मंगलवार १० आषाढ, २०७६ (Tuesday, 25th June 2019)
१० आषाढ, २०७६ (25 June 2019)

दक्षिण कोरियाद्वारा अमेरिकी सेनाको तलब वृद्धिको घोषणा

एजेन्सी
4 months ago
11/02/2019

सोल। दक्षिण कोरियाली भूमिमा कार्यरत अमेरिकी सेनाको व्यवस्थापनका लागि बजेट बढाउन सहमत भएको सोलले आइतबार जानकारी गराएको छ । लामो समयदेखि सहयोगीका रूपमा रहेको अमेरिकी सेनाको खर्चका लागि वासिङ्टनको अनुरोधमा उक्त निर्णय लिएको हो ।

दक्षिण कोरियाले सेनाको खर्चबारे अमेरिकासँगको विवादलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ–उनबीच दोस्रो वार्ता हुने मिति तय भएको केही घण्टाभित्रै अन्तिम रूप दिएको हो ।

सन् १९५० देखि सन् १९५३ सम्म चलेको कोरियाली युद्धका समयदेखि नै अमेरिका र दक्षिण कोरियाबीच सुरक्षा गठबन्धन रहँदै आएको छ । कोरियाली प्रायदीपमा भएको तनाव कम गर्न युद्धविराम गरिए पनि शान्तिवार्ता हुन सकेको छैन ।

दक्षिण कोरियामा प्योङयाङको तर्फबाट सुरक्षा खतरा भएको भन्दै २८ हजारभन्दा बढी अमेरिकी फौज तैनाथ छ ।

तर, अमेरिकी राष्ट्रपति ट्रम्पले पटकपटक अमेरिकी सुरक्षा फौजलाई दक्षिण कोरियामा राख्दा हुने खर्चमध्ये सोलले हालको खर्चलाई डबल बनाउनुपर्ने बताइँदै आएको थियो ।

वासिङ्टन र सोलका प्रतिनिधिबीचको सहमतिअनुसार अघिल्लो पाँच वर्षका लागि गरिएको सम्झौताभन्दा ८.२ प्रतिशत बढी रकम दिइनेछ ।

दक्षिण कोरियाली विदेश मन्त्रालयले सन् २०१९ मा अमेरिकी सेनाको व्यवस्थापनका लागि ९२ करोड ४० लाख अमेरिकी डलर बुझाउने सहमति भएको बताएको छ ।

मन्त्रालयका अनुसार अमेरिकाले कोरियाली भूमिमा रहेको उसको सेना व्यवस्थापनका लागि ठूलो मात्रामा बजेट वृद्धिका लागि माग गरेको भए पनि दुई मुलुकबीच उक्त रकम भुक्तानीको सहमति भएको हो ।

सहमतिपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘दुवै मुलुकले दक्षिण कोरिया–अमेरिकाबीचको मजबुत सहकार्य रहिरहनुपर्नेमा पुनः जोडदिएका छन् ।’

खर्च विवादले अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी फौज फिर्ता गर्न सक्ने चासो विश्लेषकहरूलेदेखाएका थिए ।

यसै महिनाको अन्त्यमा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भियतनामको हनोइमा हुने दोस्रो शिखर वार्तामा उनीहरूबीच दशकौं लामो युद्धविरामलाई अन्त्य गर्दै स्थायी शान्तिको प्रस्तावनाको घोषणा गर्न सक्ने अनुमान गरिएका छन् ।

गत वर्ष सिंगापुरमा भएको पहिलो बैठकमा अमेरिकी राष्ट्रपतिले अनपेक्षित रूपमा अमेरिका तथा दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका थिए । यसले दक्षिण कोरियालाई तनावमापारेको थियो ।

ट्रम्पले गत साता एक अमेरिकी सञ्चारमाध्यम सीबीएसलाई दिएको अन्तर्वार्तामा अमेरिकाले तत्काल आफ्नो फौजलाई हटाउने योजना नभएको बताए ।

 

(Visited 64 times, 1 visits today)
Loading comments...