सोमवार ६ फाल्गुण, २०७५ (Monday, 18th February 2019)
६ फाल्गुण, २०७५ (18 February 2019)

स्वास्थ्यमा मनपरी लाइसेन्स रोक

सम्पादकीय
7 days ago
12/02/2019

 

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई मनपरी लाइसेन्स वितरण गरिएको छ । स्वास्थ्य व्यवसायी परिषद्ले एक वर्षमै ९ हजार ६ सय स्वास्थ्यकर्मीलाई हचुवामा लाइसेन्स उपलब्ध गराएको तथ्यांक सार्वजनिक भएको छ । सरकारले स्पष्ट मापदण्ड र आधारबिना नै यसरी हचुवामा लाइसेन्स बाँड्दै जाने हो भने जस्तासुकै व्यक्तिहरूले पनि लाइसेन्स पाउन सक्ने भय रहन्छ । असक्षम र अयोग्यले लाइसेन्स पाउने र उनीहरूबाट स्वास्थ्य सेवा लिनुपर्ने अवस्था आयो भने नागरिकको स्वास्थ्यमा कस्तो असर पर्न सक्ला ? यस विषयमा सरोकारवाला निकायले ठन्डा दिमागले सोच्नैपर्ने हुन्छ ।
सरकारी निकायबाट यसरी हचुवामा लाइसेन्स वितरण गरिनुलाई स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रप्रति सरकार संवेदनशील नभएको देखाउँछ । स्वास्थ्यविद्हरूले पनि यसमा गम्भीर चिन्ता र चासो व्यक्त गरेका छन् ।

स्वास्थ्य परिषद् बोर्ड आफैंले पूर्णता नपाइरहेको अवस्थामा उक्त बोर्डद्वारा यसरी लाइसेन्स वितरण गरिनु चिन्ताको विषय हो । सर्सर्ती हेर्दा परिषद्ले शैक्षिक प्रमाणपत्रका आधारमा यो लाइसेन्स वितरण गरेको देखिन्छ । तर, यसका केही प्रावधान सावधानीपूर्वक पूरा नगरिएको भनेर सार्वजनिक चिन्ता जाहेर पनि भइरहेका छन् । कानुन र प्रावधानअनुसार सम्बन्धित विश्वविद्यालयबाट उत्तीर्ण गरिएका शैक्षिक प्रमाणपत्रलाई विषयगत समितिमा प्रस्तुत गरिनुपर्ने हुन्छ । यसरी पेस गरिएको प्रमाणपत्रमाथि विषयगत समितिले छानबिन गरी बोर्डमा पठाउने र बोर्डले पास गरेपछि मात्र लाइसेन्स दिने प्रावधान रहेको छ । तर, यी प्रावधानअन्तर्गत तय गरिएका प्रक्रियाभित्र नरहेर पेस गरिएका प्रमाणपत्र हेरेर मात्र लाइसेन्स दिने गरिएको छ ।
यसरी, प्रमाणपत्र लिनेहरूको संख्या हालसम्म १ लाख १० हजार २१० पुगेको छ । लाइसेन्स लिनेहरूमा जनस्वास्थ्य, स्वास्थ्य शिक्षा, मेडिसिन, मेडिकल माइक्रोबायोलोजी, ल्याबोरेटरी, रेडियोग्राफी, रेडियो थेरापी, काइट्रोलोजी, हेमाटोलोजी, बायोकेमेस्ट्री र भाइरोलोजीसँग सम्बन्धित छन् । चिकित्सा शिक्षा विधेयक भर्खरै मात्र पारित हुनु, परिषद्को बोर्डले अझैंसम्म पूर्णता नपाउनु र विधेयकले तय गरेका प्रक्रिया आफैंमा अमूर्त हुनु र भएका पनि लागू नभइरहेका बखत परिषद्द्वारा गरिएका लाइसेन्स वितरणप्रति धेरैको आशंका रहेको छ । अर्को महŒवपूर्ण कुरा त बोर्डको पूर्णताबिना नै यसले गरेको निर्णय भनी लाइसेन्स वितरण कार्य गरिनु आफैंमा सोचनीय छ ।

चिकित्सा शिक्षा अध्ययन निकै महँगो हुने भएकाले अध्ययनपश्चात् सोको रकम उठ्तीका लागि स्वास्थ्यकर्मीहरू छिट्टै व्यवसायमा संलग्न हुनुपर्ने एउटा व्यावहारिक बाध्यता त छँदै छ । तर पनि उनीहरू संलग्न हुने व्यवसाय भनेको मानव जीवनसँग जोडिएको निकै संवेदनशील व्यवसाय र क्षेत्र हुने भएकाले यसमा निकै गम्भीर हुनु जरुरी छ । मानव जीवन भनेको फर्काउन वा फेर्न सकिने वा नयाँ किन्न सकिने कुरा होइन । यो प्रयोगशाला पनि होइन । त्यसैले, स्वास्थ्यकर्मीहरूले आफ्ना पेसा र व्यवसायमा हेलचेक्र्याइँ वा गल्ती गर्न छुट छैन र त्यस्तो अवस्था आउन पनि दिनुहँुदैन । लाइसेन्स दिँदा नेपाल बार काउन्सिल र मेडिकल काउन्सिलले जस्तै विषयगत परीक्षा लिएर उत्तीर्ण हुनेहरूलाई मात्रै लाइसेन्स दिने व्यवस्था गरिनुपर्छ । त्यसैले, परिषद्ले पैसा उठाउनकै लागि लाइसेन्स वितरण गर्ने कार्य आपत्तिजनक छ । यो गम्भीर सार्वजनिक स्वास्थ्य र चासोको विषय भएकाले जथाभावी लाइसेन्स वितरण कार्य तत्काल बन्द गरिनुपर्छ ।

(Visited 15 times, 1 visits today)
Loading comments...