आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

आँप उत्पादन बढाउन अनुसन्धान

रासस
3 months ago
21/02/2019

 

 

भरतपुर । नेपालमा आँपको उत्पादन अनुसन्धान सुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन अनुसन्धान सुरु गरेको हो । अनुसन्धानपश्चात् नेपालमा मौसमी र बेमौसमी आँपको उत्पादन बढाउन ठोस योजना तयार गरिने राष्ट्रिय आँप सिकाइ केन्द्रका संयोजक अर्जुनकुमार श्रेष्ठले बताए । विश्वविद्यालयले पहिलोपटक आँपलाई नै मुख्य केन्द्र बनाएर राष्ट्रिय आँप सिकाइ केन्द्र स्थापना गरेको छ ।

केन्द्रमार्फत विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र प्राध्यापकले विशुद्ध आँपको मात्र अनुसन्धान गर्नेछन् । बर्सेनि आँपको उत्पादन ओरालो लाग्दै गएपछि विश्वविद्यालयले आँपको अनुसन्धानमा जोड दिएको संयोजक श्रेष्ठले बताए ।

रोगकिरा, परम्परागत खेती प्रणालीलगायत समस्याले आँप खेती व्यवसायीकरण हुन नसकेपछि विश्वविद्यालय अनुसन्धानमा जुटेको उनको भनाइ छ । नेपालमा पाइने फलफूलमध्ये सर्वाधिक रुचाइने फलफूलमा आँप पर्दछ । यसको माग पनि बढ्दो छ तर, नेपालमा आँपको उत्पादन भने बर्सेनि घट्दो छ । उत्पादन क्षेत्र बढे पनि उत्पादकत्व घट्दै गएपछि यसको अनुसन्धान सुरु गरेको श्रेष्ठले बताए ।

नेपालमा पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार आँपको उत्पादन क्षेत्र बढेर ३८ हजार ३५३ हेक्टर पुगेको छ तर उत्पादकत्व भने घटेर प्रतिहेक्टर ७ दशमलव शून्य ५ मेट्रिक टन मात्रै छ । उत्पादकत्व घट्दै गएपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी अनुसन्धानकर्तासँग सहकार्य सुरु गरेको छ । विश्वविद्यालयले आफ्नो जीवन नै आँपको अनुसन्धानमा समर्पित गरेका थाइल्यान्डको क्यासेसर्ट विश्वविद्यालयका अनुसन्धानकर्ता बोलाएर प्राध्यापक, विद्यार्थी, किसानलाई प्रशिक्षण दिए ।

थाइल्यान्डको क्यासेसर्ट विश्वविद्यालयका अनुसन्धानकर्ता डा. राभी, डा. जेट, डा. लोपले प्रशिक्षण दिइरहेका छन् । सोमबारदेखि सुरु प्रशिक्षण बिहीबारसम्म चल्नेछ । प्रशिक्षणमा रामपुर क्याम्पसका प्रध्यापक, विद्यार्थी, नार्कका वैज्ञानिक र कृषि मन्त्रालयअन्तर्गतका कर्मचारी सहभागी छन् । अन्तर्राष्ट्रिय स्तरको यस्ता कार्यशालाले नेपालमा आँपखेतीमा देखिएका समस्याको समाधान र नियन्त्रणबारे व्यावहारिक ज्ञान प्रदान गर्ने आइफा परियोजनाका कन्ट्री डाइरेक्टर अमर थिङले बताए । नेपालमा पहिलोपटक आयोजना गरिएको सो कार्यक्रमले आँप उत्पादनको क्षेत्रमा कायापलट गर्न सहयोग पु¥याउने उनको भनाइ छ ।

नेपालमा हाल ६३ जिल्लामा आँप खेती गरिन्छ तर नेपालमा एउटै बोटबाट बर्सेनि उत्पादन गर्न सक्ने अवस्था छैन । नेपालको आँपमा एक वर्ष बिराएर फल लाग्ने भएका कारण उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । सूक्ष्म अनुसन्धान र नयाँनयाँ प्रविधि भिœयाउन सकिए नेपालमा आँप खेतीको राम्रो सम्भावना रहेको थाइल्यान्डका आँप अनुसन्धानकर्ताको भनाइ छ ।

 

(Visited 17 times, 1 visits today)
Loading comments...