आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

तीन धर्मको संगम स्थल हलेसी

श्यामप्रसाद मैनाली
1 month ago
18/02/2019

 


श्यामप्रसाद मैनाली

 

नेपालले मन्दिरैमन्दिर भएको देशको पहिचान बनाएको छ । करिब ८१ प्रतिशत हिन्दू धर्मावलम्बी छन् । ओमकार समाजसमेतलाई गणना गर्दा करिब ८९ प्रतिशत हिन्दू रहेका छन् । २०६३ सालको संविधान जारी हुनुभन्दा अगाडि यो विश्वको एक मात्र हिन्दू राष्ट्र हो । आराध्यदेव पशुपति महादेवबाट संरक्षित देशमा तीर्थस्थलको बाहुल्य रहनु स्वाभाविकै हो । नेपालको पशुपति महादेवको मन्दिरमा हिन्दुस्तानलगायत देशहरूबाट थुप्रै धर्मवलम्बी आउने र तीर्थको अवसर पाउँदा गौरवान्वित हुने गर्छन् । महादेवका मन्दिर धार्मिक तीर्थालुको ठूलो गन्तव्यका रूपमा देशभर पाइन्छन् । प्यागोडा शैलीमा निर्मित मन्दिरहरूले नेपाली हिन्दूको संस्कृति र सभ्यताका रूपमा पहिचान बनाएका छन् ।

तथापि, नेपालको पूर्वी भाग खोटाङमा भिन्नशैली र आफ्नै विशेषता भएको ‘पूर्वको पशुपतिनाथ’ भनिने हलेसी महादेवको मन्दिर छ । श्रद्धाका साथ पुकारिने यो तीर्थस्थल काठमाडौंबाट २३० किलो मिटरको दूरीमा रहेको छ । पूर्व–पश्चिम राजमार्गको उदयपुर हुँदै बीपी राजमार्गबाट घुर्मी हुँदै त्यहाँ पुगिन्छ । ठूलो संख्यामा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको आवागमन हुने यस तीर्थस्थलमा आसार र माघ महिनामा श्रद्धालु दर्शनार्थीको बाक्लो भीड लाग्छ ।

हलेसी मन्दिर गुफाभित्र रहेकाले पनि यसका आफ्नै विशेषता छन् । यसबारे केही ऐतिहसिक किम्बदन्ती रहेका छन् । पौराणिक कथामा उल्लेख भएअनुसार शकुनिका पुत्र ब्रिकासुर राक्षसलाई छोटो अवधिमा तपस्या गरेर खुसी पार्न सकिने देवताबाट वरदान प्राप्त गरी शक्ति प्राप्त गर्ने इच्छा भएछ । भगवान शंकर छिट्टै प्रसन्न हुने देवता हुन् भन्ने जानकारी प्राप्त गरी कठिन तपस्या गर्दा महादेव प्रसन्न भई जे वर मागे पनि दिने गरी वचनबद्ध बनाइए । भाङ–धतुरो खाई अर्धचेत अवस्थामा रहेकाले परिणामको ख्यालै नगरी उसले जसको शिरमा हात राख्दछ, ऊ भस्म होस् भनी मागेको वरदानमा महादेवले ‘तथास्तु’ भनी वरदान दिन पुगेछन् । वरदान प्राप्तिपछि महादेवकी धर्मपत्नी पार्वतीप्रति उसको कुभावना पैदा भएछ । उसले महादेवलाई नै भस्म पारी पार्वती आफ्नोे बनाउने निश्चित गरी महादेवलाई भस्म गराउन अघि बढ्दा महादेवलाई संकट परी पार्वतीलाई लिएर भाग्दै गरेछन् । संकट परेपछि महादेवले पर्वत छेडी गुफा बनाई ढोकामा आफ्नोे बसाहा र गलाको सर्पलाई राखी गुफाको भित्री भागमा गई बसेछन् । राक्षस आएपछि ढोकामा राखिएको शंख बजाई सूचना गर्न बसाहालाई दिएको निर्देशनअनुसार शंख बज्यो । बसाहा र सर्पले रोक्न सकेनन् ।

