मंगलवार १० बैशाख, २०७६ (Tuesday, 23rd April 2019)
१० बैशाख, २०७६ (23 April 2019)

नेविसंघ अध्यक्ष नैनसिंह महरद्वारा राजीनामा बुझाउने तयारी

राजधानी समाचारदाता
2 months ago
11/02/2019

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिने भएका छन् ।

सोमबारको काँग्रेस केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष शेरबहादुर देउवालाई अध्यक्ष महरले राजीनामा बुझाउने तयारी गरेका हुन् । काँग्रेस केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ ।

पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब बढेपछि महरले राजीनामा दिन लागेका हुन् । कांग्रेस केन्द्रीय समितिको बैठकले तदर्थ समिति गठन गर्ने तयारी गरेको थियो ।

नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आएको थियो । त्यसैले गत २७ पुसमै महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले राजीनामा दिएका थिए ।

११ औं महाधिवेशनबाट निर्वाचित महर नेतृत्वको नेविसंघको कार्यसमितिको म्याद भदौ २ गतेसम्म थियो । तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद माघ २ गते सकिएको छ ।

पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले गत पुस २८ गते महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । तर, पुस २८ गते पनि महाधिवेशन सुरु हुन नसक्ने भएपछि नेविसंघको वर्तमान कार्यसमिति संकटमा परेको थियो ।

(Visited 13 times, 1 visits today)
Loading comments...