बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

नेपालमा वैदेशिक लगानी गर्न आग्रह

राजधानी समाचारदाता
6 months ago
12/02/2019

 

काठमाडौं। नेपालमा वैदेशिक लगानी गर्न नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले सार्क देशका रोजगारदाता एवं लगानीकर्तालाई आग्रह गरेका छन् ।

दक्षिण एसियाली रोजगारदाता मञ्चको सोमबारदेखि नयाँ दिल्लीमा सुरु भएको आठौं बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानुन निर्माण भएका कारण रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो भएको भन्दै सबैलाई आग्रह गरेका हुन् । उनले मुलुकले राजनीतिक स्थायित्व पनि प्राप्त गरेकाले लगानीको वातावरण बनेको जिकिर गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रहेका ढकालले नेपालमा लामो राजनीतिक संक्रमणपछि स्थिर सरकार बनेको र लगानीमैत्री वातावरण निर्माण हुने अपेक्षा गरिएकाले नेपालका कृषि, पर्यटन, ऊर्जा, सेवा क्षेत्रलगायतका क्षेत्रमा लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह गरे ।

सरकारले आगामी महिना लगानी सम्मेलनको आयोजना गरेको र नेपालमा लगानीका थुप्रै सम्भावना रहेको स्मरण गराउँदै उनले उक्त सम्मेलनमा सहभागी भई नेपालमा तिनको अध्ययन र पहिचान गर्न सार्क क्षेत्रका लगानीकर्तालाई आमन्त्रणसमेत गरेका छन् ।

श्रमिकका समस्याका विषयलाई सम्बोधन गर्ने गरी श्रमसम्बन्धी कानुन निर्माण भएको, देशमा राजनीतिक स्थिरता देखिएको र वैदेशिक लगानीका लागि लगानीमैत्री वातावरण निर्माणमा सरकार लागिपरेको उनको भनाइ थियो । नेपालमा सम्भावना रहेका कैयौं क्षेत्रमा लगानी गरी पारस्परिक आर्थिक लाभ लिन सार्क क्षेत्रका लगानीकर्तालाई उनको आग्रह थियो ।

उनले सरकारद्वारा हालै जारी गरिएका श्रम तथा सामाजिक सुरक्षासम्बन्धी कानुनको कार्यान्वयनका साथै श्रम बजारको विस्तार एवं प्रादेशिक रूपमा श्रमिकको क्षमता अभिवृद्धि गरी मुलुकमा औद्योगिक विकास र प्रवद्र्धनमा जोड दिए । दक्षिण एसियाका लगानीकर्ता एवं रोजगारदाताले यस खालको मञ्चबाट निकै फाइदा लिन सक्ने धारणा राख्दै ढकालले सार्क मुलुकमा आर्थिक, सामाजिक, सांस्कृतिक तथा लगानीका क्षेत्रमा पनि साझा खालका अवसर र चुनौती रहेकाले यस्ता मञ्चबाट साझा लाभ लिन सकिने बताए ।

दक्षिण एसियाली क्षेत्रका सरकारलाई पनि आर्थिक सामाजिक क्षेत्रको विकास तथा आपसी आर्थिक हित प्रवद्र्धनका लागि आवश्यक र उपयुक्त नीति बनाउन यस्ता मञ्चबाट सामूहिक रूपमा सुझाव दिन या आग्रह गर्न सकिने उनको भनाइ थियो ।

उनले रोजगारतादाहरूको साझा मञ्चमार्फत सार्क क्षेत्रमा लगानी प्रवद्र्धन गर्न, आर्थिक हितका साझा मुद्दामा मिलेर काम गर्न, पर्यटन, ऊर्जा, सेवा क्षेत्रलगायतमा लगानीका सम्भावनाको पहिचान गरी द्विपक्षीय एवं बहुपक्षीय रूपमा लाभ लिनेगरी पारस्परिक सहयोगको वातावरण निर्माण गर्न पनि सबैसँग आग्रह गरे ।

दक्षिण एसियाली रोजगारदाता मञ्चको नयाँ दिल्लीमा सोमबार देखि सुरु भएको यो आठौं बैठक हो । यो बैठक तीन दिनसम्म चल्नेछ । यस बैठकमा नेपाललगायत सार्क राष्ट्रका रोजगारदाताहरूको सहभागिता रहेको छ ।

सार्क देशका उद्योग वाणिज्य संघ, महासंघ तथा चेम्बर अफ कमर्सलगायतमा आबद्ध रोजगारदाताहरू सम्मिलित यस मञ्चमार्फत रोजगारदाताले आफ्ना क्षेत्रका समस्या, सम्भावना र चुनौतीको खोजी गरी तिनको समाधानका उपायबारे छलफल गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीबाट ढकालले जानकारी दिएका हुन् ।

 

 

 

(Visited 28 times, 1 visits today)
Loading comments...