सोमवार ६ फाल्गुण, २०७५ (Monday, 18th February 2019)
६ फाल्गुण, २०७५ (18 February 2019)

जोमसोम–कोरला सडक असारसम्म सम्पन्न हुने

सुन्दरकुमार थकाली
1 week ago
11/02/2019

 

मुस्ताङ ।  उत्तर–दक्षिण जोड्ने व्यापारिकमार्ग विस्तारित आयोजनाअन्तर्गतको जोमसोम–कोरला ग्राभेल सडक विस्तार कार्य चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने भएको छ । प्रदेश ४ कै आर्थिक समृद्धिको मुख्य ढोका बनेको बहुचर्चित कोरला राष्ट्रिय शाखा राजमार्गको काम असारसम्म सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको सडकका आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए । यसको दूरी जोमसोमदेखि कोरलासम्म ११० किलोमिटर छ ।

दुई लेन ग्राभेल सडक विस्तार हुँदै गरेको उक्त सडकको स्तरोन्नति २०७४ सालबाट सुरु गरिएको हो । कोरिडोर सडकले यहाँ ७० प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।

यसअघि उक्त सडकको छोसेर–कोरला १६ किलोमिटर सडकको अन्तिम प्याकेज गत असार मसान्तमै कोरिडोरलाई हस्तान्तर भइसकेको छ । कुल सात खण्डमा काम भइरहेको जोमसोम–कोरला सडक हिउँदयामको चिसोले प्रभावित भएको थियो ।

‘यहाँ पुस महिनाअघि नै सडकको काम चिसोका कारण स्थगित भएको थियो अव यसलाई छिट्टै अगाडि बढाउँछौं र यसै आवभित्र काम सम्पन्न गछौं,’ आयोजना प्रमुख अधिकारीले भने । जोमसोम–झैते ५२ किलोमिटर र झैते–कोरला सडक ५८ किलोमिटर छ । सातवटा खण्डमा विभाजन गरी काम गरिएको उक्त सडकको एउटा खण्ड सम्पन्न भएको, बाँकी पाँच खण्डमा ९० प्रतिशत प्रगति भएको कोरिडोरले उल्लेख गरेको छ । तर, प्याकेजअन्तर्गत चैलेदेखि झैतेसम्मको १२ किलोमिटर क्षेत्रको समर–भियनामा कडा चट्टाने पहाडका कारण ठोस उपलब्धि हुन नसकेको आयोजना प्रमुख अधिकारीले बताए ।

उनले उक्त स्थानको सडकलाई फराकिलो र थप स्तरोन्नतिका लागि कोरिडोर सडकले हालै रक्षा मन्त्रालयमार्फत ब्लास्टिङका लागि अनुमति प्राप्त गरेको बताए । उक्त स्थान उपल्लो मुस्ताङ पुग्ने सबैभन्दा जोखिम स्थानका रूपमा लिने गरिन्छ । यहाँ सवारीसाधन आवतजावतका लागि कठिनाइ भइरहने र छोटो मोडका कारण समस्या पर्ने गरेको छ ।

चिसो मौसमका कारण जोमसोम–कोरला सडकको काम यतिबेला भने पुरै रोकिएको छ । करिब हजार बढी मजदुरले काम गरेको उक्त सडकमा गर्मीयाम सुरु भई मजदुर फर्किनसाथ काम अघि बढाइने अधिकारीले बताए ।

 

लेते–जोमसोमखण्ड वैशाखमा कालोपत्रे

कोरिडोरले मुस्ताङको लेतेदेखि जोमसोमसम्मको करिब ४० किलोमिटर सडकखण्ड वैशाख महिनामा कालोपत्रे गरिने भएको छ । सडकलाई कालोपत्रे गर्ने तयारी गरेको कोरिडोरका इन्जिनियर जगत प्रजापतिले बताए । उनले मुस्ताङको तल्लोखण्डमा कालोपत्रेको परीक्षण गर्दै अन्य स्थानको कालोपत्रे योजना बनाइने जानकारी दिए । कोरिडोरले लेतेदेखि जोमसोमसम्मको सडकमा ग्राभेल गर्ने कार्य अन्तिम चरणमा पु¥याएको छ । बेनी–जोमसोम सडकखण्डमा समग्रमा ४५ प्रतिशत कामको प्रगति भएको इन्जिनियर प्रजापतिले बताए । बेनी–जोमसोम सडकखण्डलाई चार प्याकेज विभाजन गरी काम भइरहेको छ । सवारीसाधन आवतजातवले काममा बाधा पु¥याउने भएकाले जोमसोम जाने सवारीलाई समयतालिका मिलाइ कामलाई तीव्र बनाइएको छ । हिउँदयाम मुस्ताङमा कम पर्यटक जाने भएकाले पनि काम गर्न सजिलो भएको उनले बताए ।

बेनी–जोमसोम सडकमा हाल करिब १ हजार ५ सय मजदुरले काम गरिरहेको र करिब दुई दर्जन मेसिन प्रयोग भइरहेको इन्जिनियर प्रजापतिले जानकारी दिए ।

 

 

(Visited 183 times, 1 visits today)
Loading comments...