उनले अकस्मात पहाडलाई आकाशतर्फ तोडेर पार्वती तथा छोरा गणेश र कुमारलाई साथै राखी ओडारमा लुकाएछन् । महादेवको यो अवस्था देखेर देवताहरूमा कोलाहल मच्चिएछ । सबै विष्णु भगवानसमक्ष पुगी बिन्ती गरी महादेवलाई सहयोग गर्न अनुरोध गरेछन् । विष्णु एक रूपवती मोहिनीका भेषमा राक्षसकहाँ पुगे । उनले दक्ष प्रजापति रिसाएर सराप दिएपछि महादेव शक्तिविहीन भएको विश्वासमा पारी अनेकन हाउभाउ गरेर ब्रिकासुरलाई आफूसँग नाच्न लगाए । मोहिनीरूपी विष्णुले आफूजस्तै भावभंगिमासहित नचाउँदै जाँदा राक्षस पनि मोहिनीजस्तै आफ्नोे टाउकामाथि हात राखी नृत्य गर्न खोज्दा जलेर भस्म भएछ । तत्पश्चात् महादेव सन्तोषको सास लिँदै त्यही स्थानमा बसिराखेको विश्वास गरिन्छ । यही घटनापश्चात् ब्रिकासुरलाई भस्मासूर भन्न थालिएको हो । अर्को किंवदन्तीअनुसार सतीदेवीको मृत शरीर भावविह्वल महादेवले बोकी संसार परिक्रमा गर्दा हलेसीमा आइपुगेपछि दाहिने कुना पतन भई हलेसी महादेव उत्पन्न भएको पनि मानिन्छ ।

 

 

नेपालले अवलम्बन गरी आएको धर्म निरपेक्षताको असली उदाहरणका रूपमा हलेसीलाई स्मरण गर्नुपर्ने हुन्छ । किनकि, धर्म निरपेक्षतामा सबै धर्मले आफ्नोे अस्तित्व जोगाई सबैले सबै धर्मलाई सम्मान गरी समान धार्मिक अधिकारको प्रत्याभूति गर्दछ

 

पहिले हलेसी महादेवको गुफामा पुग्दा बेरिएको लहराको सहारा लिँदै तल खाल्डोमा बसेका महादेवको दर्शन गर्न जानुपथ्र्यो । तर, पञ्चायत कालमा तत्कालीन राजा वीरेन्द्रले सिँढीबाट तल झरी दर्शन गर्ने बनाइदिएका रहेछन् । हलेसी महादेवको दायाँ र बायाँ जन्मद्वार, कर्मद्वार, धर्मद्वार र पापद्वार रहेका छन् । यी द्वारहरूबाट आफ्नोे शरीर छिराउन सक्नेले सबै प्रकारका फल प्राप्त गर्ने विश्वासका कारण प्रायः सबै भक्तजन यसबाट छिर्ने गर्दछन् । राम नवमी, बालाचतुर्दशी, शिवरात्री र तीजमा ठूलो मेला लाग्दछ । अन्य हिन्दू तीर्थस्थलसँग तुलना गर्दा यस धार्मिक स्थलको केही विशेषता रहेका छन् । हलेसी महादेव आफंै उत्पत्ति भएका हुन् । गुफा सबै प्राकृतिक हिसाबले बनेको छ । बसाहा गुफामा महादेवले ढोकामा छाडी गएको बसाहा, सर्प र उनलाई सूचना गर्न राखिएको शंख देख्न मात्र पाइने होइन, भक्तजनहरू सो शंख बजाएर धर्मआर्जन गर्दछन् ।

यही गुफाको माथिल्लो भागमा विष्णु भगवानले छल गरी ब्रिकासुरलाई भस्म बनाएको र स्थलको भित्तामा राक्षसको रगत र गिदी बगिराखेको, महादेवले पार्वतीलाई बोकी त्यहाँबाट भाग्दा पहाडको माथिल्लो भाग तोडी निस्कने स्थान बनाएको, पहाड चढ्दा दुईतर्फ पाइला टेकेको र पहाड जोडले तोड्दा टुक्रा नजिकैको खोलापारि पुगेको, सो टुक्राको आकार पूर्ण रूपमा उक्त पहाडसँग मिल्नेसमेत देखिन्छ । उता महादेव गुफामा पार्वती लुकाएको स्थान, उल्लिखित द्वारहरू, महादेव बसेका माथिल्लो भागमा गाईका दूधका थुनहरू र त्यहाँबाट दूध बगी महादेवको शिरमा खस्ने अवस्थाको दृश्यसमेत देख्न सकिन्छ । त्यसैले, अरू हिन्दूपीठभन्दा यो पवित्रस्थल प्राकृतिक तवरले बनेको र भिन्न प्रकारको छ ।

 

 

हलेसी महादेवको दाया“ र बाया“ जन्मद्वार, कर्मद्वार, धर्मद्वार र पापद्वार रहेका छन् । यी द्वारहरूबाट आफ्नो शरीर छिराउन सक्नेले सबै प्रकारका फल प्राप्त गर्ने विश्वासका कारण प्रायः सबै भक्तजन यसबाट छिर्ने गर्दछन्

