शनिवार ७ भाद्र, २०७६ (Saturday, 24th August 2019)
७ भाद्र, २०७६ (24 August 2019)

साढे ४ लाख भूकम्पपीडित तेस्रो किस्ता बाहिरै

टेनिस रोका
6 months ago
12/02/2019

काठमाडौं। निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ता भुक्तानी लिएका करिब ४ लाख भूकम्पपीडितले तेस्रो किस्ता नलिएको पाइएको छ ।कुल ८ लाख ११ हजार १ सय ५४ मध्ये ७ लाख ४९ हजार १५५ अर्थात् ९२ प्रतिशत भूकम्पपीडितले विभिन्न मितिमा अनुदान सम्झौता गरेका थिए । तीमध्ये ९९ प्रतिशत अर्थात् ७ लाख ४९ हजार १५५ ले पहिलो किस्ता बुझेका छन् । त्यसको तुलनामा करिब ५० प्रतिशत पीडितले अझै तेस्रो किस्ता नलिएको र मागसमेत नगरेका हुन् ।

पुससम्म तेस्रो किस्ताका लागि ५१ प्रतिशत अर्थात् ३ लाख ८१ हजार ८४८ ले मात्र रकम माग गरेका छन् । जसमा ३ लाख ७१ हजार ८१८ अर्थात ५० प्रतिशत प्रमाणीकरण भइसकेको छ भने ३ लाख ४९ हजार १४३ अर्थात ४७ प्रतिशतले भुक्तानी समेत लिइसकेका छन् । त्यसको तुलनामा ५० प्रतिशत बढी भूकम्पपीडितले अझै पनि तेस्रो किस्ता नबुझेको पाइएको छ ।
तेस्रो किस्ता नलिने ५० प्रतिशतको संख्या रहे पनि दोस्रो किस्ता भने ७० प्रतिशत बढीले लिएको पाइएको छ ।

पहिलो किस्ता लिएकामध्ये ७३ प्रतिशत अर्थात् ५ लाख ४३ हजार ९७८ ले दोस्रो किस्ताका लागि माग गरेका छन् भने ५ लाख २८ हजार ४०५ अर्थात् ७१ प्रतिशतले दोस्रो किस्तासमेत बुझिसकेका छन् ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ७७ प्रतिशत अर्थात् ५ लाख ७८ हजार ८४७ वटा घर निर्माण कार्य सुरु भएको जनाएको छ । सरकारले आगामी असारसम्म निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ता लिन समयावधि तोकेको छ । अबको करिब चार महिनाभित्र निजी आवास पुनर्निर्माण लाभग्राहीले अनुदान रकमको पहिलो किस्ता नलिए अनुदान रकम नपाउने  भएका हुन् ।

 

 

 जम्मा लाभग्राही ८ लाख ११ हजार १५४
 प्रथम किस्ता भुक्तानी लिने ९९ प्रतिशत
 तेस्रो किस्ता माग गर्ने ५१ प्रतिशत मात्रै

 

गत ३ माघमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले निजी आवास पुनर्निर्माण सम्पन्न गरी अनुदान लिन सबैमा अनुरोध गर्दै असार २०७६ सम्मको समय तोकेको थियो ।
सरकारले निजी घर बनाउने क्रममा अनुदान रकममा सम्झौता नै नगरी घर बनाएका घरधनीलाई समेत अनुदान दिन सहजता प्रदान गरेको छ । अब उनीहरूले नयाँ घर बनाएर बसोबास गरेको सिफारिस स्थानीय तहले गरिदिएको आधारमा नै सहज रूपमा एकमुष्ठ ३ लाख पाउने भएका हुन् । सरकारले गत २१ भदौको निर्णय सरल र व्यावहारिक बनाउने भन्दै एकमुष्ठ ३ लाख अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।

यसअघि भदौमा प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि नक्सा र प्राविधिक उपलब्ध गराउन विलम्ब भएकाबाट आफैं घर निर्माण गरिसकेका निजी घरधनी लाभग्राहीलाई सम्बन्धित स्थानीय तहले सुरक्षित घर निर्माण गरी घरधनी बसोबास गर्दै आएको प्रमाणीकरण गरेर सिफारिस गरिदिएको आधारमा अनुदान रकम एकमुष्ठ ३ लाख उपलब्ध गराउने निर्णय गरेको थियो । तर, सो निर्णय कार्यान्वयनमा कठिनाइ उत्पन्न भएपछि त्यसलाई सहज र व्यावहारिक बनाउन भन्दै सरकारले निर्णय संशोधन गर्दै सहज पारिदिएको हो ।
यसअघि सुरक्षित घर निर्माण गरेको सिफारिस अनिवार्य गरेकोमा अब भने आफैं घर निर्माण गरेर बसोबास गरेको स्थानीय तहले प्रमाणीकरण गरेर सिफारिस गरेकै आधारमा अनुदानको एकमुष्ठ ३ लाख पाउने भएका हुन् ।

(Visited 524 times, 1 visits today)
Loading comments...