शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

सबै एनालग टिभी सेवा बन्द गर्न निर्देशन

मधुजंग पाण्डे
1 month ago
19/02/2019

अटेर गर्नेमाथि कारबाही 

काठमाडौं। सरकारले मुलुकभर पूर्ण रूपमा एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको छ । गत १५ वैशाखभित्रै एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको सरकारले अहिले पुनः यस्तो निर्देशन दिएको हो । यस निर्देशनपछि पनि अटेर गरेको भेटिए त्यस्ता व्यक्तिको उपकरण जफत गरी कानुनी कारबाही गर्ने चेतावनी दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सोमबार सार्वजनिक सूचना जारी गरी मन्त्रालयले यस्तो चेतावनी दिएको हो । मन्त्रालयका अनुसार अब यस निर्देशनपछि पनि अटेर गरी कसैले एनालगर प्रणालीका टेलिभिजन प्रसारण र वितरण गरेको भेटिएमा उपकरणहरू जफत गरी कानुनबमोजिम कारबाही गरिनेछ । टेलिभिजनको डिजिटाइजेसनलाई बाध्यात्मक बनाउन सरकारले एनालग केबल टेलिभिजन बन्द गर्ने नीति लिएको हो । अहिले पनि एनालग टेलिभिजन सेवा सञ्चालनमा रहेको भेटिए जानकारी दिन समेत मन्त्रालयले सम्बन्धित सरोकारवालालाई आग्रह गरेको छ ।

यसैगरी, मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली–२०५२ अनुसार चरणबद्ध रूपमा विभिन्न महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको थियो । पहिलो चरणमा काठमाडौं, विराटनगर, वीरगन्ज, ललितपुर र पोखरा महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गराइएको थियो । दोस्रो चरणमा अन्य महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा बन्द गराएको मन्त्रालयले गत १५ वैशाखमा मुलुकभर नै एनालग टिभी बन्द गर्न निर्देशन दिएको थियो । सबै टेलिभिजन सेवा प्रदायकले अनिवार्य रूपमा डिजिटाइजेसनमा जान अनुमति लिएर अपग्रेड हुनैपर्ने मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए ।

सबै क्षेत्रमा अनुगमन भइरहेको र निर्देशन नमानेको पाइए कारबाही गर्ने उनले चेतावनी दिए । एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको तर्क सरकारको छ । तर, खर्च बढाएको भन्दै अधिकांश उपभोक्ता नै सन्तुष्ट छैनन् । यो व्यवस्थाअनुसार हरेक टेलिभिजनका लागि १५ सयदेखि ४५ सयसम्म मूल्यका छुट्टै सेटप बक्स लगाउनुपर्छ । तर, प्रत्येक सेटप बक्सको सेवा शुल्क फरक÷फरक रूपमा भुक्तानी गर्नुपर्छ । यो सेटप बक्स टिभीमा केबल जोड्नुअघिको प्वाइन्टमा जोडिन्छ । जसका लागि केबल टिभी अपरेटरले भने आफ्नो हेडइन कन्ट्रोल रुममा पनि सबै उपकरण डिजिटलाइज्ड गर्नुपर्छ । यो प्रणालीअनुसार ग्राहकले घरमा जतिवटा टिभी छन्, त्यति नै वटा सेटप बक्स जोड्नुपर्छ । अब हरेक टेलिभिजनमा सेटप बक्स राखेर सेवा लिएबापत अपरेटरलाई छुट्टै शुल्क तिर्नुपर्छ ।

महँगो परे पनि ग्राहकले भने गुणस्तरीय टेलिभिजन सेवा भने पाउने भनाइ सरकारको छ । टेलिभिजन डिजिटलाइज्ड गर्न स्याटलाइट प्रविधिमा आधारित डीटीएच पनि प्रयोग गर्न सकिन्छ । अहिले नेपालमा डिसहोम र नेपाल डिजिटल केबलले यो सेवा दिइरहेका छन् । यस्तै, इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपीटिभी)का माध्यमबाट पनि डिजिटल टेलिभिजन हेर्न सकिनेछ । यो इन्टरनेटमा आधारित टेलिभिजन सेवा हो । डिजिटल टेरेस्टोरियल टेलिभिजन (डीटीटी) प्रविधिमा पनि डिजिटल टेलिभिजन हेर्न सकिन्छ । एन्टेना प्रविधिबाट टिभी हेर्ने डिजिटल रूपको यो सेवाका लागि अनुमति लिए पनि नेपालमा सुरुवात हुन भने अझै केही समय लाग्नेछ ।

इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले निर्धारण गरेबमोजिम एनालग प्रणालीमा सञ्चालित टेलिभिजन सेवा प्रदायकलाई डिजिटल प्रणालीमा बदल्न बाध्यकारी नियम ल्याएको प्रवक्ता तिवारीको भनाइ छ । यसले परम्परागत न्यून गुणस्तरको टेलिभिजन सिग्नलको सट्टा उपभोक्ताले स्तरीय सेवा पाउने दाबी सरकारको छ । राष्ट्रिय प्रसारण नियमावली २०५२ मा संशोधन गरेर तोकिएका क्षेत्रमा एनालग सिग्नल पूर्ण रूपमा प्रतिबन्धित र गैरकानुनी हुने व्यवस्था गरेको छ ।

पूर्ण रूपमा डिजिटाइजेसन सकिएपछि केबल टेलिभिजनको गुणस्तरहीन सेवाबाट आमउपभोक्ताले मुक्ति पाउनेछन् । यसैका माध्यमबाट सरकारको राजस्वमा पनि भारी वृद्धि हुने अपेक्षा छ । अहिले केबल अपरेटरहरूले ग्राहक संख्या न्यून देखाएर भ्याट बिल जारी नगर्ने समस्या छ । भारतीय डीटीएचबाट गैरकानुनी रूपमा सिग्नल लिएर वितरण गर्ने परम्परा तोड्न पनि अबको व्यवस्था प्रभावकारी हुनेछ । अब सबै अपरेटरको सेवाग्राहीको विवरण लुकाउनै नमिल्ने भएकाले केबल टेलिभिजनमार्फत् ग्राहक ठग्ने र राज्यलाई कुनै राजस्व योगदान नगर्नेहरू नियममा बाध्यकारी रूपमा आउने अपेक्षा सरकारको छ ।

हाल मुलुकभर करिब ५० लाख टेलिभिजन सेट सञ्चालनमा रहेको अनुमान छ । तर, त्यसअनुरूप सरकारलाई केबल अपरेटरहरूले राजस्व बुझाएका छैनन् । एनागल बन्द भएर डिजिटाइजेसन भएपछि वास्तविक रूपमा कति टेलिभिजन चलिरहेका छन् भन्ने तथ्यांक पनि सरकारसँग आउनेछ । डिजिटल प्रविधिको टिभीले गुणस्तरीय अडियो र भिडियो सम्प्रेषण गर्छ । यसले मल्टिप्लेक्स सिग्नल दिने भएकाले नै यो स्तरीय मानिने सरकारको दाबी छ ।

 

 

(Visited 154 times, 1 visits today)
Loading comments...