बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

औद्योगिक सेवा अब एकैथलोबाट

कौशिला कुँवर
2 months ago
11/02/2019

 

काठमाडौं । अब उद्योग दर्ता एवं सञ्चालनका लागि कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिकराजस्व कार्यालय, भन्सार विभागलगायतका सरोकारवाला निकाय धाउन नपर्ने भएको छ । उद्योग दर्ता एवं सञ्चालन गर्न विभिन्न कार्यालय धाउनबाट छुटकारा पाउने गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेको हो । औद्योगिक व्यवसाय ऐन, २०७३ लाई कार्यान्वयनमा ल्याउने गरी मन्त्रालयले नयाँ निर्देशिकामार्फत एकल बिन्दुबाट सेवा दिने व्यवस्था गर्न लागेको मन्त्रालयका उपसचिव विन्दा भट्टराईले जानकारी दिइन् ।

औद्योगिक व्यवसाय ऐनमा एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्न सकिने व्यवस्था गरेको हुँदा सो ऐनबमोजिम एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्न लािगएको हो । एकल बिन्दु सेवा केन्द्रसम्बन्धी सेवा उद्योग विभागबाट प्रदान गरिनेछ । सो सेवा सञ्चालनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकल बिन्दु सेवा केन्द्र निर्देशिका मस्यौदा तयारी पारी छलफलका लागि मन्त्रिपरिषद् पठाएको छ । मन्त्रालयकी उपसचिव विन्दा भट्टराईका अनुसार सो निर्देशिकाको मस्यौदा १५ दिनअघि नै मन्त्रिपरिषद्मा पठाइएको हो । मन्त्रिपरिषद्बाट मस्यौदा स्वीकृतपश्चात् राजपत्रमा सूचना प्रकाशन गरी कार्यान्वयनमा ल्याइने उनले जानकारी दिइन् । उद्योग विभागका महानिर्देशक विनोदप्रसाद सिंहले यससम्बन्धी व्यवस्थाले उद्योगमा लगानी गर्ने विदेशी तथा स्वदेशी लगानीकर्ताका लागि धेरै सहज हुने बताए । एकल बिन्दु सेवा सुरु हुँदा नेपालमा विदेशी लगानीसमेत बढ्ने महानिर्देशक सिंहले जनाए । सिहंले भने, ‘एकल बिन्दु सेवा सञ्चालन हुँदा विदेशी तथा स्वदेशी लगानीकर्ता उद्योग सञ्चालनको प्रक्रियाका लागि विभिन्न कार्यालय धाउने बाध्यता हट्नेछ ।’

हाल उद्योग दर्ता सञ्चालनका लागि सेवाग्राहीले कम्पनी रजिस्ट्रार कार्यालय, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय, नेपाल राष्ट्र बैंकलगायतका सरोकारवाला मन्त्रालय र विभिन्न निकायमा धाइरहनुपरेको छ । जसका कारण एउटा उद्योग सञ्चालनका लागि सेवाग्राहीलाई ६ महिना, वर्ष दिन लाग्ने गरेको छ । अब सो सेवा सञ्चालनपछि उद्योगी, व्यवसायी तथा सेवाग्राहीले सबै सुविधा एकै थलोबाट लिन सक्नेछन् ।

 

अब उद्योग सञ्चालनका लागि कम्पनी रजिस्ट्रार र प्यानमा धाउन नपर्ने सबै सेवा एकल बिन्दु सेवा केन्द्रबाटै

 

सेवा सञ्चालनपछि विदेशी लगानीकर्ताले पनि उद्योगका लागि स्वीकृति गर्न जग्गा, विद्युत्, पानी आदि पूर्वाधार सेवा तथा करसम्बन्धी अन्य सुविधाहरू एकै थलोबाट सेवाग्राहीले लिन सक्ने महानिर्देशक सिंहले जानकारी दिए । उद्योग स्थापना गर्दा यसअन्तर्गतका विभिन्न मन्त्रालय, विभागहरू, नेपाल राष्ट्र बैंक, अध्यागमन विभाग, कर कार्यालयजस्ता निकायले उपलब्ध गराउने विभिन्न सुविधाहरू उद्योग विभागबाट हुने सिंहले बताए ।

एकै थलोबाट सेवा नपाउँदा सेवाग्राही कार्यालय धाउनुपरेको छ । कार्यालय धाइरहनुपर्ने झन्झट र दिग्दारीले गर्दा नै नेपालमा विदेशी लगानी अपेक्षा गरेअनुसारको भित्रिन नसेको सिंहको भनाइ छ । अब विभागले सो सेवाको थालनी गरेपछि विभिन्न कार्यालय धाउनुपर्ने बाध्यताबाट लगानीकर्ता मुक्त हुने उनले बताए । महिना दिन लाग्ने काम १५ दिनभित्रै सकिने उद्योग विभागले जनाएको छ ।

 

 

 

(Visited 54 times, 1 visits today)
Loading comments...