सोमवार ६ फाल्गुण, २०७५ (Monday, 18th February 2019)
६ फाल्गुण, २०७५ (18 February 2019)

एक डाक्टरको भागमा १२ सय बिरामी ,पालो पाउन घण्टौं कुर्नुपर्ने बाध्यता

प्रशान्त वली
7 days ago
12/02/2019

काठमाडौं । एक डाक्टरको भरमा १ हजार २ सय नागरिकले उपचार सेवा लिनुपर्ने बाध्यता छ । दूरदराजका गाउँमा त अझै डाक्टर उपलब्ध हुनै मुस्किल छ । उपलब्ध भएका ठाउँमा पनि बिरामीले डाक्टरको उपचार पाउन निकै कठिन हुने गरेको छ ।
नेपाल मेडिकल काउन्सिलका अनुसार देशभर २३ हजार ७५१ डाक्टर छन् । जसअन्तर्गत २१ हजार ३३ मेडिकल डाक्टर, २ हजार ७१८ डेन्टल डाक्टर छन् । पुरुष डाक्टरको संख्या १४ हजार १२६ र महिला डाक्टरको संख्या ६ हजार ९०७ छ ।
केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसार नेपालको कुल जनसंख्या ३ करोड बढी छ । यसरी हेर्दा एउटा डाक्टरको भरमा १ हजार २ सय नागरिक पर्छन् । बिरामीको अनुपातमा डाक्टरको संख्या न्यून हुँदा बिरामीहरूलाई उपचार सेवामा समस्या हुने गरेको छ ।

जिल्लामा पर्याप्त डाक्टर नहुँदा बिरामीले घण्टौं कुरेपछि मात्रै पालो आउँछ । बिरामीको चाप अस्पतालमा भए पनि पर्याप्त दरबन्दी पूर्ति हुन सकेको छैन । सरकारले एक स्थानीय तह एक अस्पतालको नारा अघि सारे पनि कार्यान्वयनमा आउन सकेको छैन। संघीय शासनको मर्म भनेकै जनताको घरदैलोमा नै सेवा दिनु हो तर स्वास्थ्य क्षेत्रमा नागरिकहरु घण्टौ धायर र पर्खिएर सेवा लिन विवश छन् ।
। ७५३ स्थानीय तह रहे पनि २ हजारदेखि २ हजार ५ सयको हाराहारीमा मात्रै चिकित्सकहरू सरकारी सेवामा कार्यरत छन् । जसकारण बिरामीहरू जिल्ला सदरमुकाम धाउन बाध्य छन् ।
बिरामीको चाप थेग्न डाक्टरहरूको दरबन्दी थप्नुपर्ने नेपाल चिकित्सक संघले जनाएको छ । अझै ५ हजार दरबन्दी थप्नुपर्ने संघका महासचिव डा. लोचन कार्कीले बताए ।

उनले भने, ‘नेपालमा कति डाक्टर कार्यरत छन् भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन । हाल करिब १५ हजार डाक्टर मात्रै कार्यरत छन् । यसरी हेर्दा एक डाक्टरले २ हजार बिरामी हेर्नुपर्छ ।’
संघका महासचिव कार्कीका अनुसार बेडको आधारमा भन्दा सेवाको आधारमा अस्पतालको वर्गीकरण गरिनुपर्ने देखिन्छ ।
संघले डाक्टर सजिलैसँग दुर्गममा जान माने पनि सुरक्षाको ग्यारेन्टी, उपकरणको पर्याप्तता हुनुपर्ने बताएको छ ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटाले नेपालमा कार्यरत सबै चिकित्सकहरूको नामावली वेव पेजमा राख्ने व्यवस्था मिलाइएको बताए ।

उनले भने, ‘काउन्सिलमा दर्ता हुन योग्य सबै तहका चिकित्सकहरूको नाम, विषय तथा योग्यता वेव पेजमा राख्ने व्यवस्था मिलाइएको छ । मेडिकल कलेजहरूको पनि वर्गीकरण गरिएको छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले हरेक स्थानीय तहमा चिकित्सकहरूको दरबन्दी क्रमिक रूपमा थप गरिने बताए । उनले भने, ‘सबै स्थानीय तहमा चिकित्सकहरूको दरबन्दी सिर्जना हुन्छ । यसरी हेर्दा सबै स्थानीय तहमा २ हजार १ सय चिकित्सकहरूको आवश्यक पर्छ । संघ, प्रदेश र स्थानीय तहमा ६ हजार चिकित्सकहरू आवश्यक पर्ने भन्दै क्रमिक रूपमा पूर्ति गरिने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए ।

(Visited 39 times, 1 visits today)
Loading comments...