आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

एनजीओको सशक्त अनुगमन आवश्यक

सम्पादकीय
1 month ago
19/02/2019

 

नेपालमा गैरसरकारी संस्था(एनजीओ) हरूले वार्षिक रूपमा २४ अर्बभन्दा बढी रुपैयाँ भिœयाउने गरेको खुलासा भएको छ । सामाजिक विकास र सेवाका लागि भन्दै एनजीओहरूले अर्बौं रुपैयाँ भिœयाइरहेको भए पनि अधिकांश नेपालीले एनजीओको सो रकमको प्रतिफल पाउन सकेका छैनन् । एनजीओले ल्याएको सो रकममध्ये ४ अर्बभन्दा बढी रकम स्वास्थ्य र शिक्षा क्षेत्रमा खर्चिएको तथ्यांकसमेत सार्वजनिक भएको छ । स्वास्थ्य र शिक्षामा एनजीओले खर्चेको सो रकमको पारदर्शिता र विश्वसनीयतामाथि पनि प्रश्नचिह्न खडा हुँदै आएको छ ।

सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनले पनि नेपालमा गैरसरकारी संस्थाले गर्ने कार्यक्रम र खर्च व्यवस्थित हुन नसकेको औंल्याएको छ । कतिपय व्यक्तिले एनजीओलाई कमाइ खाने भाँडोका रूपमा समेत लिएका छन् । एनजीओको अनुगमन गर्ने जिम्मेवारी पाएको समाजकल्याण परिषद् आफैं लामो समयदेखि भ्रष्टाचारमा लिप्त हुँदै आएकाले पनि एनजीओको अनुगमन हुन नसकेको हो । यसैगरी, सरकारका अन्य सरोकारवाला निकाय पनि एनजीओको अनुगमन गर्न असफल हुँदै आइरहेका छन् । जसकारण केही अपवादलाई छोडेर धेरैभन्दा धेरै एनजीओमा विकृतिको चाङ लागिरहेको छ ।
एनजीओले मुलुकको विकास र समृद्धिमा भूमिका खेल्न सक्छन् । यसको आवश्यकतालाई कम आँक्न पनि सकिँदैन । हिजोका दिनमा समावेशी लोकतन्त्रको स्थापना र संस्थागत गर्न एनजीओले खेलेको भूमिकालाई भने स्मरण गर्नैपर्छ । मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृति परिवर्तनका लागि पनि गैरसरकारी संस्था र नागरिक संगठनले महŒवपूर्ण भूमिका खेल्दै आएका छन् । पञ्चायतको निरंकुशता होस् वा राजा ज्ञानेन्द्रको शाही शासन, माओवादी युद्ध समयमा होस् वा संविधानसभा निर्वाचनको सन्दर्भमा नागरिक संगठनले मानवअधिकार, शान्ति, समृद्धि र राष्ट्रियताको आवाज उठाउँदै आइरहेको यथार्थलाई भने भुल्न सकिँदैन ।

एनजीओको भूमिकालाई सकारात्मक दिशामा अग्रसर गराउन पनि अब एनजीओहरूमाथि निरन्तर अनुगमन आवश्यक छ । एनजीओ सञ्चालकहरूले पनि एनजीओलाई कमाउने माध्यम बनाउनुभन्दा पनि विशुद्ध सामाजिक सेवाका रूपमा स्थापित गर्न सक्नुपर्छ । जुन जुन क्षेत्रका लागि बजेट ल्याइएको हो सो क्षेत्रमा इमानदारितापूर्वक प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सक्नुपर्छ । कागजमा प्रगति विवरण देखाएर व्यवहारमा काम नगर्ने भ्रष्ट प्रवृत्ति त्याग्नुपर्छ । एनजीओको वास्तविक मर्मलाई आत्मसात गरेर कार्यक्रम सञ्चालन गर्न सकियो भने धेरै हदसम्म कार्यक्रमहरू मुलुकको दूरदराजसम्म पुग्न सक्छन् र विपन्न नागरिकले त्यसको प्रतिफल पाउँछन् । त्यसैले, एनजीओले पादरर्शी भएर काम गर्न सके भने मुलुकको विकास र समृद्धिमा सहयोगी भूमिका निर्वाह गर्न सक्छन् । सरकारी निकायले पनि एनजीओले लिएको वास्तविक लक्ष्यअनुसार काम गरे÷नगरेको बारे वास्तविक रूपमा नियमित अनुगमन गर्ने प्रणालीको विकास गर्न सक्नुपर्छ ।

(Visited 61 times, 1 visits today)
Loading comments...