आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

गलत बीउ रोप्दाको परिणाम

सम्पादकीय
3 months ago
17/02/2019

मुलुकमा सुशासन कायम गराउने र भ्रष्टाचार रोक्ने मुख्य जिम्मेवारीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै आयुक्त घुस काण्डमा मुछिएको तथ्य सार्वजनिक हुनुले मुलुककै ठूलो बेइज्जत भएको छ । अख्तियारका आयुक्त राजनारायण पाठकले राजीनामा दिएसँगै उनले घुस लिएको पुष्टि आफैंले गरेका छन् ।
महाअभियोगबाट बच्न उनले यो चलाखी अपनाए पनि उनलाई कुनै पनि बहानामा उम्कने मौका दिनुहुँदैन । संविधानअनुसार भ्रष्ट संवैधानिक निकायका पदाधिकारीलाई पदमुक्त भएपछि छानबिन गरी कारबाही गर्ने अधिकार अख्तियारलाई नै छ त्यसैले संविधानले दिएको सो अधिकारअनुसार अख्तियारले पाठकमाथि गम्भीर छानबिन गर्न ढिलाइ गर्नुहँुदैन । भ्रष्ट पाठकलाई कानुनको दायरामा ल्याएर सजाय दिनैपर्छ । नत्र अन्य भ्रष्टको मनोबल उच्च भइरहन सक्छ । यसतर्फ अख्तियार नेतृत्व गम्भीर बन्न जरुरी छ ।

अख्तियारका आयुक्त यसरी घुस प्रकरणमा मुछिनुमा राजनीतिक नेतृत्व नै दोषी देखिन्छ । विगतमा गलत पात्र चयन गर्नुले उनीहरूको नालायकीपनलाई उदांगो पारिदिएको छ । विगतमा राजनीतिमा बढ्दो अपराधीकरण र माफियाकरणका कारण यस प्रकारका ‘साइड इफेक्ट’ देखा पर्दै आएका छन् । हिजोको दिनमा संवैधानिक निकायमा नियुक्ति पाउन राजनीतिक नेतृत्वकहाँ ब्रिफकेस लिएर धाउनुपर्ने मापदण्ड बनाइयो । लोकमानसिंह कार्कीहरूको नियुक्तिको समयमा सारा नेपालीले त्यो तथ्य बुझेकै हुन् । राजनीतिक नेतृत्वको मिलेमतोमा हिजो अख्तियारलगायतका निकायमा गलत बीउ रोपिएको थियो । यसैगरी, मुलुकका विभिन्न महŒवपूर्ण सार्वजनिक संस्थान तथा निकायमा राजनीतिक नियुक्ति गर्दा एक हातले ब्रिफकेस लिने र अर्को हातले नियुक्ति पत्र दिने डरलाग्दो प्रवृत्ति देखा पर्दै आएको तथ्य हामीसँग छ । त्यसैले पनि संवैधानिक निकायलगायतका अन्य सार्वजनिक संस्थानले प्रभावकारी रूपमा काम गर्न नसकेर पक्षघातले ग्रसित बन्दै गएको तीतो यथार्थ छ । अख्तियारमै पनि पाठकलगायतका केही व्यक्ति अमूक पार्टीका नेतालाई पैसा बुझाएकै भरमा आयुक्त भएका हुन् । सुशासन कायम गराउने निकायमा पैसा खाएर आयुक्त नियुक्त गर्नु राष्ट्रप्रतिको बेइमानी र अक्षम्य अपराध थियो । हिजोको दिनमा त्यस्तो अपराध ककसले गरेका थिए, त्यो आगामी दिनमा खोजीको विषय बनाइनुपर्छ । गलत मनसायले गलत बीउ रोप्ने अनि राम्रो फसलको आशा कसरी गर्न सकिन्छ ? पैसा खाएर नियुक्ति गर्नेहरूले त्यहाँ जाने व्यक्तिलाई घुस खाएर कुशासन मच्चाउने लाइसेन्स दिएका हुन भन्दा अत्युक्ति हुँदैन ।

अब इतिहासमा भएका गम्भीर अपराध र भूलबाट पाठ सिकेर राजनीतिक नेतृत्वले अख्तियारलगायतका सबै निकायमा पदाधिकारीहरू नियुक्ति गर्दा सक्षम, योग्य र इमानदार व्यक्तिलाई नियुक्ति गर्ने परिपाटी बसाल्न सक्नुपर्छ । अझै सकिन्छ भने त संवैधानिक परिषद्ले नै एउटा कार्यविधि बनाई असल र इमानदार व्यक्तिको रोस्टर बनाएर उनीहरूबाटै उपयुक्त पात्र छनोट गरी संवैधानिक परिषद्मा पठाउने जिम्मेवारी लोकसेवा आयोगलाई दिन सक्नुपर्छ । लोकसेवा आयोगले स्वतन्त्र रूपमा छनोट गरी पठाएका व्यक्तिलाई संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्न सक्ने व्यवस्था गरियो भने धेरै ठाउँमा शुद्धीकरण कायम हुन सक्छ । वर्तमान ओली नेतृत्वको सरकारले यो साहस गरेर मुलुकमा सुशासन कायम गराउने आफ्नो उद्देश्यलाई मूर्तरूप दिन सक्नुपर्छ । नत्र त्यही गलत परम्परा जस्तै संवैधानिक निकायलगायतका विभिन्न निकायमा गलत बीउ रोप्दै जाने हो भने मुलुकले आगामी दिनमा अझै अकल्पनीय पीडा भोग्दै जानुपर्नेछ र मुलुक कुशासनको भुमरीमा फस्दै जानेछ ।

(Visited 52 times, 1 visits today)
Loading comments...