 

यो हिन्दू, बौद्ध र किराती तीनवटै धर्मको संगमका रूपमा रहेको छ । भगवान शंकरको पाउबाट निस्किएको जलको मुहान, महादेव रहेको स्थानमा भित्तामा रहेको गाईको थुनको आकारबाट सेतो थोपा बेलाबखत झर्ने कामधेनु गाईको दूध, सो दूधका लागि भक्तहरूको प्रार्थना, दूध प्राप्त भएमा आफूलाई पुण्य मिल्ने आदि कुराहरू सबै एकापसमा जोडिएका छन् । किरात हलेसीलाई आफ्नोे पवित्र धार्मिकस्थल मान्छन् । किराती किम्बदन्तीअनुसार घना जंगलमा किराती सिकारीले एउटा मृगलाई घाइते बनाएपछि मृग यो गुफाभित्र पसेछ । मृग लिन गुफाभित्र पस्दा सिकारीले चम्किलो ज्योति देख्नासाथ अचेत भएछन् । भगवान शंकरले अचेत सिकारीलाई दर्शन दिएपछि उनी ब्युझिई त्यहाँ महादेव बसेको कुरा सबैलाई सुनाएछन् । त्यसपछि त्यो सफा राख्दै र त्यहाँ हत्या नगर्ने भनी किरातीहरू विश्वास राख्छन् । आफ्नोे पवित्र धर्मस्थल गुफामा खोक्ची, लिप्पा, रैछाकुले, हेच्छाकुप्पा आदि किराती जातिहरू आफ्ना पुर्खाहरू यसै गुफामा रहेकोमा विश्वास गर्दछन् ।

ओखलढुंगा, खोटाङ, सोलु, भोजपुर आदि स्थानबाट ठूलो संख्यामा किरातीहरू आई उभौली–उधौली पर्व मनाई आफ्नो पितृहरूको पूजा गर्ने गर्दछन् । हलेसी नामकरण हुनुका पछाडि नेपालको एकीकरण पूर्व किराती राजा होलेसुंगले शासन गरेको र हलेसी चराहरूको क्रीडास्थल भएकाले हो भन्ने विश्वास गरिन्छ । हिन्दूका आराध्यदेव महादेवका नामबाट साबिक महादेवस्थान गाविस भनी यहाँको स्थानीय निकायको नामकरण भएकोमा अहिले स्थानीय तहमा परिणत हुँदा सबै जोडेर तुवाचुंग हलेसी नगरपालिका राखिएको छ । बुद्ध धर्मावलम्बीहरूले यो गुफामा बौद्ध गुरु पद्मसम्भवले लामो समय तपस्या गरी ज्ञान प्राप्त गरेको विश्वास राख्छन् । गुफाभित्र बुद्ध धर्मका भक्तहरू करिब बीस जना पूजापाठ र शान्तिको कामना नियमित रूपमा गरिराखेका हुन्छन् । बाहिरपट्टि आधुनिक बुद्ध गुम्बा तयार भई अखण्ड रूपमा पूजापाठ गरिराखेका हुन्छन् ।
हिन्दूहरू आफ्नो आराध्यदेव देवताका पनि देवता महादेव यही राज भएकाले यो नेपालको पूर्वी क्षेत्रको पशुपति महादेवका रूपमा पूजा–आराधना गर्दछन् । किरातीहरूले आफ्नोे आदिम भूमिका रूपमा आस्थाको केन्द्र बनाइराखेका छन् । बौद्ध धर्मावलम्बीहरू यसलाई दोस्रो लुम्बिनीका रूपमा मान्छन् । यसरी तीनवटै धर्मको धार्मिक सहिष्णुता यस तीर्थस्थलमा पाउन सकिन्छ ।

आजको नेपालले अवलम्बन गरी आएको धर्म निरपेक्षताको असली उदाहरणका रूपमा हलेसीलाई स्मरण गर्नुपर्ने हुन्छ । किनकि, धर्म निरपेक्षतामा सबै धर्मले आफ्नोे अस्तित्व जोगाई सबैले सबै धर्मलाई सम्मान गरी समान धार्मिक अधिकारको प्रत्याभूति गर्दछ । धेरै समय पहिलादेखि हलेसीमा धर्म निरपेक्षता र धार्मिक सहिष्णुताको प्रत्याभूति भएको पाइएको छ ।

 

 

(Visited 84 times, 1 visits today)
Loading comments...