आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

देउवा–पौडेल खटपट, गुटगत किचलोले बैठक नै अन्योलमा

महेश्वर गौतम
3 months ago
22/02/2019

काठमाडौं।  नेपाली कांग्रेसको विधानसहित मूल दस्तावेजलाई परिमार्जनसहित अन्तिम रूप दिन भन्दै डाकिएको केन्द्रीय समिति बैठक गुटगत किचलोका कारण अन्योलमा परेको छ । विधानलाई परिमार्जन गर्नुपर्ने मूल मुद्दामै नेताहरूबीच सहमति नहुँदा १० माघबाट बैठक बस्दै रोकिँदै आएको छ । गत ८ पुसमा सम्पन्न महासमिति बैठकले विधानलाई केन्द्रीय समितिले अन्तिम रूप दिने गरी पारित गरेको थियो । तर, हाल भने विधानकै किचलोका कारण बैठक निष्कर्षमा पुग्न नसकेको हो ।
विधानमा हाल केन्द्रीय सदस्यहरू महाधिवेशन प्रतिनिधि बन्न तलैबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था राख्ने कि पुरानैअनुसार स्वतः हुने व्यवस्थालाई नै कायम राखेर अघि बढ्ने भन्नेमा चर्काे विवाद छ । कांग्रेसभित्र यही विषयलाई लिएर फेरि गुटगत कित्ताकाँट देखिएको हो ।

जारी बैठकमा सभापति शेरबहादुर देउवा पुरानै व्यवस्थाको पक्षमा देखिएका छन्् भने वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला तलैबाट प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने पक्षमा देखिएका छन्् । सोही विषयमा छलफलका लागि भन्दै बोलाइएको बैठक बिहीबार बस्दै नबसी स्थगित भएको हो ।

विधानकै अर्को मुद्दा समावेशी तथा आरक्षण कोटामा एकपटक भन्दा बढी उम्मेदवार बन्न नपाइने कि पाइने भन्नेमा समेत नेताहरूबीच विवाद छ । यसमा समेत देउवा पुरानै व्यवस्थाको पक्षमा तथा पौडेल र सिटौला एकपटक मात्रै उम्मेदवार बन्न पाउने गरी व्यवस्था हुनुपर्ने पक्षमा छन् । महासमिति बैठकमा जिल्ला सभापतिहरूले केन्द्रीय सदस्य पनि क्षेत्रीय प्रतिनिधि र पार्टीका हरेक निकायमा एकपटक भन्दा बढी अवसर नदिन माग गरेका थिए । सभापति देउवा र वरिष्ठ नेता पौडेल दुवैले सो विषयमा सहमत हुँदै सभापतिहरूका मागलाई केन्द्रीय समिति बैठकद्वारा पूरा गराउने बताएका थिए । सोही विषयलाई लिएर बिहीबार दिउँसो १ बजेबाट सहमतिको प्रयास भए पनि शीर्ष नेताबीच सहमति जुट्न नसकेपछि पौडेल समूह बैठकअघि नै केन्द्रीय कार्यालयबाट बाहिरिएको थियो भने साँझ स्थगित गरिएको थियो ।

बैठक आइतबार दिनको ११ बजे बस्ने गरी स्थगित भएको र असहमति देखिएका विषयलाई मिलाएरै सहमतिबाटै विधानलाई पूर्णता दिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले विधानलाई सर्वसम्मत सहमतिबाटै पारित गर्न समय लिइएको र १२ गते बस्ने बैठकबाट यो विषय टुंगो लाग्ने बताए ।
तर, पछिल्लो समय सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच फेरि खटपट सुरु भएपछि विधानका मूल मुद्दामा सहमति हुने सम्भावनासमेत घट्दै गएको छ । हाल नेपाल विद्यार्थी संघको विषयसमेत कांग्रेसका लागि सहमतिको अर्को अड्को बनेको छ । खासगरी नेविसंघको विधानअनुसार ३२ वर्षको उम्मेरहदलाई पालना गर्ने वा नगर्ने भन्नेमा समेत नेताहरू दुई कित्तामा उभिएका छन् ।

