आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

सुदूरपश्चिम प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन

राजधानी समाचारदाता
3 months ago
21/02/2019

 

धनगढी। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सुदूरपश्चिम प्रदेशसभा बैठकमा सम्बोधन गरेका छन् । बुधबार बिहान ९ बजे सम्बोधन सुरु गरेका प्रधानमन्त्री ओलीले दिउँसो साढे ११ बजेसम्म झन्डै अढाइ घण्टा सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तदेखि लिएर केही दिनदेखि चर्चामा रहेको पशुपति शर्माको ‘लुटन सके लुट कान्छा’ बोलको गीतसम्मको प्रसंग उल्लेख गरेका थिए ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपाल ऋषिमुनीको देश हो, यस्तो देशमा बलात्कार हुनु दुर्भाग्य हो, यस घटनाले नेपालकै अपमान भएको छ, यो अत्यन्त दुखद कुरा हो ।’ यस घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अनुमानका भरमा कसैलाई दोषी भन्न मिल्दैन, दोषी पत्ता लगाउने प्रयास जारी छ, पत्ता लगाएरै छाड्छौं ।’

त्यस्तै, अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले गायक पशुपति शर्माले गाएको गीतलाई सरकारले प्रतिबन्ध नलगाएको पनि खुलासा गरे । ‘एक केटोले लुट भन्ने गीत गाएछ, यसलाई सरकारले किन प्रतिबन्ध लगाउने हामीले यसका बारेमा केही बोलेका छैनौं,’ केही दिनदेखि चर्चामा रहेको लुटन सके लुट कान्छा गीतबारे प्रधानमन्त्रीले भने, ‘उसलाई लाग्यो रचना ग¥यो, हामीले राम्रा काम गर्ने हो यसमा के आपत्ति ।’

त्यस्तै, उनले वर्तमान सरकारको एक वर्ष संविधान कार्यान्वयनका लागि कानुन निर्माणमा बितेको बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘कानुन निर्माणसँगै विकास निर्माणलगायतका थुप्रै काम भएका छन् तर बढी समय कानुन निर्माणमै खर्च भयो ।’ उनले यो वर्ष आधार वर्ष भएको उल्लेख गर्दै अहिले निर्माण गरेको आधार आगामी ६÷७ वर्षसम्म काम लाग्ने बताए । प्रधानमन्त्री ओलीले भ्रष्टाचार गरेको भेटाएमा कसैलाई पनि नछोड्ने बताए । उनले भने, ‘कसैले पनि भ्रष्टाचार गर्छु, अनुचित रूपमा पैसा कमाउँछु भन्ने लागेको छ भने कल्पना नगर्नुहोस्, यसलाई म सहन्नँ ।’

 

 

निर्मला हत्याकाण्डदेखि पशुपति शर्मासम्मको प्रसंग

 

२००७ सालपछिको वर्तमान सरकार बहुमतसहितको स्थिर सरकार रहेको बताउँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकार संख्यामा मात्र स्थिर नभई नीति, लक्ष्यलगायत सबै हिसाबले स्थिर रहेको उल्लेख गरे । प्रधानमन्त्रीले वर्तमान सरकारका पाँच प्राथमिकता राष्ट्रियता, लोकतन्त्र, समृद्ध नेपाल, स्थायित्व–स्थिरता–शुसासन र विकास रहेको उल्लेख गरे । यी पाँच प्राथमिकतालाई आत्मसात गरी अघि बढ्न प्रदेश सरकारलाई समेत आग्रह गरे ।

सुदूरपश्चिम प्रदेशमा छाउपडी, बोक्सीजस्ता कुप्रथा कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यस प्रदेशमा सामाजिक जागरणका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ, त्यसमा प्रदेश सरकार अघि बढोस् ।’ सधैं प्रतिपक्षप्रति आक्रामक देखिने प्रधानमन्त्री ओलीले यसपटकको सम्बोधनमा प्रतिपक्षको नाम पनि उच्चारण गरेनन् ।

 

(Visited 44 times, 1 visits today)
Loading comments...