सोमवार ६ फाल्गुण, २०७५ (Monday, 18th February 2019)
६ फाल्गुण, २०७५ (18 February 2019)

डफिन्सलाई पोखरा कपको उपाधि

विजय नेपाल
1 week ago
11/02/2019

पोखरा । छैटौं मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लबले जितेको छ । पोखरा रंगशालामा आइतबार भएको फाइनलमा विभागीय टिम एपीएफलाई १–० ले पराजित गर्दै डफिन्सले उपाधिका साथ ७ लाख ५५ हजार रुपैयाँ पुरस्कार जित्यो । डफिन्स पहिलोपटक पोखरामा फुटबल प्रतियोगितामा सहभागी भएको हो । उपविजेता एपीएफले ४ लाख ५ हजार रुपैयाँ पुरस्कारमा चित्त बुझायो ।

फाइनलको ५४औं मिनेटमा यान्निक ओवानाले उत्कृष्ट गर्दै आफ्नो टिमलाई उपाधिको हकदार बनाएका हुन् । अरमेल अहन्डाले विपक्षी पोस्टमा बल प्रहार गर्ने क्रममा एपीएफका सन्तोष कटुवाललाई लागेर रिबाउन्ड भएकोमा यान्निकले बललाई जाली चुमाएका थिए । फाइनलमा खेलका म्यान अफ दी म्याच घोषित यान्निकले गरेको सो गोल नै अन्ततः निर्णायक बन्यो । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि एपीएफका गोलकिपर राजु नगरकोटीले पाए । उत्कृष्ट गोलकिपरको समेत उपाधि जितेका उनले उत्कृष्ट खेलाडीबापत मोटरसाइकल चढे ।

यस्तै, विधागत रूपमा उत्कृष्ट डिफेन्डर एपीएफकै रमेश दंगाल, मिडफिल्डर मनाङ मस्र्याङ्दीका हेमन गुरुङ, स्ट्राइकर डफिन्सका यान्निक ओवाना, उत्कृष्ट प्रशिक्षक एपीएफका राजेन्द्र तामाङले उपाधि जिते । उनीहरूलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।

पोखरा रंगशालामा पहिलोपटक फुटबल खेल्न आएको जापानको रिस्सो युनिभर्सिटीको टिमलाई अनुशासित टिमको उपाधि दिइयो । विजेतालाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा उपाध्यक्ष कृष्ण थापा, आयोजक एन्फा कास्की अध्यक्ष मिलन गुरुङ, एन्फाका पूर्वअध्यक्ष खेम गुरुङ, मुख्य प्रायोजक मनकामना केबलकारका प्रतिनिधि उद्धव श्रेष्ठलगायतले पुरस्कार हस्तान्तरण गरे । यसैबीच, आयोजकले फाइनल अवसरमा उत्कृष्ट फुटबल खेलाडीका रूपमा उत्तम गुरुङलाई पुरस्कृत गरेको छ । उनले स्कुटर पुरस्कार पाए ।

सञ्चारमाध्यमतर्फ फोटो पत्रकार उमेश पुनलाई नगद २५ हजारसहित सम्मान गरियो । एन्फा कास्कीले फुटबल विकासमा लामो समयदेखि योगदान दिएकोमा नवीन पुनलाई समेत सम्मान ग¥यो ।

 

(Visited 13 times, 1 visits today)
Loading comments...