मंगलवार १० आषाढ, २०७६ (Tuesday, 25th June 2019)
१० आषाढ, २०७६ (25 June 2019)

सचिव कुटपिट प्रकरण : अख्तियारले थाल्यो छानविन

सुजीतकुमार झा
4 months ago
12/02/2019

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ मा मन्त्री र सचिवबीच भएको कुटपिट काण्डको विषयमा छानविन शुरु गरेको छ ।

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको आरोपबारे सरकारले छानविन गरिरहेकै बेला आयोगले छानविन शुरु गरेको हो ।

कुटपिट काण्ड आर्थिक लेनदेनसँग सम्बन्धित भएकाले अख्तियार दुरुपयोग आयोगले यसको छानविन गर्न लागेको हो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमकै कारण उक्त काण्ड भएको कुरा बाहिर आएपछि अख्तियार दुरुपयोग आयोग, बर्दिवासले पनि यसको छानविन शुरु गरेको हो ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत आफ्नो एनजीओलाई कार्यक्रम नपारेको भन्दै मन्त्री यादवले सचिव झासँग विवाद भएको कुरा बाहिर आएपछि आयोगमा यसबारे उजुरी परेको थियो । उजुरी परेपछि आयोगले छानविन शुरु गरेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले सञ्चालन गर्न संस्था छनोटका फाइलहरु झिकाएर आयोगले छानविन शुरु गरेको छ ।

आयोगले अनुसन्धान शुरु गरेपछि पनि सरकारले छानविनका लागि गठन गरेको समिति आफ्नो प्रतिवेदन सरकारलाई अहिलेसम्म बुझाउन सकेको छैन । प्रदेश सरकारले गठन गरेको छानविन समितिमा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवसहित प्रदेश २ का मुख्य सचिव दीपक सुवेदी र कार्यालयका सचिव हरि फुयाल रहेका छन् ।

(Visited 300 times, 1 visits today)
Loading comments...