आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

एकल साँझमा गुन्जिए गायक प्यासी

राजधानी समाचारदाता
3 months ago
22/02/2019

 

काठमाडौं । ६ वर्षयताबाट अमेरिका बस्दै आएका सुगम संगीत गायक नरेन्द्र प्यासी बिहीबार साँझ जब ‘के भुल भयो प्रिया मसँग बोल्दिनौ…’ भन्दै मञ्चमा उत्रिए । त्यतिबेला दर्शक निकै खुसी भए ।

केही दिनअघि नेपाल आएका प्यासी बिहीबार काठमाडौंमा एकल साँझ लिएर काठमाडौंका दर्शकमाझ आए । सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले आयोजना गरेको ‘नरेन्द्र प्यासी एकल सांगीतिक साँझ–२०७५’ मा उनले आफ्ना दर्जनभन्दा बढी कालजायी गीतका सुनाएर दर्शकको मन जिते । एकल साँझमा प्यासीले आफ्ना १४ वटा गीत प्रस्तुत गरे ।

कार्यक्रममा उनले निरन्तर आफ्ना लोकप्रिय गीत सुनाउँदा दर्शकले तालीले साथ दिइरहे । गायनको क्रममा उनले के भुल भयो प्रिया…पछि दोस्रो गीत तिमीले दिने माया…गाए । यो युगल गीतमा उनलाई गायिका शिला विष्टले साथ दिइन् । शिलाले उनलाई अर्को गीतमा पनि सघाइन् । गायनका क्रममा आफ्ना गीतको चर्चा गर्दै प्यासीले तिमीबिनाको जीवन…, तिम्रो दिलमा चोट लाग्दा…, म त तिम्रो मान्छे बन्न सकिनँ… जस्ता चर्चित गीत सुनाए । उनले एउटा परदेशी आयो…, मनलाई…, माया ओ माया…, जाम क्यारे उडेर…, मेहफिलमा आज…, नजर पापी…, चन्द्रमाले…, फुलको दिलमा पनि…, काठमाडौं छुट्यो हेर्दा हेर्दै…जस्ता गीत गाएर दर्शकको मन जिते ।

अन्तिम गीत सुनाएपछि गायक प्यासीले यो एकल साँझ आफूले सोचेको भन्दै निकै सफल भएको बताए । गायक प्यासीको बारेमा सांस्कृतिक संस्थानका वरिष्ठ नाटक प्रबन्धक प्रभाकरदेव शर्माले कार्यक्रममा प्रकाश पारेका थिए ।

‘नरेन्द्र प्यासी एकल सांगीतिक साँझ–२०७५’मा गायक प्यासीलाई प्रत्यक्ष वाद्यवादनमा दिनेशराज रेग्मी, दीपक थापा, सुरज प्रधान, अनुपदास, कुमार महाराज, भरत बुढाथोकी, सुधिर चौधरी, रविन कार्की, रूपेश सिंह, रत्न विक र भुवन गन्धर्वले साथ दिएका थिए । आफ्ना प्रथम संगीत गुरु अम्बर गुरुङसहित अग्रज कलाकारप्रति साँझलाई समर्पण गर्दै गायक प्यासीले एकल साँझ सुरु गरेका हुन् ।

अग्रज गीतकार एवं चलचित्र निर्देशक यादव खरेलको आतिथ्यमा एकल साँझ सुरु भएको हो । गायनमा छुट्टै परिचय बनाएका प्यासीका गीत उत्कृष्ट रहेको खरेलले बताए ।

सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले आयोजना गरेको सो कार्यक्रममा संस्थानका तर्फबाट गायक प्यासीलाई सम्मानित गरिएको थियो । नेपाली गायन क्षेत्रमा विगत चार दशकभन्दा लामो समयदेखि सुगम संगीतबाट योगदान पु¥याएको भन्दै एकल साँझको आयोजनासहित प्यासीलाई सम्मानित गरिएको संस्थानका महाप्रबन्धक राजेश थापाले बताए । यस्तै, संस्थानका अध्यक्ष उद्योग राईले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका उद्देश्यबारे प्रकाश पारे ।

काठमाडौंको खिचापोखरीमा २०२२ सालमा बुबा प्रतिमान भुसाल र आमा पद्मकुमारी भुसालका कोखबाट जन्मिएका प्यासीले अम्बर गुरुङसँग संगीत सिकेर गायन यात्रा सुरु गरेका हुन् । गायक प्यासीले २०३० सालमा झलकमान गन्धर्भ र बुबा स्व. प्रतिमान भुसालको संगीतमा पहिलो गीत बिनाबादल असिना पानी, फेरी माया लाउलीकी बैमानी…गीत रेकर्ड गराएका थिए ।

उनले हालसम्म करिब ४ सय गीत रेकर्ड गराइसकेका छन् । उनका गीतमा राष्ट्रिय भावका गीत, भजन, आधुनिक, नेपाली हिन्द (गजल), लोक र नेपाली चलचित्रका गीत छन् ।

 

(Visited 35 times, 1 visits today)
Loading comments...