सोमवार ६ फाल्गुण, २०७५ (Monday, 18th February 2019)
६ फाल्गुण, २०७५ (18 February 2019)

ओली र दाहालबीच खटपट

राजधानी समाचारदाता
1 week ago
11/02/2019

 

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अन्तरविरोध चर्किएकै हो त ? यदि दुई अध्यक्षबीच अन्तरविरोध बढेको हो भने कहाँनिर पुगेर, कसरी यसको निराकरण होला ? यो साताको सबल राजनीतिक प्रश्न यही नै हो ।

पछिल्लो राजनीतिक परिघटनाले दुवै अध्यक्षबीच खटपट र मतभिन्नता देखा परेको अनुमान नेकपाभित्र र बाहिर जोडतोडले उठिरहेको छ । दुई अध्यक्षबीचको खटपटले धेरैलाई खुसी तुल्याएको छ भने कतिपयको चिन्तासमेत बढेको छ ।

तर, केही दिनयता दुवै अध्यक्षबीचको सम्बन्ध राम्रो हँुदै गएको नेकपा नेताहरूको दाबी छ । भेनेजुएला प्रकरणमा दुवै अध्यक्षबीचमा खटपट र दूरी बढेको देखिए पनि त्यो बिस्तारै सामान्य हुँदै गएको नेताहरू बताउँछन् ।

नेकपा स्थायी कमिटीका सदस्य योगेश भट्टराईले दुई अध्यक्षलाई जुधाउन खोजिए पनि त्यो सम्भव नभएको बताए । दुवै अध्यक्षका बीचमा पछिल्लो समय बढ्दै गएको दूरी सामान्य बनेको उनले बताए ।

‘भेनेजुएला प्रकरणमा दुई अध्यक्षलाई जुधाउन खोजेर आफ्नो निश्चित स्वार्थ पूरा गर्न खोजियो तर उहाँहरूबीचको सम्बन्ध पहिलाजस्तै भएको छ,’ भट्टराईले भने, ‘दुई अध्यक्षलाई जुधाएर कसैले केही पाउनेवाला छैन, नेकपा एक ढिक्का छ र एक ढिक्का भएर अगाडि बढ्छ ।’

भेनेजुएला प्रकरणबाट चिसिएको सम्बन्ध दुवै अध्यक्षबीच भएको वान टु वान वार्ता र छलफलले बलियो बनेको छ । भेनेजुएला प्रकरण अध्यक्ष प्रचण्डले जारी गरेको प्रेस विज्ञप्ति र पार्टी सचिवालयले सार्वजनिक गरेको विज्ञप्तिको सार कुरा एउटै भएको नेताहरू बताउँछन् ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पारे । पार्टी सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक भएको र यसमा बढी अल्झिरहनु आवश्यक नभएको उनले बताए ।

यो विषयमा पार्टीका अध्यक्ष दाहालले विज्ञप्ति जारी गरेर भयानक गल्ती नगरेको पनि स्पष्ट पारे । उनले भने, ‘नेपालस्थित अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भइसकेको छ । राजदूतसँगको भेटमा अध्यक्ष प्रचण्डले हाम्रो वक्तव्य यो ‘स्पिरिट’ मा आएको हो भनेर भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।’

यो विषयलाई लिएर शनिबार नै अध्यक्षद्वय ओली र प्रचण्डबीच तीन घण्टा लामो छलफल भएकोे उनले बताए । ‘दुवै अध्यक्षबीच तीन घण्टा कुराकानीमा मिलेर जाने सहमति भएको छ,’ उनले भने, ‘अहिले देखिएका सबै समस्या हल गरेर जाने सहमति भएको छ ।’ प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच आगामी दिनमा मिलेर जानेबारे गम्भीर छलफल र कुराकानी भएको पनि पौडेलले जनाए । उनले भने, ‘सरकार सञ्चालन गर्दा मिलेर अघि बढ्ने र निर्णय गर्दा सल्लाह गर्नेबारे उहाँहरूबीच सहमति भएको छ ।’ पार्टी एकीकरणको कामलाई दुवै अध्यक्षले पहलकदमी लिने र अघि बढ्नेमा पनि सहमति भएको पौडेलले बताए । ‘पार्टीभित्र अन्तरसंघर्षमा नफस्नेबारे पनि उहाँहरूबीच कुरा भएको मैले पाएको छु,’ उनले भने ।

नेता पौडेलले पूर्वप्रधानमन्त्री, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले वक्तव्य जारी गर्दा शब्दहरू ख्याल गर्नुपर्नेमा जोड दिँदै उनले शब्द चयन गर्दा ख्याल गर्नुपर्ने र अरू कुनै पनि राष्ट्रलाई चिढ्याउन नहुनेमा ध्यान दिनुपर्ने बताए ।

नेपालले शान्ति प्रक्रिया मौलिक ढंगले टुंगो लगाउने काम गरिरहेको छ । तर, केही अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू र केही संघ÷संस्थाले यो विषयलाई उचाल्ने काम गरेको उनको आरोप छ । उनले भने, ‘संघ÷संस्थाहरू भनेर मैले कांग्रेसलाई भन्न खोजेको होइन । कांग्रेस त शान्ति प्रक्रिया टुंगो लगाउन दृढ छ । हामी सबै मिलेर कोसिस गरिरहेका छौं ।’

वर्तमान सरकार गठन भएको एक वर्ष पुग्न लागेको छ । यो एक वर्षको कार्यकाल हेर्दा सरकार सापेक्षित रूपमा सफल भएको दाबी पौडेलको छ । उनले भने, ‘सरकारको एक वर्ष सापेक्षित रूपमा सफल छ तर उत्साहजनक छैन ।’

नेता पौडेलले थपे, ‘सरकारले यो अवधिमा केही काम गर्न प्रयत्न गरेको छ । त्यही भएर असफल नै भनेर भन्न मिल्दैन । दुई तिहाइको सरकार छ । त्यही भएर जनताका असीमित चाहना छन् । ती चाहना सम्बोधन नहुँदा आलोचनाको मात्रा बढेको हो ।’

(Visited 95 times, 1 visits today)
Loading comments...