वरिष्ठ नेता पौडेलले बुधबार एक कार्यक्रममा आफूहरूबीच महासमितिले पारित गरेको विधानका मुद्दामा असहमति रहेको र सभापतिको अडानका कारण केन्द्रीय समिति लम्बिएको भन्दै सभापतिप्रति आक्रोश पोखेका थिए । उनले सभापति देउवाले महासमिति समापनका क्रममा सदस्य तथा जिल्ला सभापतिहरूसँग सहमति गरेको विषय केन्द्रीय सदस्य पनि बुथबाटै महाधिवेशन प्रतिनिधिका लागि चयन भएर आउनुपर्ने र समावेशी तथा समानुपातिक प्रतिनिधित्वका विषयमा पहिले गरिएको सहमतिलाई नमान्दा केन्द्रीय समितिमा किचलो देखिएको बताएका थिए ।
‘हिजो महासमितिबाट भोलि गर्छु भनेर सहमति गर्ने अनि कबुलमा नअडिने ? कबुलमा नअडिने भए केन्द्रीय समितिमा बहुमत छ, निर्णय गर्दा हुन्छ,’ पौडेलले भन्दै आएका छन् ।

यसैबीच बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा धर्नामा रहेका नेविसंघका नेताकार्यकर्तामाथि नेताहरूले दुव्र्यवहार गरेको विद्यार्थी नेताहरूले आरोप लगाएका छन् । कांग्रेस पार्टी कार्यालयमा धर्ना बसेका नेविसंघका कार्यकर्ता र पार्टीका नेताबीच झडप भएको थियो । नेविसंघको विधानमा रहेको ३२ वर्ष उमेर हद कार्यान्वयन गर्न तथा विधान संशोधन गर्दै देशभरको स्ववियु सभापति इकाइ अध्यक्षलाई केन्द्रीय प्रतिनिधि हुने प्रावधान राख्न माग गर्दै धर्ना बसेका नेविसंघका कार्यकर्तालाई उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री डा. प्रकाशशरण महतले दुव्र्यवहार गरेको नेता निरञ्जन थापाले जानकारी दिए ।
उनले विधि विधानको कार्यान्वयन माग गर्दा बढी भए कारबाही गरेर देखाइदिने धम्की दिँदै दुव्र्यवहार गरेको जनाए । तर, उपसभापति निधिले भने विद्यार्थीमाथि कुनै दुव्र्यहार नभएको र विधिको पालना गर्नेमा ढुक्क हुन आफूले आग्रह गरेको जानकारी दिए । नेविसंघका अध्यक्ष नैनसिंह महरले दुईवर्षे कार्यकाल र त्यसपछि थपिएको ५ महिने कार्यकालमा समेत अधिवेशन गराउन नसकेपछि केही दिनअघि राजीनामा दिएका थिए । महरको राजीनामासँगै नेविसंघमा तदर्थ समिति आउने निश्चित छ । नेविसंघमा ३२ वर्षे उमेर हद लागू हुने भनी पार्टी केन्द्रीय समितिले निर्णय गरे पनि तदर्थ समिति ३२ माथिको आउन सक्ने चर्चासँगै नेविसंघमा तीव्र ध्रुवीकरण बढेको छ । केही दिनदेखि ३२ वर्षमुनिको तदर्थ समिति ल्याउनुपर्ने मागसहित नेविसंघका नेताकार्यकर्ताले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका छन् ।
विधानअनुरूप पार्टी चल्नुपर्ने माग राख्दै आएका विद्यार्थीमाथि नेताहरू नै जाइलाग्नु निन्दनीय भएको र विधानअनुसार पार्टी नचलेसम्म धर्ना जारी रहने निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

(Visited 52 times, 1 visits today)
Loading comments...