सोमवार ६ फाल्गुण, २०७५ (Monday, 18th February 2019)
६ फाल्गुण, २०७५ (18 February 2019)

ट्राफिक चेकिङमा चल्छ सबैभन्दा बढी घुस

केशवप्रसाद पाण्डे
7 days ago
12/02/2019

 

काठमाडौँ । ट्राफिक प्रहरीले गर्ने सवारी चेकजाँचका क्रममा चालकले बढी घुस दिन खोज्ने गरेको पाइएको छ । प्रहरी तथा सर्वसाधारणका यस्ता व्यवहारमा नियन्त्रण गर्न भन्दै प्रहरीले सुरु गरेकोे घुस लिने र दिने दुवैलाई कारबाहीमा ल्याउने अभियानले यस्तो देखाएको हो । घुस दिने र लिने दुवै समाजका शत्रु भएको र यस्ता कार्यबाट गलत प्रवृत्ति बसेको भन्दै प्रहरीले यस्तो अभियान सुरु गरेको थियो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीकी प्रवक्ता एसएसपी पूजा सिंहले ट्राफिक प्रहरीले गर्ने सवारी चेकजाँचका क्रममा बढी घुस दिन खोज्ने भेटिएको बताइन् ।मादक पदार्थ सेवन गरेर सवारी चलाउने, कागजात नभएका तथा कागजात अद्यावधिक नगर्ने सर्वसाधारणले प्रहरीलाई प्रभावमा पार्नका लागि यस्तो अनुरोध गर्ने, कागजातका बीचमा रकम राखेर दिनेजस्ता गतिविधि गर्ने गरेको पाइएको प्रवक्ता सिंहले बताइन् ।

हालसम्म प्रहरीलाई घुस दिएर प्रभावमा पार्न खोज्ने ३६ भन्दा बढीलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार उनीहरूलाई समेत प्रचलित कानुनअनुसार मुद्दा चलाउने र घुस दिएको अवस्था तथा रकमको परिणामलाई आधार बनाएर सोहीअनुरूपको कारबाही गर्ने गरिएको छ । यस्तो अवस्थामा २ सयदेखि ३ हजार रुपैयाँसम्मको रकम दिने गरेको पाइएको छ ।
त्यसपछि सर्वसाधारणले घुस दिन खोज्नेमा प्रहरी र ट्राफिक प्रहरीको संयुक्त चेकजाँचलगायतका पर्छन् । यस क्रममा आफ्नो गलत गतिविधि ढाकछोप गर्न तथा सम्भावित कारबाहीबाट जोगिन उनीहरूले यस्तो हर्कत गर्ने गर्दछन् । प्रहरीले यसका लागि फिल्डमा खटिने प्रहरी अधिकृत तथा जवानको गतिविधिलाई अनुगमन गर्न छुट्टै प्रहरीको टोली खटाउने गरेको छ ।

उपत्यकाका २१२ प्रहरी कारबाहीमा, ३१२ पुरस्कृत

उपत्यकाका काठमाडांै, ललितपुर र भक्तपुर जिल्लामा गरेर ६ महिनाको अवधिमा २१२ प्रहरी कारबाहीमा परेका छन् । चालू आर्थिक वर्षमा हालसम्म कारबाहीमा पर्नेमा उच्च अधिकारीदेखि जवानसम्मका प्रहरी रहेका छन् ।
महानगरीय प्रहरी कार्यालय मातहतका तीन जिल्लाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरू घुस लिने तथा प्रहरी नियमविपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा कारबाहीमा परेका हुन् ।

कारबाहीमा पर्नेहरूमा २ डीएसपी, १२ असई, १० सई, ४८ प्रहरी हबल्दार, १३६ प्रहरी जवानलगायत छन् । उनीहरूलाई निलम्बनदेखि नसिहत र पदोन्नत्ति रोक्कासम्मका कारबाही गरिएको छ । यस्तो कारबाहीमा ८८ लाई नसिहत दिइएको, ४८ लाई निलम्बन, ८ को पदोन्नत्ति रोक्का, १८ को तलब वृद्धि घटुवा, १५ को तलब वृद्धि रोक्का, एकलाई सेवाबाट बर्खास्त, १९ लाई सेवाबाट हटाइएको, १५ को सुरुको तलब स्केलमा घटुवा गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी आचरणविपरीतका गतिविधिमा संलग्न रहेकाले उनीहरूलाई कारबाही गरिएको महानगरीय प्रहरी कार्यालयकी प्रवक्ता एवं एसएसपी पूजा सिंहले जानकारी दिइन् ।

प्रहरीले उत्कृष्ठ कार्य गरेबापत ३१२ प्रहरीलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा प्रहरी वरिष्ठ उपरीक्षकदेखि जवानसम्म रहेका छन् ।  पुरस्कृत हुनेहरूमा एक जना वरिष्ठ उपरीक्षक, एक उपरीक्षक, १४ प्रहरी निरीक्षक ३२ प्रहरी नायब निरीक्षक, ४७ सहायक निरीक्षक ६१ प्रहरी हबल्दार, १४१ प्रहरी जवान र तीन अन्य प्रहरी कर्मचारी रहेका छन् । प्रहरीका अनुसार प्रहरीको व्यावसायिकता तथा स्वच्छतालाई कायम र उत्कृष्टलाई सम्मान र निकृष्टलाई कारबाही गर्ने गरिएको हो ।

(Visited 63 times, 1 visits today)
Loading comments...