवदन्ती पनि छ ।

जुम्लाको नाम

जुम्ला जिल्लाको नामकरण पौराणिक घटनासँग जोडिएको छ । सदरमुकाम खलगांमा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई टोक्न दुईवटा अजिंगर नाग आएछन् । नागले मूर्तिनजिक आउन नपाउँदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नागलाई भष्म गराइदिएछन् । यसरी भष्म भएका ती नागहरू पछि जुम्ल्याहा पहाडका रूपमा देखिएछन् । जुम्ल्याहा शब्दको अपभ्रंश हुँदै ठाउँको नाम पनि जुम्ला भएछ ।

कसरी जाने सिंजा ?

सुर्खेतबाट कर्णाली राजमार्गको बांङ्गेसिमल बडडीचौर कल्यानकाँध तल्लो डुंगिसर हुँदै दैलेख र कालिकोटको सीमाना पर्ने टुनेबगर भएर खिडकी जिउँला जिते दैखोला कालिकोटको सेरीघाट मान्मा बजार पिली सेराबाडा पुगेपछि कालिकोट र जुम्लाको सिमाना पर्ने नाग्मागाढमा पुगिन्छ । नाग्मागाढबाट कोइरेली, नाराकोट, गोठीज्युला हँुदै करिब ३६ किलोमिटरको मोटरमार्गबाट सिंजा पुगिन्छ । तपाई नाग्माबाट जुम्ला बजार नपुगी सोझै सिंजा जान सक्नुहुन्छ । सिंजा पुग्न जुम्लाको खलगा बजारबाट बसमा ५ घण्टा लाग्दछ भने जुम्लाबाट पैदल एक दिनमा पुगिन्छ ।

 

(Visited 260 times, 1 visits today)
Loading comments...