सोमवार ६ फाल्गुण, २०७५ (Monday, 18th February 2019)
६ फाल्गुण, २०७५ (18 February 2019)

बढी विषादी बिक्री गर्नेलाई एक लाख जरिमाना

कौशिला कुँवर
6 days ago
12/02/2019

काठमाडौं । कृषि उत्पादन बढाउनका लागि हदबन्दीभन्दा बढी विषादी बिक्री वितरण गर्नेलाई १ लाख रुपैयाँ जरिमाना गरिने भएको छ । जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उक्त व्यवस्था गरिएको छ । कसैले जीवनाशक विषादीको जथाभावी प्रयोग गर्न तथा त्यस्तो विषादीको अवशेष हदभन्दा बढी मात्रा हुने गरी उत्पादन तथा बिक्री वितरण गर्न नपाइने विधेयक प्रस्तावनाको दफा १७ मा उल्लेख छ । सो विपरीत गरेमा ५० हजारदेखि १ लाखसम्मको जरिमाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

मिसावट गरिएको वा कम गुणस्तरको जीवनाशक विषादी भएको कुरा विश्वास गर्ने आधार भएमा कसैले पनि त्यस्तो विषादी बिक्री, वितरण भण्डारण वा प्रयोग गर्न÷गराउन नपाइने व्यवस्था छ । यसैगरी, जीवनाशक विषादीको बिक्री वितरण गर्ने व्यक्ति वा संस्थाले सुरक्षित जीवशाक विषादी तथा सो विषादी प्रयोग र विसर्जन गर्दा लगाइने सुरक्षित पहिरनसमेत बिक्रीका लागि राख्नुपर्नेछ ।

जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी पैठारी, व्यावसायिक प्रयोग, भण्डारण वा बिक्री वितरण तथा ओसारपसार गर्दा तोकिएबमोजिमका सुरक्षात्मक उपाय अपनाउनुपर्ने व्यवस्था प्रस्तावनामा छ । यस ऐनबमोजिम जुन उद्देश्यका लागि जीवनाशक विषादीको पञ्जीकरण गरिएको हो, सोही प्रयोजनका लागि मात्र जीवनाशक विषादीको प्रयोग गर्नुपर्नेछ । जीवनाशक विषादी पैठारी गर्नुअघि सो विषादीको कन्टेनर र नेपालीमा लेखिएको सुचकपत्रसमेत केन्द्रबाट स्वीकृत गराएर मात्र प्रयोग गर्नु÷गराउनुपर्ने व्यवस्था विधेयकमा छ ।

 

 

मिसावट गरिएको वा कम गुणस्तरको जीवनाशक विषादी भएको विश्वास गर्ने आधार भएमा त्यस्तो विषादी बिक्री वितरण, भण्डारण वा प्रयोग गर्न÷गराउन नपाइने

 

यसैगरी, उक्त विधेयकमा विषादी प्रयोग गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने, जीवनाशक विषादी छर्कने व्यवसाय गर्न चाहने कुनै व्यक्ति, संस्था वा निकायले सो कार्य गर्नुपूर्व केन्द्रबाट इजाजत लिनुपर्ने व्यवस्था गरिएको विधेयकको दफा ८ मा उल्लेख छ । सो दफाले जीवनाशक विषादीको उत्पादन, निकासी पैठारी, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार, प्याकिङ वा पुनः प्याकिङ वा जीवनाशक विषादी छर्कन चाहनेलाई तीन वर्षसम्मको इजाजतपत्र दिने व्यवस्था गरेको छ । इजाजत लिँदा शर्त पूरा गर्नुपर्ने हुन्छ । शर्त उल्लंघन गरे इजाजत रद्द हुनेछ । बोटबिरुवा, कृषिजन्य पदार्थ, वन तथा वन पैदावार, जीव, पशुपक्षी तथा जनस्वास्थ्यमा हानि पु¥याउने रोग कीरा, सुलसुले, झारपात, मुसालगायतबाट बचाउन प्रयोग गरिने प्रांगारिक, वनस्पति, जैविक तथा रासायनिक वस्तुलाई विधेयकले जीवनाशक विषादी भनेर स्पस्ट पारेको छ । त्यसैगरी, विषादी परीक्षण गर्न प्रयोगशाला विधेयकमा जीवनाशक विषादीको गुणस्तर तथा अनुसन्धानात्मक परीक्षणलगायतका कार्य गर्नका लागि छुट्टै जीवनाशक विषादीसम्बन्धी प्रयोगशाला स्थापना गर्न सकिने व्यवस्था गरिएको छ ।

छुट्टै प्रयोगशाला स्थापना नभएसम्मका लागि मन्त्रालयले नेपाल सरकारको लगानीमा सञ्चालित वा निजीस्तरका मान्यता प्राप्त प्रयोगशालालाई जिम्मेवारी दिन सक्ने विधेयकमा उल्लेख छ ।

यी सबै गतिविधि तथा जीवनाशक विषादी व्यवस्थापन गर्न आवश्यक नीति निर्धारण गर्नका लागि ‘जीवनाशक विषादी व्यवस्थापन समिति’ गठन गर्ने व्यवस्था छ ।

कृषि मन्त्रालयका सचिवको अध्यक्षतामा रहने उक्त समितिमा वातावरण मन्त्रालयका सचिव, कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक, स्वास्थ्य सेवा विभागका प्रमुख, विषादी विशेषज्ञ, वन विशेषज्ञ र कृषक उपभोक्तामध्येबाट मन्त्रालयले नियुक्त गरेको एक महिलासहित तीन जना सदस्य रहनेछन् ।

 

 

 

 

 

 

 

(Visited 22 times, 1 visits today)
Loading comments...